• २०७७ फाल्गुन १३ गते बिहिवार
  • Preeti To Unicode

जनताको करमा सल्यानका स्थानीय तह : ‘भ्यू टावरदेखि एर्पोट हुँदै सुरुङमार्ग सम्मका योजना’


  • खकेन्द्र केसी

जनताबाट निर्वाचन भएका सल्यानका स्थानीय तहका जनप्रतिनिधिहरुले यतिखेर ठुला योजनाहरु पनि अगाडी सारेका छन् ।

१० वटा स्थानीय तह रहेको सल्यानमा ठुला योजनाहरुमा प्रतिसप्रधाको होेडबाजी चलेको छन् । यतिखेर स्थानीय तहहरु आफ्नै बजेटबाट ठुला योजनाहरु पुरा गर्नेमा तल्लीन देखिन्छन् ।

जनताले उठाएको करबाट चलेका स्थानीय तहहरु विकास गर्नुपर्छ भन्नेतर्फ पनि देखिन्छन् भने त्यसैमा ठुला योजनाहरु पनि अघि सारेका छन् । पछिल्ला केही बर्ष यता सल्यानमा केन्द्र सरकारबाट खासै उल्लेखनिय मात्रामा बजेट छुट्याइएको देखिदैन् । तरपनि सल्यानका स्थानीय तह ‘सके केन्द्र तथा प्रदेशको आस, नसके आफ्नै बजेट’ले भएपनि ठुला योजना पुरा गर्नेमा देखिन्छ ।

सबैभन्दा ठुलो योजनालाई अघि सारेको छ छत्रेश्वरी गाउँपालिकाले । वडा नम्बर ५ मा अबस्थित लेखपोखरामा एर्पाेट बनाउने भन्दै यस गाउँपालिकाले डिपीआर समेत गरिसकेको छ ।

करिब ८१ करोड बराबरको रकम खर्च हुने एर्पाेटलाई जसरी पनि बनाउने लविङ गरेका गाउँपालिका अध्यक्ष सन्तोष केसीले । उनले बजेटको लागी संघिय तथा प्रदेश सरकारलाई आग्रह गर्ने पनि बताएका छन् ।

संघ र प्रदेशबाट केही सुनुवाई नभएपनि आफ्नै गाउँपालिकाको बजेटले एर्पाेट बनाएरै छाड्ने उनको दाबी छ । यद्वी गाउँपालिकाको सबै बजेट यसैमा खर्च गर्ने हो भने पनि २ बर्षको सबै बजेट एर्पोटमै खर्चहुने देखिन्छ ।

यो गाउँपालिका हेर्दा अन्य क्षेत्रमा पनि त्यती विकसित मानिदैनन् । यहाँको सडक, खानेपानी, शिक्षा, बेरोजगारी, स्वास्थ्य, कृर्षीमा पनि समस्या छ । राप्ती राजमार्गको केहि दुरी बाहेक अन्य सबै सडक यहाँका कच्चि हुन् ।

यसरी एर्पोट बनाउदा अन्य योजनाहरु अलपत्र पर्ने देखिन्छ । सर्वसाधारणलाई यर्पाेट भन्दापनि अन्य साना योजनाहरुको खाँचो भएको कतिपयको बुझाई छ । किनकी सर्वसाधारणको यात्रा जहाजभन्दा सडकमै प्रभावकारी हुन्छ । दाङमै राम्रो सँग एर्पाेट नचल्दा सल्यानमा कसरी चल्ने हो भनेर कतिपयमा प्रश्न पनि जागेको छ ।

अर्कोतर्फबाट हेर्दा जिल्लामा एउटा एर्पाेटको खाँचो पनि देखिन्छन् । सल्यानबाट दैनिक १० जनाभन्दा धेरै दाङ तथा नेपालगन्जको एर्पाेटबाट काठमाण्डौँको यात्रा गर्ने तथ्याङक पनि भेटिन्छ । यसरी एक हप्तामा ७० जना जतिले प्लेनको यात्रा गर्ने रहेछन् ।

यतिधेरै जना सल्यानबाट मात्रै भएपछि रुकुम तथा रोल्पालाई पनि लक्षित गरेर एर्पाेट संचालन गर्न सकिने अर्काेतर्फको बुझाई छ । अन्य बाहिरी जिल्लामा हेर्दा सामान्य ठाउँमा पनि एर्पाेट संचालन भएका उदाहरणहरु थुप्रै छन् ।

यहाँ पनि एर्पोट संचालन गर्न सके यहाँको विकास सँग धेरैले रोजगारी पाउने र यस क्षेत्रको प्रचार हुनेछ । एर्पाेट बनाउदा जिल्लामा एउटा गौरब गर्न लाइक विकासमा गनिन्छ । त्यसैले एर्पाेट बनाउनुपर्ने कतिपयको तर्क छ ।

