• २०७७ फाल्गुन १५ गते शनिवार
  • Preeti To Unicode

सांसदलाई प्रधानमन्त्री ओलीको निर्देशन– “सरकारले गरेका कामको प्रचार गर्न गाउँ जानुहोस्”


चैत ११, काठमाण्डौँ ।

प्रधानमन्त्री ओलीले सांसदहरुलाई जिल्ला र क्षेत्रमा जान निर्देशन दिएका छन् ।

संघीय संसदको हिउँदे अधिवेशन सकिएको भोलिपल्ट संसद भवन नयाँ वानेश्वरमा बसेको नेकपा संसदीय दलको बैठकलाई निर्देशन दिँदै संसदीय दलका नेता समेत रहेका ओलीले जिल्ला र क्षेत्रका जनतासँग सरकारले गरेका कामहरुको बारेमा प्रचार गर्न र विपक्षीले लगाएका निराधार आरोपको खण्डन गर्न समेत सांसदहरुलाई प्रधानमन्त्री ओलीले निर्देशन दिए । उनले संसदको हिउँदे अधिवेशन सकिएकोले सांसदलाई गाउँ जान आग्रह गरे ।

उनले भने– “तपाईंहरु जिल्ला र क्षेत्र जानुहोस् । सरकारले गरेका कामहरुको प्रचार गर्नुहोस् । जनतामा भएका कुरा लुकाएर नभएका कुराको प्रचार गरिएको छ । त्यसको खण्डन गर्नुहोस् । सत्य कुरा भन्नुहोस् । जनताका कुरा सुन्नुहोस् ।”

उनले आगामी बर्षको नीति र कार्यक्रमका लागि आफ्नो क्षेत्रका योजना र बजेटको फेहरिस्त बोकेर काठमाडौं फर्कन सांसदहरुलाई आग्रह गरेका छन् । उनले भने– “जनताले सोधेका हरेक कुराको जवाफ नम्र ढंगले दिनुहोस् ।”

नेकपाको अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले स्थानीय तहको पार्टी एकताको बारेमा जनताले सांसदहरुसँग धेरै प्रश्न सोध्न सक्ने बताएका छन् । तर अब पार्टी एकताका लागि धेरै समय नलाग्ने भएकोले त्यसैअनुसार जनता र कार्यकर्तालाई सन्देश दिन प्रधानमन्त्री ओलीले आग्रह गरे ।

“केन्द्रमा एकिकरण भएको महिना दिनभित्रै सबै कमिटीको एकता सकिनु पथ्र्यो यसमा अनावश्यक विलम्ब भएको छ” –प्रधानमन्त्री ओलीले भने– “तर अब अध्यक्ष पुष्पकमल दाहाल अमेरिकाबाट फर्कने वित्तिकै एकताका सबै काम टुंगिन्छन् ।”

प्रकाशित मिति : २०७५ चैत्र ११ गते सोमवार