• २०७७ फाल्गुन १३ गते बिहिवार
  • Preeti To Unicode

प्रदेश २ मा एसईई परिक्षा रद्द भएपछि विद्यार्थी आक्रोशित, प्रहरीले २ राउन्ड हवाइ फायर गर्याे


चैत १५, वीरगञ्ज ।

प्रदेश २ को ८ वटा जिल्लामा शुक्रबार नियमिततर्फको माध्यामिक शिक्षा परीक्षा (एसईई) को परीक्षा रद्द भएपछि वीरगञ्जका परीक्षार्थी आक्रोशित बनेका छन् । उनीहरुले ‘हामीलाई न्याय चाहियो’ भन्दै प्रदर्शन गरेका छन् ।

वीरगञ्जममा प्रहरीले भीडलाई नियन्त्रणमा लिन २ राउन्ड अश्रु ग्यास र हवाइ फायर समेत गरेको छ।

(एसईई) परीक्षा सुरु हुनुभन्दा कम्तिमा १२ घण्टा अगावै प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ का ८ वटै जिल्लामा शुक्रबारको सामाजिक विषयको परीक्षा रद्द गरिएको हाे । यसअघि उक्त प्रदेशमा बिहीबार पनि परीक्षा अगावै विज्ञान विषयको प्रश्नपत्र आउट भएकाले परीक्षा रद्द गरिएको थियो ।

त्यस्तै बाराकाे कलैयामा पनि विद्यार्थीले प्रदर्शन गरेका छन् ।  विद्यार्थीको भविष्यसित खेडबाड गरिएको भन्दै सयौं परीक्षार्थीहरुले कलैयाकाे भरत चोकमा प्रदर्शन गरेका हुन् ।

‘जुन जिल्लाबाट बाहिरिएको हो, त्यही जिल्लाको रद्द गर्नुपर्थ्यो,’ एक परीक्षार्थीले भने, ‘गल्ती अरुले गर्ने र सजाय आफूहरु पाउने ?’ रद्द गरिएको परीक्षालाई मान्यता दिनुपर्ने उनले माग गरे ।

परीक्षार्थीहरुले ७ बजे कलैयाको भरतचोकमा चल्ने सवारी साधनमा अवरोध गर्दै बजारका पसल समेत बन्द गर्ने प्रयास गरेका थिए । पछि प्रहरीले हस्तक्षेप गरेर भीडलाई तितरबितर पारेको थियो ।

परीक्षार्थीको प्रदर्शन र प्रहरी हस्तक्षेपका कारण केहीबेर कलैयाको मुख्य मानिने भरतचोक तनावग्रस्त बनेको थियो । परीक्षा रद्द भएको विरोधमा यातायात र पसल समेत बन्द गर्दै हिँडेका केही परीक्षार्थीको समूहलाई प्रहरीले तितरबितर पारिएको एक प्रहरी अधिकारीले बताए । ‘उत्तेजित परीक्षार्थीको समूहलाई सामान्य बल प्रयोग गरेर तत्काल नियन्त्रणमा लिइयो,’ ती अधिकारीले भने, ‘प्रहरीको सक्रियतापछि असहज बनेको चोक सहज भयो ।’

 

कसले गर्छ प्रश्नपत्र आउट

सामाजिक सञ्जाल र सञ्चारमाध्यममा प्रश्नपत्र छ्यापछ्याप्ती भएको थियो । परीक्षा सुरु हुनुभन्दा धेरै समय अगाडि नै प्रश्न बाहिरिएकाले केन्द्राध्यक्ष, निरीक्षक र विद्यार्थीभन्दा पनि ठूलो ‘गिरोहको संलग्नता’ रहेको हुनसक्ने शंका गरिएको छ ।

‘परीक्षा सुरु हुनेदिन बिहानसम्म प्रश्नपत्र परीक्षा केन्द्रको नजिकको प्रहरी चौकीमा राख्ने व्यवस्था छ,’ केन्द्रीय परीक्षा समन्वय समितिका एक सदस्यले भने, ‘परीक्षा केन्द्रमा नपुग्दै प्रश्नपश्न सार्वजनिक भएकाले ठूलै गिरोहको संलग्नता रहेको प्रारम्भिक आंशका गरेका छौं ।’