हेर्नुहोस् लेखपोखरामा बन्ने एर्पाेटको डिपीआर भिडियो…

त्यसैगरी जिल्लाको बागचौर नगरपालिकाले पनि भ्यू टावरको योजनालाई अघि सारेको छ । नगरको वडा नम्बर २ मा बन्ने अग्लाटाकुरा भ्यु टावर तथा पार्कको लागी नगरपालिकाले डिपीआर गरेर आधा करोड जति रकम खर्च गरी फिल्ड निर्माण समेत गरिसकेको छ ।

करिब ६ करोड भन्दा धेरै लागतको अनुमान गरिएको यो भ्यू टावरको बजेट नगरपालिका आफैले गर्ने देखिएको छ । यद्वी संघ तथा प्रदेश सरकार सँग बजेट बिनियोजनको लागी आग्रह गरिने नगरप्रमुख लोकमान बुढाथोकीले बताएका छन् ।

यो भ्यू टावरले पनि विभिन्न प्रश्नहरु उब्जाएको छ । यो नगरपालिका पनि आफैमा विकसित नगरपालिका हैन् । यहाँ साना साना विकासका थुप्रै कामहरु गर्न बाँकी छन् ।

नगरप्रमुख लोकमान बुढाथोकीले चुनावको एजेन्डामा नगर परिक्रमन गर्ने रिङ रोडलाई अगाडी सारेका थिए । तर त्यो काम अहिले भनेअनुसारको भएको छैन् । किनकी सबैको ध्यान अहिले भ्युटावरतिर छ ।

भ्यू टावरको योजना अगाडी ल्याउदा अन्य साना योजना अलपत्र पर्छन् की भन्ने कतिको प्रश्न पनि उब्जीएको छ । जनतालाई भ्यू टावर भन्दा नगरभित्र रहेको कोटमौलाको सुन्तला, बाफुखोलाको आलुलाई पकेट क्षेत्र बनाएर व्यवस्थीत गर्न सके धेरैलाई रोजगार र नगरको आर्थीक विकास हुनेमा केहिको तर्क ।

त्यस्तै कृर्षीलाई व्यवस्थीत गरेर उत्पादन गरि बजारीकरण गर्न सके नगरपालिकालाई राम्रो हुने केहिको बुझाई छ । त्यसको लागी नियमित हाटबजार संचालन गर्न सकिन्छ ।

तर भ्यू टावर बनाउनु पर्नेमा पनि कतिपयको बुझाई छ । जिल्लाको पहिचान झल्कीने र आन्तरिक तथा बाह्य पर्यटकहरुलाई जिल्लामा भित्र्याउन भ्यू टावरले महत्वपुर्ण भुमिका खेल्नेछ ।

अन्य जिल्लाहरुमा हेर्दा पनि पर्यटकीय क्षेत्रहरुलाई माथी उकासेर गन्तव्यको ठाउँ बनाईएको थुप्रै उदाहरण छन् । सल्यानलाई पनि विकसित र प्राकृतक सौन्दर्यता बनाउन यस्ता भ्यू टावर र पार्कहरुको आवश्यक पर्दछ ।

यसले धेरै पर्यटकहरुलाई तान्न सक्छ । जसले गर्दा नगरको आर्थीक विकास सँगै जिल्लाको पहिचान बन्ने छ । विभिन्न भ्रमण तथा पिक्नीकको लागी बाहिर जानेहरुलाई यसले रोक्नेछ भने बाहिरको लाई पनि भित्र्याउने छ । त्यसैले भ्यू टावर र पार्क बनाउनु पर्नेमा केहिको जोड छ ।

हेर्नुहोस् बागचौर नगरपालिकाले बनाउने भ्यु टावरको डिपीआर भिडियो…

त्यस्तै कपुरकोट गाउँपालिकाले पनि भ्यू टावरको योजना ल्याएको छ । कपुरकोटलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने उद्देश्यले भ्यू टावर सहित पर्यटकीय उद्यान तथा सांस्कृतिक संग्रहालय बनाउने भन्दै कपुरकोट वडा नम्बर ४ किमुचौरस्थित घंगारिचौरलाई निर्माण स्थालको ठाउँ रोजिएको छ ।

करिब ५ करोड भन्दा धेरै रकम खर्च गर्नेगरी बनाईएको गुरुयोजना जसरी पनि पुरा गर्ने मैदानमा छन् गाउँपालिका अध्यक्ष भिम बहादुर सेन् । उनले यसको लगानीका लागी प्रदेश तथा संघिय सरकारलाई र निजी क्षेत्रलाई आग्रह गर्ने बताएका छन् । यद्वी कसैबाट सहयोग नभएपनि आफ्नै गाउँपालिकाको बजेटमा भ्यू टावर बनाएरै छाड्ने पक्षमै छन् उनि ।

