• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

नेपाली सेनाले भन्याे- “विप्लवसँग हतियार र लडाकु छन्, हामी अहिलेनै लडन् जाँदैनाैँ”


चैत ५, काठमाडौं ।

नेपाली सेनाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्र्टीबारे ‘गोप्य’ रिपोर्ट तयार पारेको छ । रिपोर्टमा विगतमा प्रचण्ड नेतृत्वको माओवादी र अहिलेको विप्लव नेतृत्व दुवैलाई एउटै क्याटागोरीमा राखिएको छ । दुवैले लडाकु र हतियार संकलन गरेको उल्लेख गरिएको छ ।

स्रोतका अनुसार विप्लव नेकपासँग करिब तीन हजारको हाराहारीमा लडाकुहरू छन् । साना–ठूला, आधुनिक र परम्परागत गरी करिब एक हजारको संख्यामा हतियार रहेको सैनिक स्रोतको भनाइ छ । जसमध्ये एक सय जति आधुनिक किसिमका स्वचालित हतियारहरू छन् भनिन्छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैमा विप्लव नेकपाले प्रभावकारी सूचना स्रोतको पहुँच पु-याइसकेको नेपाली सेनाको मूल्यांकन छ । त्यसैले विगतमा जस्तो प्रहरी परिचालन गर्न नदिने रणनीतिमा सेना रहेको समाचार स्रोतले जनाएको छ ।

विप्लव नेतृत्वको नेकपाले केही समयअघि भारतबाट हतियार खरिद गर्ने गरेको समाचार बाहिर आएको थियो । त्यस्तै, पश्चिम पहाडी जिल्लामा सैन्य भर्ती अभियान सुरु गरेको सूचना पाएपछि सरकार विप्लव नेकपासँग आक्रोशित भएको हो ।

विगतमा संकटकाल लागू गराए मात्रै फिल्डमा जाने अडान नेपाली सेनाले लिएको थियो । तर सरकार भने अहिले नै संकटकाल लगाइहाल्ने पक्षमा छैन । कम्तीमा ६ महिना पर्खने सरकारको रणनीति छ । प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै समाचार स्रोतले भन्यो– ‘विप्लव नेकपामाथि प्रतिबन्ध लगाउने निर्णय नै अहिलेका लागि काफी छ, यो निर्णयले नेतालाई २० वर्ष जेल हाल्न सकिन्छ । यो निर्णयले नै सेना परिचालन हुनसक्छ, यदि अडान नै लियो भने विप्लव नेकपा प्रभावित केही क्षेत्रमा मात्रै संकटकाल लगाउन सकिन्छ ।’

प्रधानमन्त्री केपी ओलीले सेना परिचालनको प्रक्रियामा केही सहज बनाउने तयारी गरेका छन् । सुरक्षा परिषद्को सिफारिसमा राष्ट्रपतिद्वारा सेना परिचालन गर्ने संवैधानिक व्यवस्था छ । यो व्यवस्थालाई संशोधन गरी प्रधानमन्त्रीद्वारा सिधै सेना परिचालन गर्न सक्ने व्यवस्थाका लागि ओली गृहकार्यमा छन् । सरकारसँग दुई तिहाइ बहुमत भएकाले संविधानको यो व्यवस्था संशोधन गर्न गाह्रो छैन ।

सेना आफै जान इच्छुक रहेको विषयबारे केही दिनअघि प्रधानमन्त्री ओलीले रक्षामन्त्री ईश्वर पोखरेल र ऊर्जामन्त्री पुनसँग लामो छलफल गरेका थिए । सुरुमै सेना उतार्ने विषयमा रक्षामन्त्री पोखरेल पनि सकारात्मक रहेको बुझिएको छ । तर संकटकाल लागू नगरी सेना मैदानमा जान्छ वा जाँदैन ? भन्ने प्रश्नको उत्तर रक्षामन्त्री पोखरेलले समेत प्रधानमन्त्री ओलीलाई दिन सकेका छैनन् ।

प्रकाशित मिति : २०७५ चैत्र ५ गते मङ्गलवार