चैत ११, ललितपुर ।
नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.)का स्थायी समिति सदस्य समेत रहेका पार्टीका मध्यकेन्द्रीय कमाण्ड ईन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’सहित नौ जनालाई अनुसन्धानका लागि भन्दै म्याद थप गर्न आइतबार ललितपुर जिल्ला अदालतमा उपस्थित गरायो ।
उपस्थित गराउने क्रममा उनले आफूहरुलाई प्रहरीले शुक्रबार बिहान ४ बजे गिरफ्तार गरेको तर मुचुल्कामा दिउँसो १२ बजे पक्राउ गरेका भनेर तयार पारेको बताए । साथै उनले आफूहरुलाई गिरफ्तार गरेको केहीबेरमै आँखामा कालो पट्टि बाँधेर अपराधीलाई झैं व्यवहार गरेको र पट्टि बाँधिएकै अवस्थामा अज्ञात ठाउँमा राखेर हत्कडी लगाएको हात समातेर औंठाछाप लगाएको समेत अदालतसमक्ष बताए ।
आफूहरुलाई गिरफ्तार गर्दा विभिन्न सामान बरामद भएको भनी मुचुल्कामा उल्लेख गरिएका सामान विवरण सबै झुठा भएको निवेदन समेत वलीलगायत उपस्थित अभियुक्तहरुले गरेका थिए । गिरफ्तार गरेदेखि नै आफूहरुलाई अज्ञात स्थलमा दिनरात घुमाएको र शारीरिक र चरम मानसिक यातना दिएको उनीहरुको भनाई थियो ।
पार्टीका राजनीतिक कामकै सिलसिलामा रहेका बेला अपहरण शैलीमा प्रहरीले गिरफ्तार गरेको भन्दै ने.क.पा.का नेता कार्यकर्तासँग राजनीतिक व्यवहार गर्न समेत उनीहरुले आग्रह गरेका थिए । वलीसहित ने.क.पा.का नौजना नेताहरुलाई शुक्रबार बिहान ४ बजे काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकाबाट गिरफ्तार गरिएको थियो ।
संगयठत अपराध अभियोगमा अनुसन्धान गर्न भन्दै प्रहरीले म्याद थपका लागि वलीका साथ पूर्वी ताम्सालिङ ईन्चार्ज विजय श्रेष्ठ, रौतहट इन्चार्ज शंकर अधिकारी साथै अन्य नेताहरु रामकृष्ण खतिवडा, लोकेन्द्र खड्का, ललित तामाङ, देव घिमिरे, धर्मराज राजवाहक र सञ्जिव घिमिरेलाई अदालतमा उपस्थित गराएको थियो । सबैलाई ललितपुर जिल्ला प्रहरीको हिरासतमा राखिएको छ ।