• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

‘+2 सकिने बित्तिकै विदेश जाने सपना नदेख्नुहाेस्, आफ्नै देश बनाउनतिर लाग्नुहाेस्’- पारस खड्का


चैत ५, काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले प्लस टु सकिने बित्तिकै विदेश जाने सपना नदेख्न आग्रह गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित काठमाडौं युथ कनक्लेभ २०१९ कार्यक्रमलाई सम्बोधन गर्दै खड्काले प्लस टु सकेर बिदेश जानुभन्दा आफ्नै देश बनाउनुपर्ने बताए । उनले भने- ” म पनि प्लस टु सकिएपछि विदेश जान खोजेकाे हुँ तर अष्ट्रेलियाकाे भिसा नलागेपछि राेखिएकाे हुँ ।”

उनले मुलुक निर्माणका लागि सबैले आफ्नो स्थानबाट इमान्दार बन्न आवश्यक रहेको प्रष्ट पारेका छन् । कुनै समय अब नेपालमा लोडसेडिङ हुँदैन भन्दा आफू निकै बेर हाँसेको भन्दै खड्काले एउटा व्यक्तिको इमान्दारको परिणामले आज देश उज्यालो भएको बताए । सही व्यक्ति सही स्थानमा पर्दा मुलुकबाट लोडसेडिङ हटेको उनले चर्चा गरे ।

उनले प्रश्न गरे- “कुलमान घिसिङ एकजना इमान्दार बन्दा त देश उज्यालो हुन्छ भने बाँकी सबै किन मुलुकप्रति इमान्दार नबन्ने ?” कप्तान खड्काले ठूलो सपना नदेखी कोही पनि अगाडि बढ्न नसक्ने उल्लेख गर्दै नेपाली क्रिकेट टिमले ‘वन डे’ विश्वकप खेल्ने मात्र नभई जित्ने सपना र सोच पनि बनाएको प्रष्ट पारे ।

काठमाडौंको मूलपानीस्थित क्रिकेट मैदान बन्न लागेको पन्ध्र वर्ष बित्न लागेको प्रसंग कोट्याउँदै उहाँले विभिन्न अभावका बाबजुद पनि क्रिकेटमा आफूहरुले केही चेञ्ज गरेर देखाएको समेत खड्काको भनाइ थियो ।

प्रकाशित मिति : २०७५ चैत्र ५ गते मङ्गलवार