चैत १२, अछाम ।
अछाममा प्रहरीले गोली प्रहार गरी नेकपाका चारजना नेतालाई गिरफ्तार गरेको छ ।
जिल्लाको रामारोशन गाउँपालिको झाता गाउँमा प्रहरी गएर गोली चलाएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार विप्लव कार्यकर्तालाई लक्षित गरी प्रहरीले नै ७ राउण्ड हवाई फायर गरेको थियो ।
तर प्रहरीले विप्लव समूहका कार्यकर्ता झाता गाउँमा रहेको थाहा पाएपछि आफुहरु त्यहाँ पुगेको बताएको छ । विप्लव समूहका कार्यकर्ताले प्रहरीमाथि पहिला फायरिङ गरेपछि प्रहरीले जवाफी कारवाही स्वरुप फायरिङ गरेको प्रहरीको दाबी छ ।
भिडन्तका क्रममा गिरफ्तार पर्नेमा पार्टी निकट अखिल क्रान्तिकारीका जिल्ला कोषाध्यक्ष सुरेश रावत, युवा संगठनका जिल्ला सदस्य सुरेश साउद, अनेमसंघ क्रान्तिकारीकी भुमीसरा धामी र युवा संगठनकै राजेन्द्र धामी रहेका छन् ।
प्रहरीको घेराबन्दीबाट भाग्ने क्रममा नेकपा अछामका ईन्चार्ज शेर बहादुर बिक ’दर्शन’ को खुट्टामा चोट लागेको नेकपा श्रोतले बताएको छ ।
विप्लव नेतृत्वको सेना अछाम प्रवेश गरेको आशंकामा सोमबार अछामको गैरीटाडमा सेनाको बाक्लो उपस्थिति देखिन्थ्यो । जिल्लाको विनायक, कमल बजार लगायतका क्षेत्रमा सादा पोसाकमा सेना खटिएको जानकारी प्राप्त भएको छ ।