• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

सल्यानमा बालविवाह गर्न लाग्दा ३ जना पक्राउ, अब यस्तो हुन्छ सजाय ?


चैत १, सल्यान ।

सल्यानमा बालविवाह गर्ने र गराउन खाजेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

बालविवाह हुन लागेको सूचनाका आधारमा खैरावाङ मन्दिर परिसरबाट जिल्ला प्रहरी कार्यालय सल्यानले तीन जनालाई पक्राउ गरेको हो । शारदा नगरपालिका २ मेलघारीका बेहुला २० वर्षीय खुमबहादुर वली, १५ वर्षीया बेहुली (नाम गोप्य) र बेहुलाकी आमा ३८ वर्षिया दुजी वलीलाई पक्राउ गरिएको जल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

मन्दिरमा विवाहका लागि मण्डपमा बस्दै गर्दा उनीलाई बिहीबार पक्राउ गरिएको हो । बालविवाह हुन लागेको सूचनाको आधारमा मन्दिरमा पुगेर प्रहरीले वालविवाहमा संलग्न रहेको आरोपमा दुलाहा, दुलही र दुलाहाकी आमालाई पक्रेको जनाएको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

पक्राउ परेकालाइ यस्ताे छ सजाय

उनीहरूलाई बाल विवाह उद्योगको आरोपमा देवानी तथा फौजदारी संहिता, २०७४ अनुसार कारबाही गरिने जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी बिरेन्द्र बहादुर शाहीले बताएका छन् ।

कानुन अनुसार बालविवाह गर्ने र गराउनेलाई ३ वर्ष कैद र ३० हजार जरिवाना तोकिएको छ । बालविवाह उद्योग गर्नेलाई १ वर्ष कैद र १५ हजार जरिवाना हुने उल्लेख छ । यो घटना १ बर्ष कैद र १५ हजार जरिवानामा पर्दछ ।

प्रहरी निरीक्षक गिरिराज भण्डारीले विगतमा बालविवाह गर्दै आएकालाई अभिभावकको जिम्मामा छाडिने गरेको पनि अबदेखि कारबाही गरिने जनाए । उनका अनुसार बालविवाह गर्नेमाथि कारबाही भएको यो सल्यानमा पहिलो घटना हो । कर्णाली प्रदेश सरकारको एक प्रतिवेदन अनुसार सल्यान जिल्ला कर्णाली प्रदेशमै सबैभन्दा बढी बालविवाह हुने जिल्लामा पर्छ ।

पुजारी र जन्तीलाई पनि अनुसन्धान

यो बिवाहमा संलग्न जन्ती र पुजारीलाई पनि प्रहरीले केही समय नियन्त्रणमा लिई छाडिएको छ । विवाहको टोली बोकेको गाडीसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले पुजारीलाई सोधपुछका लागि मन्दिरका समेत कार्यालयमा ल्याएको थियो ।

पुजारी दिनबन्धु शर्माले बालिकाले २१ वर्ष पूरा भएको बताएपछि विवाह गराउन आफू तयार भएको बताएका छन् । वडा २ का अध्यक्ष केशवसिंह श्रेष्ठले आफूले नै मन्दिरका पुजारी र प्रहरीलाई खबर गरी बालविवाह रोक्न लगाएको बताए ।

प्रकाशित मिति : २०७५ चैत्र १ गते शुक्रवार