• २०७७ फाल्गुन १५ गते शनिवार
  • Preeti To Unicode

कुपिण्डे तालबाट बालुवा बोकेर पढाइ खर्च जुटाउँदै बालबालिका


खकेन्द्र केसी

चैत २०, सल्यान ।

सल्यानको कुपिण्डे तालमा बालुवा चालेर बालबालिकाहरुले आफ्नो पढाई खर्च जुटाउने गरेका छन् ।

बनगाड कुपिण्डे नगरपालिकाको वडा नम्बर ८ मा पर्ने ज्यामिरे, अधेरी गाउँका बालबालिकाहरु कुपिण्डे तालमा बालुवा चालेर कपी, कलमको जोहो गर्दै आइरहेका छन् । उनिहरु विदाको दिन कुपिण्डे तालको बगरमा बालुवा चालेर बिक्रि गर्ने र अन्य दिन विद्यालयमा गएर पढ्दै आइरहेका हुन् ।

नवज्योति आधारभुत विद्यालय ज्यामिरे अधेरी र महादेव आधारभुत विद्यालय ज्यामिरेमा अध्ययनरत दर्जन बढि बालबालिकाहरु यसरी बालुवा चाल्दै आई रहेका छन् । बालुवा चालेर बिक्रि भएको पैसाबाट कपि कलम र खानेकुरा किन्ने गरेको नवज्योति आधारभुत विद्यालय अधेरीमा कक्षा चार मा अध्ययरत छात्रा निर्मला परियारले बताइन् ।

उनले भनिन्– “बालुवा संकलनका लागि विदाको दिनमा तालको बगरमा आउने गरेको र बालुवा विक्रिबाट आएको पैसा कपि, कलम र खानेकुरामा खर्च हुन्छ ।”

एक पाथि बालुवाको ३० रुपैयामा विक्रि गर्ने गरेको र दिनभरमा चार देखि पाँच पाथिसम्म बालुवा संकलन हुने गरेको नवज्योती माविमा कक्षा ७ मा अध्यानरत १४ वर्षीय संयोग बुढा मगरले बताए ।

उनले घरको आर्थिक अवस्था कमजोर भएका कारण साथीहरु संगै विदाको समयमा बालुवा बोक्ने गरेको र किताब कापी कलम किनेर स्कुल जाने गरेको बताए । सबैले कुपिण्डे तालको किनारबाट बालुवा संकलन गरी बाेकेर बाबिया चौर बजारमा लिइ ३० रुपैयाँ पाथीमा बेच्ने गरेको बताए ।

बालुवा विक्री गरेको रकमबाट पढाई खर्च र खाजा खर्च गर्न सहज भएको भूम बहादुर कंवरको भनाई छ । पारिवारिक अवस्था कमजोर भएका कारण आफ्नो पढाई खर्च जुटाउन आँफै लागि परेको उनले बताए ।

उनले भने– “भर्खर परीक्षा सकियो अव विद्यालय नखुल्दासम्म दिन दिनै ताल किनारमा बालुवा चाल्नु पर्नेछ ।”

यस्तै सोही ठाउँका चन्द्र पुन मगरले विगत ३ वर्षदेखी कुपिण्डे दहको फाँटबाट बालुवा बोक्न थालेको बताउँछन् । विद्यालयमा पाइलानै नटेकेको दुखेसो पोख्दै उनले भने– “बुवा सानै छंदा बित्नुभयो, आमाले काम गर्न नसक्ने अनि मैले नै बालुवा बेचेर घरपविारको खर्च धान्दै आएको छु ।”

बालुवा बेचेर दैनिक ५ सय जति आम्दानी हुने गरेको बताउँदै उनले त्यही खर्चबाट भाइ र बहिनिलाइ पढाइ रहेको र घरपरिवार चलाइ रहेको बताए । संकलन गरेको बालुवा गाउँमै घर बनाउने हरुका लागी बिक्रि हुने गरेको उनले बताए ।

बढ्दो शहरीकरणका कारण ग्रामिण क्षेत्रमा समेत पक्की घर बनाउने होडबाजी चल्दा बालुवाको माग बढ्दै गइरहेको छ ।

यहाँका अधिकांश बालबालिकाले बालुवा बोकेरै पढाइ खर्च जुटाउने गरेको स्थानीय हस्त बहादुर यरीले बताए । विद्यालय समय बाहेक बजार क्षेत्रमा कसैलाइ बालुवाको आवश्यकता पर्यो भने बालबालिकाले बोक्ने गरेको उनले बताए ।

यहाँका स्थानीयको आयस्रोत खासै केहीपनि हुंदैन नुन तेलको सम्म जोहो गर्न नसक्ने परिवारका बालबालिका हरु बालुवा बोक्न जाँदा अरु साथीहरु पनि त्यसै लहलहैमा बालुवा बोक्ने गरेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २०७५ चैत्र २० गते बुधवार