• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

नेपाल बन्द : ठाउँठाउँमा बम फेला र गाडी आगजनी, यस्तो छ अहिलेसम्मको अबस्था ?


फागुन ३०, काठमाण्डौँ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दका कारण देशभरको जनजिवन प्रभावित भएको छ ।

बन्दका कारण लामो तथा छोटो दुरीका यातायातको साधनहरु न्यून मात्रामा पनि चलेको छैनन् । बिहानैदेखि उद्योग, कलकारखाना शैक्षीक संस्था (क्याम्पस)हरु बन्द छन् ।

सरकारले नेकपाविरुद्ध सर्च अभियान सञ्चालन गरेको, कपिलवस्तुमा प्रहरीले गोली चलाई एकजना सर्वसाधारणलाई घाइते बनाएको, रोल्पा, कालीकोट, चितवन लगायत जिल्लाहरूमा अप्रेसन सञ्चालन गरी चरम दमन चलाएको भन्दै नेकपाले नेपाल बन्दको आयोजना गरेका हो । पार्टी महासचिव विप्लवले फागुन २४ गते विज्ञप्ति निकालेर नेपाल बन्दको आह्वान गरेका थिए ।

यसैबिच नेपाल बन्दको दिन ठाउँठाउँमा गाडी तोडफोड भएका खबरहरु आएका छन् । कैलालीमा यात्रुवहाक वसमाथि आगजनी गरिएको छ । पूर्वबाट पश्चिमतर्फ गैरहेको म १ ख ४४१ नम्बरको बसमा बडैपुरम भन्ने ठाउँमा आगजनी भएको प्रहरीले जनाएको छ । प्रहरीले सुरक्षामा गाडी सञ्चालन गरिरहेकोमा विवाहको गाडीलाई केही नहुने भन्दै छोडिएपछि आगजनी भएको बुझिएको छ । गाडीमा सवार यात्रुलाई ओरालेर आगजनी गरिएको ईलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ । आगजनीबाट बस पूर्ण रुपमा क्षति भएको छ ।

बन्दको पुर्वसन्ध्यामै मकवानपुरको थाहा नगरपालिका–४, नयाँगाउँमा एक ट्रकमाथि आगजनी भएको छ । अज्ञात समूहले काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना ५ ख ७४११ नम्बरको हेभी इक्वीपमेन्ट बोक्ने ट्रेलर गाडीमा आगजनी गरेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

त्यस्तै काठमाडौंको अनामनगरमा शंकास्पद वस्तु भेटिएको छ । कालो झोलामा राखिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको हो ।  रुपन्देहीको बुटवलस्थित राजमार्ग चौराह नजिकै फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ । बुटवल–भैरहवा सडकखण्डको बुटवल उपमाहानगरपालिका वडा नं ११ स्थित कालिकाचोकमा रहेको ट्राफिक बेरिकेडमाथि भेटिएको शंकास्पद वस्तु सेनाले डिस्पोज गरेको हो ।

पूर्वपश्चिम राजमार्गको हेटौंडा औद्योगिक क्षेत्रनजिकै शंकास्पद वस्तु फेला परेको छ । निलो प्लाष्टिकमा बेरेको अवस्थामा शांकाष्पद वस्तु भेटिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुण कुशुवाहले जानकारी दिए ।

पोखराको सभागृह चोकमा बिहीबार बिहानै शंकास्पद वस्तु फेला परेको छ । चोकमा भेटिएको शंकास्पद वस्तु बम भएको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको छ ।

नेपाली सेनाले अहिले सवारी आवागमन रोकेर उक्त शंकास्पद वस्तुबारे अनुसन्धान गरिरहेको कास्की प्रहरीले जनाएको छ । शंकास्पद वस्तु भेटिएपछि पोखराको सभागृह चोक वरपर त्रास फैलिएको छ ।

त्यसैगरी प्यूठानको स्वर्गद्धारी नगरपालीका कार्यालय अगाडी शकांस्पद बस्तु फेला परेको छ । स्वर्गद्धारी नगरपालीका ४ मा रहेको नगरपालीका कार्यालय अगाडी नै शकांस्पद बस्तु फेला परेको स्थानीयले जानकारि दिएका छन् । सानो क्यानमा प्वाल पारेर तार जोडिएको बस्तु नगरपालीका कार्यालय अगाडी फेला परेको थियो ।

उता गोरखा नगरपालिका–६ भिआइपी टोलमा भेटिएको प्रेसर कुकर बम सेनाले निस्कृय पारेको गोरखा प्रहरीले जनाएको छ । कास्की लेखनाथ नगरपालिकाकाे भण्डारढिकमा सकेट बम भेटिएकाे छ । उक्त बमलाइ सेनाको बम डिस्पोजल टोलीद्वारा डिस्पोज गरेकाे प्रहरीले जनाएकाे छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ५ विपि चोक नजिकै एक कपडा पसल बाहिर राखेको संकास्पद बस्तु फेला परेको छ । ईलाका प्रहरी कार्यालय प्रमुख प्रेम शाही को टोली संकास्पद बस्तु भएको स्थानमा पुगेको छ ।

रुकुम पूर्वको जिल्ला अदालत अगाडि शंकास्पद वस्तु फेला परेको छ । अदालतको २०० मिटर अगाडि पोलिथिनमा पोको पारेको अवस्थामा उक्त शंकास्पद वस्तु फेला परेको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए । उक्त वस्तु बम भएको स्थानीयले आशंका गरेका छन् । तर यसको पुष्टि भइनसकेको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

बाजुरा जिल्लाको २ स्थानमा शंकास्पद वस्तु फेला परेको छ। साफे मार्तडी सडकखण्ड अन्तरगत बुढीगंगा नगरपालिका १० मा पर्ने डाब बजारमा र बल्देमा शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ। बन्दमा त्रास देखाउनका लागि उक्त वस्तु सडकमा राखेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक उद्धप सिंह भाटले बताए।

देशभरी सार्वजनिक तथा निजि सवारी साधान फाट्टफुट्ट मात्रै देखिएका छन् । सडकमा सुरक्षाकर्मी, दूध, तरकारी, पेट्रोलियम पदार्थ, एम्बुलेन्स चलेका छन् ।

प्रकाशित मिति : २०७५ फाल्गुन ३० गते बिहिवार