• २०७७ फाल्गुन १३ गते बिहिवार
  • Preeti To Unicode

सरकारलाई पनि प्रतिवन्ध लगाउने भन्दै विप्लवद्वारा चैत १६ गते नेपाल बन्दको घोषणा


चैत ११, काठमाडौँ ।

प्रतिबन्धीत विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्ना नेता र कार्यकर्ताहरूको गिरफ्तारीका विरुद्ध यही चैत १६ गते शनिबार नेपाल बन्दको घोषणा गरेको छ ।

उक्त पार्टीका महासचिव विप्लवले चैत ११ गते विज्ञप्ति प्रकाशित गरी स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहितका नेता कार्यकर्ता पक्राउको विरोधमा नेपाल बन्द गर्न लागेको जानकारी दिएका हुन् । उनले वर्तमान सरकारले प्रतिबन्ध र दमनलाई हटाउनुको सट्टा उल्टै चर्काएर देशलाई गृहयुद्ध र द्वन्द्वतिर धकेल्न खोजेको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ– “केपी—प्रचण्डको सामाजिक दलाल सरकार दिनप्रतिदिन नेपाली श्रमिक जनतामाझ अलोकप्रिय, असफल र सङ्कटग्रस्त बन्दै गएको छ ।” विप्लवले नेपाली श्रमिक जनताको प्रतिनिधि गरेको आफ्नो पार्टीमाथि प्रतिबन्ध घोषणा गर्दै सरकारले चरम फासिवाद लाद्न खोजेको बताएका छन् ।

विज्ञप्तिमा अगाडि भनिएको छ– “नेपाल बन्द हाम्रो चाहना नभई फासिवादी दमनका विरुद्ध बाध्यता भएको जानकारी आमजनतामा गराउन चाहन्छौँ । यो बन्दले कक्षा १० का विद्यार्थीहरूको एसईई परीक्षालाई बाधा नपारोस् भन्नका लागि शनिबारको दिन आयोजना गरिएको अवगत गराउँछौँ ।”

उनले सरकारले देशभित्र द्वन्द्व लादेर विदेशी लगानी भित्र्याउने हावादारी प्रचार गरिरहेको आरोप लगाएका छन् । उनले चैत १६ गतेको बन्दप्रति कुनै पनि अन्तर्रा्ष्ट्रिय समुदायलाई भ्रमित र तरङ्गित नहुन आग्रह गर्दछौँ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ– “अन्त्यमा हामी सबै देशभक्त, वामपन्थी, लोकतन्त्रवादी, कम्युनिस्ट, विभिन्न क्षेत्रका उद्योगी–व्यवसायी र आमजनतालाई बन्द सफल पारी केपीको फासिवादलाई प्रतिरोध गर्न विशेष अनुरोध गर्दछौँ ।”

साथै विप्लवले चैतभित्र प्रतिबन्ध नहटाएमा र शान्तिपूर्ण कार्यक्रम गर्न नदिएमा केपी वली सरकारका कार्यक्रमहरू विरुद्ध प्रतिबन्ध र आमहडतालको तयारी गर्ने बताएका छन् ।

प्रकाशित मिति : २०७५ चैत्र ११ गते सोमवार