तर यसरी गाउँपालिका भ्यू टावरकै पछि लाग्दा अन्य विकास निर्माण कस्तो हुन्छ भन्ने प्रश्ननै छ । जिल्लामा यस्ता योजना प्रतिसप्रधाकै रुपमा देखिएको छ । उसो त कपुरकोट गाउँपालिका भौगोलीक हिसाबले दुर्गम नै मानिन्छ ।

राप्ती राजमार्गमा पर्ने कपुरकोट बजारमा सडक संजालको राम्रो सुविधा देखिएपनि अन्य गाउँहरु असाध्य दुर्गम छन् । यहाँ कति ठाउँमा मोटरबाटो पुगेको छैन् भने, भर्खर कच्ची मोटरबाटो पुगेका समाचार आजभोली सुनिन्छन् ।

यहाँका जनता भ्यू टावर चढ्ने नभएर मोटरबाटो हिड्न पाए हुन्थ्यो भन्नेमा छन् । त्यस्तै समस्या स्वास्थ्य, शिक्षा, खानेपानी लगाएतमा पनि छ । भ्यू टावर बनाउने बजेटले यो समस्यालाई पार लगाउनु पर्ने कतिपयको बुझाई छ । उनिहरु सामान्य विकासलाई अगाडी बढाउनुपर्छ भन्ने तर्क गर्छन् ।

फेरी कतिपयको तर्क भ्यू टावर बनाउनुपर्छ भन्नेमा छ । कपुरकोटमा बन्ने भ्यू टावर मात्रै नभएर सांस्कृतीक संग्रहालय पनि हो । यसमा गाउँघरमा लोप हुन लागेका तोरी पेल्ने कोल, ढिकी, जाँतोदेखि अन्य मौलिक संस्कृति झल्कने चिजवस्तुहरू राखिनेछ ।

यस्तै यहाँ शिव मन्दिर, बाल उद्यान, वनभोज स्थल, खुला मञ्च र चमेनागृहजस्ता संरचना निर्माण पनि गरिने डिपीआरमा छ । यसले समग्र जिल्ला सँगै कपुरकोटलाई पनि माथि उकास्ने छ ।

यो दाङसँग सिमाना जोडिएको क्षेत्र हो । यहाँ बन्ने भ्यू टावरको दुरी पनि अग्लो स्थानमा छ । यहाँ डिपीआरमा भनेजस्तै गर्न सकिए सजिलै पर्यटकहरु भित्र्याउन सकिन्छ । पर्यटक मात्रै नभएर यसले कपुरकोटको तरकारीको पनि पहिचान बनाउने छ । त्यही मात्रामा सांस्कृतीको जगेर्ना पनि हुने छ ।

जसले गर्दा यहाँको आर्थिक विकास सँगै रोजगारीको सिर्जना पनि हुन सक्छ । त्यसैले जसरी पनि भ्यू टावर बनाउनु पर्छ भन्ने पक्षमा कतिपय छन् ।

हेर्नुहोस् कपुरकोट गाउँपालिकाले बनाउने भ्यु टावरको डिपीआर भिडियो…


त्यस्तै अर्काे अनौठो योजनाको कुरा गरेका छन् त्रिवेणी गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीले । उनले कहि समय अघि त्रिवेणी गाउँपालिकाको लुहाम देखि सिधै दाङको तुलसीपुरसम्म सुरुङमार्ग खोल्न सकिने बताएका थिए ।

उनले भनेको यो कुरा समाचारमा आएपछि उनकै कर्मचारीले यो सपना मात्रै भएको तर योजना नभएको बताएका थिए । ति कर्मचारीले भने– “अध्यक्ष ज्यूले कल्पनाको कुरा मात्रै गर्नुभएको हो तर गाउँपालिकाको योजना हैन्”

त्यसक्रममा अध्यक्ष डाँगीले सुरुङ मार्गको लागी सम्भाव्यता अध्यान समेत गर्ने बताएका थिए । उनले त्यसका लागी गाउँपालिकाबाट अर्काे बर्ष बजेट विनियोजन गर्ने समेत बताएका थिए । यो योजना संघिय सरकारमा पेस गर्ने भन्दै उनले यो योजना मुलुककै गौरबको योजना हुने समेत बताएका थिए ।

उनको यो कुरामाथी पनि विभिन्न टिका टिप्पनीहरु भएका थिए । सामान्य विकास गर्न नसकेको भन्दै ठुला योजना सपना मात्रै भएको कतिपयको टिप्पनी थियो । सुरुङमार्ग कति लागतमा भन्छ भनेर थाहै नपाएर बोलेको भन्दै कतिले उनको आलोचना समेत गरेका थिए ।