बिहीबार प्रश्नपत्र बाहिएर पछि समन्वय समितिले सुरक्षा समितिको बैठक डाकेर सर्तकता अपनाउने निर्णय गरेको थियो । तर बैठक सकिए लगत्तै राति नै प्रश्नपत्र आउट भएको खुलासा भयो । काठमाडौंको सेक्युरिटी प्रेसमा छापिएको प्रश्नपत्र सिलबन्दी गरेर सुरक्षा सहित प्रहरी कार्यालय हुँदै जिल्ला/जिल्लाका परीक्षा केन्द्रहरुमा पुर्‍याइन्छ । यसरी प्रश्नपत्र पठाउँदा पनि परीक्षाभन्दा पहिल्यै बाहिरिनुलाई गम्भीर रुपमा हेरिएको छ ।

‘प्रश्नपत्र यसअघिका वर्षमा पनि छिटपुट रुपमा आउट हुनेगरेको हो,’ शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक निर्देशक बावुराम पौडेलले भने, ‘पहिले परीक्षा केन्द्रमै पुगेपछि बाहिरिन्थ्यो, विद्यार्थी परीक्षा हलमा पसिसकेकाले खासै असर पर्थेन, यसपाली नपुग्दै आउट भएको पाइएको छ, यसलाई गम्भीर रुपमा लिएका छौं ।’

बिहीबार पनि प्रदेश नम्बर २ को विज्ञान विषयको प्रश्नपत्र पनि परीक्षा सुरु हुनु अगावै बाहिरिएको हो । सप्तरी जिल्लाबाट प्रश्नपत्र बाहिरएको सूचना पाएपछि बोर्डले प्रदेश २ को उक्त विषयको परीक्षा रद्द गरेको छ । छानविनका लागि बोर्डका सदस्य अमोदा श्रेष्ठको संयोजकत्वमा छानविन समितिले पनि गठन गरिएको थियो । प्रदेश सरकारले छुट्टै छानविन टोली पनि बनाएको छ । बोर्ड र प्रदेश सरकारले छानविनका लागि छुट्टाछुट्टै समिति बनाएका हुन् ।

शिक्षा मन्त्रालयले आकस्मिक सुरक्षा समितिको बैठक डाक्यो

एसईई परीक्षाको प्रश्नपत्र लगातार बाहिरिएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक डाकेको छ ।

परीक्षाको सुरक्षा व्यवस्थापनका लागि शिक्षा सचिवको अध्यक्षतामा सुरक्षा समिति रहने व्यवस्था छ । शिक्षामन्त्री गिरिाजमणि पोखरेलको निर्देशनमा दिउँसो १२ बजेका लागि बैठक डाकिएको मन्त्रालय स्रोतले जनाएको छ ।

समितिमा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रतिनिधि सदस्य रहनेछन् । शिक्षा सचिव खगराज बरालको अध्यक्षतामा बैठक बस्न लागेको हो । बिहान राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयमा केन्द्रीय परीक्षा समन्वय समितिको बैठक बसेको थियो ।

उक्त बैठकले प्रदेश २ को सामाजिक विषयको शुक्रबारको परीक्षा रद्द गर्ने निर्णय मात्र गर्यो । थप निर्णय सुरक्षा समितिको बैठक पछि गर्ने सम्भवना छ । आगामी दिनको परीक्षा के कसरी सञ्चालन गर्ने, परीक्षाको समग्र सुरक्षा व्यवस्था कसरी मिलाउने र रद्द भएको परीक्षा कहिले गर्ने र छानविनलाई कसरी अघि बढाउने लगायत विषयमा बैठकमा छलफल हुनेछ ।

परीक्षा हुन बाँकी विषयको समेत प्रश्नपत्र आउट भइसकेको हुनसक्ने आंशका समेत गरिएको छ । स्रोतकाअनुसार उक्त बैठकले आउट भएको प्रश्न केन्द्रमा सिलबन्दी गराएर पठाएका प्रश्नहरु मध्येबाट हुबहु रहेको निर्ष्कष समेत निकालेको छ ।

त्यस्तै बोर्डले अमोदा श्रेष्ठको संयोजकत्वमा गठन गरेको छानविन समिति आजै प्रदेश २ तर्फ जाने जनाइएको छ ।

अन्य ६ वटा प्रदेशमा पनि छुट्टाछुट्टै प्रश्नपत्र भएकाले परीक्षा सञ्चालन भइरहेको छ । देशभर परीक्षामा ४ लाख ७५ हजार विद्यार्थी सहभागी छन् । यसवर्षदेखि परीक्षा सञ्चालन सम्बन्धित व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारलाई दिइएको थियो ।

 

प्रकाशित मिति : २०७५ चैत्र १५ गते शुक्रवार