• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा पक्राउ परेका विप्लव नेकपाका विद्यार्थीलाई भेट्न गएका अर्का विद्यार्थी पनि पक्राउ


फागुन २८, सल्यान ।

सल्यानमा पक्राउ परेका नेकपा निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठन सल्यानका पुर्व सचिव मदन केसीलाई भेट्न गएका अर्का विद्यार्थी नेता पक्राउ परेका छन् ।

फागुन २३ गते श्रीनगरबाट पक्राउ परेका केसीलाई भेट्न सोमबार जिल्ला प्रहरी कार्यालय सल्यान पुगेका सो संगठनका वर्तमान सचिव गनेश आर.सि.लाई प्रहरीले पक्राउ गरेको हो । दुवैजनाले फागुन २३ गते नेकपाले आह्वान गरेको नेपाल बन्दको दिन श्रीनगर क्षेत्रमा सडकमा सवारी साधन बन्द गराउदै हिडेकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी विरेन्द्र बहादुर शाहीले लेकाली अनलाइनलाई बताए ।

उनले भने– “उहाँहरु सवारी साधन बन्द गराउदै हिडेको भेटिएपछि हामीले पक्राउ गरेका हौँ ।” दुवैजनालाई सवारी साधन बन्द गराउदै हिडेको अभियोगमा सार्वजनिक मुद्दा चलाइने डिएसपी शाहीले बताए ।

यता अखिल क्रान्तिकारी सल्यानका अध्यक्ष टंक प्रकाश केसीले पक्राउ गरिएको प्रति कडा आपत्ती जनाएका छन् । उनले एक प्रेस विज्ञप्ती जारी गर्दै कायरता पुर्ण र अमानवीय शैलीमा बिनाकारण गिरफ्तार गरिएको भन्दै विनासर्त रिहाइको माग गरेका छन ।

वैज्ञानिक समाजवादी शिक्षाका पक्षमा बोल्ने अभियानताहरु रोड बाटै गिरफ्तार गरिनु लज्जास्पद कुरा र राज्यले निरङकुश, फाँसिष्ट चरित्र प्रर्दशन गरिरहेको उनले विज्ञप्तीमा उल्लेख गरेका छन् । पक्राउ गरेकाहरुलाई तत्काल रिहाइ नगरे अनिश्चितकालीन आम शैक्षिक हडतालको घोषणा गर्ने उनले चेतावनी दिएका छन् ।

यस्तो छ विज्ञप्तीकाे पुर्ण अंश

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)
जिल्ला समिती सल्यान 

प्रेस विज्ञप्ती

हाम्रो महान तथा गौरवशाली संगठन अखिल (क्रान्तिकारी )शैक्षिक दलालीकरण,भ्रष्टिकरणका र व्यापारिकरण का विरुद्ध निरन्तर सडक आन्दोलन मा छ ।दलाल पुजीवादी राज्य सत्तामा भएका तमाम शैक्षिक असमानता का विरुद्ध निरन्तर खबरदारी गर्दै आम जनताको समान शीक्षा प्रणाली र विद्यार्थी भविष्य को निर्क्यौल दिन सक्ने शिक्षा प्रणाली बैज्ञानिक समाजवादी शिक्षा का पक्षमा लड्दै त्याग, बलिदान, समर्पण को ओझपुर्ण गौरवताका चरण पार गर्दै यहाँ सम्म आइपुगेको छ ।

हिजो के.पि .प्रचण्डको दलाल पुजीवादी फाँसीवादि गठजोडद्वारा गिरफ्तार गरिएका पुर्व विद्यार्थी नेता मदन के सि लाई भेट्न गएको अवस्था हाम्रो संगठन का जिल्ला सचिव क.गणेश आ .सि को कायरता पुर्ण र अमानवीय शैलीमा बिनाकारण गिरफ्तार गरिएको र संगठन का एकाइ अध्यक्ष (शिवजन आइ ,एस ,इ)बिनोद रोका लाई केही घण्टा अनुसन्धान पछि छोडिएको घटना प्रति हाम्रो संगठन भोर आपत्ती प्रकट गर्दछ।

दुई तिहाइ कम्युनिस्ट सरकार भएको मुलुकमा एउटा वैज्ञानिक समाजवादी शिक्षाका पक्षमा बोल्ने अभियानताहरु रोड बाटै गिरफ्तार गरिनु लज्जास्पद कुरा र राज्य ले निरङकुश ,फाँसिष्ट चरित्र प्रर्दशन गरिरहेको कुरा आम जनसमुदाय ले बुझ्नु जरुरी छ । सम्बन्धित प्रशासन तथा अन्य पक्षमा पनि यस्ता निरङ्कुश कदम रोक्न हामी अपिल गर्ने चाहान्छौ ।

क्रान्तिकारी विद्यार्थी ,अभिभावक ,आम शिक्षा प्रेमि र आम जनसमुदाय मा यस्ता अन्याय पुर्ण हर्कत का विरुद्ध सशक्त रुपमा आवाज बुलन्द गर्ने अपिल गर्ने चाहान्छौ ।साथै हाम्रा विद्यार्थी नेता तुरुन्त रिहाइ गर्ने जोडदार माग गर्दछौं ।अन्यथा आन्दोलन को आँधिहुरि सिर्जना गरिने ,आम अनिश्चितकालीन शैक्षिक हडताल घोषणा गरिने कुरा यसै विज्ञप्ति मार्फत अवगत गराउछौ ।..

अध्यक्ष 
टंक प्रकाश केसी

 

प्रकाशित मिति : २०७५ फाल्गुन २८ गते मङ्गलवार