तर उनको यो भनाईलाई साच्चिकै लागु गर्ने हो भने जिल्लामा विकासले ठुलो फड्को मार्ने देखिन्छ । उनको यो कुरा पुरा हुन सके सबैलाई लाभदायीक हुनेछ त्यसको लागी स्थानीय तहको बजेटले मात्रै काम गर्न कठिन भन्दा पनि असम्भव नै छ ।

त्यसको लागी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरु सँग बजेट माग गरेर सुरुङमार्ग बनाउन सके बेलाबेलामा हुने दुर्घटना कम हुनेछन् । यहाँ सुरुङ मार्ग खोल्दा सल्यान, रुकुम र जाजरकोटका नागरिकलाई सहज हुने देखिन्छ ।

लुहामदेखि कपुरकोट हुँदै तुलसीपुरसम्म राप्ती राजमार्ग ४० किलोमिटर छ भने सुरुङ मार्ग खोल्दा ५ देखि ७ किलोमिटरसम्म मात्रै हुनेछ । यसले गर्दा दुरी पनि छोटो, दुर्घटना कम र सहज यात्रा हुनेछ । तर यो गाउँपालिकाले गर्न सक्ने काम भने पक्कै हैन् । यसलाई राष्ट्रिय गौरवको योजनामै गन्न सकिन्छ ।

हेर्नुहाेस् त्रिवेणी गाउँपालिका अध्यक्ष डाँगीले सुनाएकाे सुरुङमार्गकाे याेजना…

यसरी सल्यानका स्थानीय तहका ठुला योजनाहरुको कुरा गरिरहदा स्थानीय तह हामी नै हाम्रो बजेटमा गर्न सक्छौँ भन्ने तर्फ अहिले लागिरहेका छन् । तर स्थानीय तहको यति सानो बजेट यी ठुला योजनाहरुमा प्रयोग गर्दा अन्य विकास निर्माणका योजनाहरु कहाँ पुग्लान भन्ने तर्फ गहिरो ध्यान जान जरुरी छ ।

यी स्थानीय तहले ल्याएका योजनाहरु स्वागतयोग्य भएपनि बजेटमा ठुलो समस्या हो । त्यसको लागी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरुसँग बजेट माग गर्नसक्ने क्षेमता हुनुपर्छ । हुनत योजना नबनाएरै बजेट कहाँबाट आउछर ? योजना बनाएपछि मात्रैआउन हो । त्यसको लागी पहलकमदी भने राम्रो हुनुपर्छ ।

संघ तथा प्रदेश सरकारले सल्यानको मुख्य योजानमा हेर्ने राप्ती राजमार्गको अवस्था अहिले हामीले हेर्न सक्छौँ । जहाँ कालोपत्रे गरेको ८–९ बर्षमै पुरै उत्रिएर कच्ची जस्तै बनेको छ । जसको लागी केन्द्र सरकारबाट खासै बजेट विनियोजन हुँदैन् ।

बजेट अभावकै कारण सडक गुनस्तरीय हुन सकेको छैन् । अब त्यही सडकको सुधारको लागी बजेट निकासा गर्न सकिदैन् भने अन्य तेस्रो तह पछिका योजनहरुमा ठुलो बजेट कसरी ल्याउन सकिएला भन्ने प्रश्न जागेको छ ।

विकास सबै मिलेर गर्नुपर्छ । यी स्थानीय तहले ल्याएका योजना स्वागतयोग्य छन् । तर स्थानीय तहकै बजेट प्रयोग गरेर जनतामा निराशा छाउने साना योजनाहरु अलपत्र नपरुन । संघ र केन्द्र सरकार सँग राम्रो समन्वय होस् । स्थानीय उत्पादनको वृद्धि गरेर आर्थिक विकास भई सम्वृद्ध सल्यान हाम्रै पालामा होस् ।

लेखक लेकाली अनलाइनका सम्पादक हुन्

प्रकाशित मिती २०७५ चैत १२ गते

यी समाचारहरु पनि पढ्नुहाेस्

सल्यानकाे लुहामबाट सिधै तुलसीपुर सुरुङ मार्ग खाेल्ने याेजना छ : अध्यक्ष डाँगी (भिडियाे सहित)

सल्यानमा ८१ करोडको लागतमा विमानस्थल बन्दै, यस्तो छ एर्पोटको परिकल्पना (भिडियो सहित)

सल्यानको बागचौरमा ‘भ्यु टावर’ बन्ने, यस्तो छ परिकल्पनाको भिडियो ?

सल्यानको कपुरकोटमा पनि ‘भ्यू टावर’ बनाइदै, यस्तो छ परिकल्पनाको भिडियो ?

प्रकाशित मिति : २०७५ चैत्र १२ गते मङ्गलवार