• २०७८ कार्तिक ९ गते मङ्गलवार
  • Preeti To Unicode

बूढो आँगन


  • दिपा धिताल

आमाको रगत, बाबाको पसिना, गुरुको आर्शीवाद, अनि आफ्नै सङ्घर्षले आर्जेको शैक्षिक योग्यताको प्रमाणपत्र बोकेर रोजगारीको आशामा भौँतारी रहेको म बेरोगार युवा ।

प्रमाणपत्र बोकेर कार्यलयको ढोका ढकढक्याएको पनि वर्षौँ भैसक्यो ।
आशैआशमा आधा जिन्दगी नै गैसक्यो ।

अझै पनि आमा, पल्लो घरे बज्यैलाई भन्न चाहन्छिन्— “मेरी छोरी सरकारी जागिर खान्छे ।”
बाबा गाउँमा छाती फुलाएर हिँड्न चाहन्छन् ।
गुरु गर्व गर्दै ‘सयावास्’ भन्न चाहन्छन् ।

तर विडम्बना !

प्रमाणपत्र बाकसमा कोचेर म सँगै पढेको रामे पहिले नै परदेश गएर अहिले सहरमा ठूुलो घर बनारहेको छ ।
उसकै प्रगति देखेर उतै भासिएको स्यामेको जिन्दगी नै लिलाम भैसकेको छ ।
म जस्तै आफ्नै देशमा केही गर्छु भनेर लागेको धने डिप्रेसनको ओखतीसँग मितेरी गाँस्दै छ ।

सुन्तली र सन्ते नेताको गोठालो बनेर दुईचार पैसामा इमान बेचिरहेका छन् ।
स्याने र स्यानी भने पत्रकार बनेर शिर ठाडो पारेर त हिँडिरहेका छ्न ।

तर विडम्बना !

कहिलेकाहीँ पेटमा आँटो पनि पस्दैन ।
उता आर्थिक अभावकै कारण शेरेले आत्महत्या ग¥यो ।
हरि बाआमालाई छोडेर सहर पसेको  पसेको पसै भयो, सायद उसले फिर्ने बाटो नै बिर्सियो ।
गाउँमा बूढा बाआमा बेसहारा बनेका छन् ।

कोही भाषा सिकेर कोरिया गए, कोही डिभी भरेर अमेरिका उँडे, कोही अष्ट्रेलिया छिरे त कोही क्यानाडा छिरे ।
सरकार दिनहुँ रोजगारीको आस्वासन बाँड्छ, स्वरोजगारको जाल बिछ्याउँछ ।
तर समस्या जस्ताको त्यस्तै छ ।

तिमी पनि वर्षौँ पहिले त्यही बेरोजगार बनाउने प्रमाणपत्र जम्मा गर्न बूढा बाआमालाई छोडेर सहर पसेका हौ ।
त्यो जवान आँगनी तिम्रै प्रतीक्षामा बूढो भैसक्यो, आऊ कान्छा अब फर्केर आफ्नै घर आऊ ।
विश्वविद्यालयका प्रमाणपत्र सरकारलाई बुझाएर इमान, इज्जत र स्वाभिमानका प्रमाणपत्र मनमा बोकेर आऊ।

नजाऊ परदेश बन्नु पर्दैन कसैको गुलाम, अब खोज्नु पर्दैन जागिर, गाउँमै बसेर गरौँला मेहनत ।
गैह्री खेत बाँझै छ कान्छा, तिमी हलो जोतौला, म आली लगाउँला, तिमी बाउसे गरौला, म धान रोपुँला ।
डाँडा बारी पनि बनमाराले छपक्कै ढाकिसक्यो, तिमी काटौला म आगो लगाउँला, अनि छरौला मकै र गहुँ ।

रोपौँला पिरतीको बिरुवा, रमाउँला खोले र सिस्नोमै, बाडौला सुख र दुःख, तापौँला पारिलो घाम आफ्नै आँगनीमा ।
आऊ कान्छा, तिमीलाई ताते–ताते गराएको आँगनीमा, बाआमाको हात समाउन आऊ ।
चाँहिन्न द्रव्य मलाई मेरो पिरती साँचो छ, रित्तै हात आऊ कान्छा, यो बूढो आँगनीलाई तिम्रै खाँचो छ ।

प्रकाशित मिती २०७५ चैत १ गते

प्रकाशित मिति : २०७५ चैत्र १ गते शुक्रवार