• २०७७ फाल्गुन २४ गते सोमवार
  • Preeti To Unicode

हावाहुरीबाट बारा र पर्सामा २७ जनाकाे मृत्यु, सरकारले पठायो ४ सय ६८ वटा त्रिपाल


चैत १८, काठमाडौं ।

संघीय सरकारले ४६८ वटा त्रिपाल हावा हुरी प्रभावित जिल्लमा पठाएको छ । गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाकाअनुसार सशस्त्र प्रहरीको ट्रकमार्फत ४६८ वटा त्रिपाल बारा र पर्सातर्फ पठाएको छ ।

५ सय घर परिवार प्रभावित भएको जानकारीका आधारमा त्यति मात्रै त्रिपाल पठाइएको महाशाखाका उपसचिव वेदनिधि खनालले बताए । बारा जिल्ल्लामा १५० वटा त्रिपाल मौज्दात रहेकाले केन्द्र सरकारले ४ सय ६८ त्रिपालमात्रै पठाएको हो ।

अब केन्द्र सरकारसँग २ हजार वटा त्रिपाल मात्रै बाँकी रहेको खनालले जानकारी दिए । यसअघि शहरी विकास मन्त्रालय अन्तरगत विपदका लागि आवश्यक सामान किनेर भण्डारण गरिन्थ्यो । तर, हाल त्यो अधिकार गृह मन्त्रालयलाई छ ।

खनालका अनुसार ४ हजार १६८ थान कपडा पनि त्रिपालसँगै पठाइएको छ । ‘खाद्यान्नको व्यवस्थापन सरकारले ब्यहोर्ने गरी हाललाई स्थानीय तहले नै व्यवस्थापन गर्ने निर्णय भएको छ,’ उनले भने,‘ स्थानीय स्तरमा उपलब्ध चामल लगायतका खाद्यान्न स्थानीय तहले नै वितरण गर्छन् ।’

संघीय सरकारले विपदका समयका लागि मौज्दात राख्ने गरिएको हेटौंडास्थित खाद्यान्न समाग्रीको गोदाम घर प्रदेश सरकारलाई नै जिम्मा लगाएको छ । त्यहाँ कुन प्रकृतिका कति सामाग्री मौज्दात छन् भन्ने जानकारी संघीय सरकारलाई छैन ।

आइतबार बेलुका बारा र पर्साको विभिन्न स्थानमा आँधीहुरी चल्दा २७ जनाकाे मृत्यु भएकाे गृहमन्त्रालयले पुष्टि गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सोमबार १२ बजे बारा र पर्साको विभिन्न स्थानमा हुरी र बतासमा परी ज्यान जानेहरुको संख्या २७ जना पुगेको पुष्टि भएको जानकारी दिए ।उ नका अनुसार हावाहुरीबाट २६ जना र पर्सामा १ जना गरी २७ जनाको ज्यान गएको हो ।

हावाहुरीबाट बाराको फेटा गाउँपालिकास्थित पुरेनियामा सबैभन्दा बढी क्षति पुगेको छ । अहिले स्थानीय प्रशासनले घटनामा कति धनजनको क्षति भएको हो ? त्यसको विवरण संकलन गर्ने कार्य सुरु गरेको छ ।

घाइतेलाई उपचार खर्च सरकारले बेहोर्ने

हुरीबाट घाइते भएपछि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार गराइरहेका घाइतेलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले भेटेका छन् ।

घाइतेलाई भेटेर उनले सबै विरामीको उपचार खर्च सरकारले बेहोर्ने बताए । उनले चिकित्सकलाई सम्पूर्ण स्रोत साधन प्रयोग गरेर घाइतेको उपचार गर्न पनि आग्रह गरेका छन् ।

‘खर्चको चिन्ता लिनुपर्दैन उनले भने,’ ‘घाइतेको उपचार राज्यले गर्छ ।’ संघीय सरकारको तर्फबाट गर्नुपर्ने सबैं सहयोग गर्न सरकार तयार रहेको मन्त्री पोखरेलले प्रतिवद्धता व्यक्त गरेका हुन् ।

शिक्षण अस्पतालमा महमद मियाँ, गीतादेवी कट्टेल, समिना खातुन, अमन कट्टेल, मुनाफ अनसरी, कृष्ण पटेल, सुरेश पटेलको उपचार भइरहेको छ । आइतबार बेलुकी आएको हावाहुरीबाट घाइते भएकामध्ये सातजनालाई उपचारका लागि सेनाको हेलिकोप्टरबाट आज काठमाडौं ल्याइएको थियो ।

प्रकाशित मिति : २०७५ चैत्र १८ गते सोमवार