• २०७७ फाल्गुन १८ गते मङ्गलवार
  • Preeti To Unicode

सोनापुर सिमेन्टको मनपरी : दाङमा १७ हजार नागरिकलाई धमिलो पानी खुवायो, स्कुल बन्द बनायो


चैत २४, सल्यान ।

दाङ बेलझुण्डीको सोनापुर सिमेन्ट उद्योगले मनपरी कार्य गरिरहेको छ ।

बेलझुण्डी खानेपानी मुहानको नजिकै सोनापुर सिमेन्ट उद्योगले चुनढुंगा उत्खनन् गर्दा बेलझुण्डीका करिब १७ हजार नागरिकहरु धमिलो पानी खान बाध्य भएका छन् । मुहानको माथीतिर चुनढंगा निकाल्न डोजरहरु लागिरहेका छन् ।

चुनढंगा ल्याउन तथा लैजान आवतजावत गर्ने टिप्परहरुले पनि पानीको मुहानमा प्रत्यक्ष असर गरेका छन् । टिप्पर हिड्दा झारेको माटो झरी परेको बेला भलले बगाएर मुहानमै लैजान्छ । त्यही कारण उपभोक्ताको घर–घरमा त्यही माटो सहितको भमिलो पानी पुग्छ ।

यस विषयमा पटक–पटक ध्यानाकर्षण गराउदा पनि कुनै निकायले ध्यान नदिएको बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष प्रदिप गौतमले बताए । उनले केही समय अघि त्यही धमिलो पानी बोकेर जिल्ला प्रशासन कार्यालयमा पुगेको दुखेसो गर्दै भने– “लेदो सहितको पानी बोकेरै सिडिओ कार्यालय पनि पुग्यौं, तर कुनै पनि निकायबाट सुनुवाई भएन् ।”

त्यहाँ मुहानको पानी प्रसोधनका लागि प्रबिधि पनि जडान गरिएको छ । तर धेरै लेदो भरिदा त्यसबाट पानी बाहिर पोखिने र त्यही लेदोसहितको पानी मुहानहुँदै उपभोक्ताको घर–घरमा पुग्ने गरेकोे अध्यक्ष गौतमले बताए ।

२०७० सालमा सरकारको करिब एक करोड लगानीमा निर्माण भएको उक्त प्रबिधिले पनि काम नगर्ने भएपछि थप प्रबिधि जडान गर्नुपर्ने गौतमको भनाई छ । अब लेदो पस्न नदिनका लागि अर्को प्रबिधि जडान गर्न यस अघि नै लागत स्टिमेट तयार गरेको भएपनि कुनै पनि निकायले त्यसतर्फ चासो नदिएको उनको गुनासो छ ।

चुनढुंगा उत्खनन् स्थलसम्म सडक ट्रयाक खोल्दा उत्पन्न भएको ढुंगा, माटोजन्य पदार्थले लेदो भरिन थालेको भन्दै यसमा सडक, खानेपानी, तथा उपमहानरपालिका पनि जिम्मेवार निकाय रहेको उनले बताए । गएको चैतदेखि शुरु भएको उत्खनन्ले त्यहाँ नजिकैको खोला सुख्खा भएको जानकारहरु पनि बताउछन् ।

उनले भने– “उत्खनन् भएको एक बर्ष भयो, त्यो भन्दा अघि खोलामा पानी बग्थ्यो, तर अहिले त्यहाँ सुख्खा भएको छ ।” यो सबै उत्खनन्कै प्रभाब भएको उनको भनाई छ ।

तुलसीपुरको बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा अहिले तुलसीपुरको १६, १७, १८ र १९ का करिब १७ हजार बढि नागरिकलाई पानी खुवाउँदै आएको छ । संस्थाका अध्यक्ष गौतमका अनुसार तिन हजारबढि घरहरुमध्ये निजि, सार्बजनिक, संस्थागतगरि एकहजार दुईसयबढी धाराहरुबाट पानी बितरण गरिएको छ । तर अबको केही समय पछि ति धारामा पानी पुग्दैन की भन्ने उनको चिन्ता छ ।

त्यसैगरी सोनापुर सिमेन्टकै कारणले रोल्पा रन्टिगडी गाउँपालिका वडा नम्बर ६ गोदेमाको बस्ती उजाड भएको छ । त्यहाँ पहिले मानव बस्ती थियो । त्यस स्थामा डेढबर्ष अघि ५५ घरधुरी सम्म बस्थे ।

तर अहिले त्यहाँ जाँदा घर थिए, या थिएनन भन्ने कुनै अबशेष छैन् । अहिले त्यस स्थानमा उद्योगका डोजरले चुनढंगा निकालिरहेका हुन्छन् । यो बस्ति पनि सिमेन्ट उद्योगले किनेको जानकारहरु बताउछन् । त्यहाँका बासिन्दाहरुले एकलाख रुपैयाँ रोपनीमा जग्गा सिमेन्टलाई बेचेर दाङ झरेको छिमेकी गाउँका स्थानीयहरु ब्ताउछन् ।

त्यस्तै तुलसीपुर १९ छिल्लीकोटका बिद्यार्थीहरुले पढ्ने विद्यालयलाई पनि सोनापुर सिमेन्टले बन्द गराएको छ । विद्यालयका तीन वटा भवनहरु अझै बाँकी छन् । तर त्यो बिद्यालय पनि एक बर्ष अघिदेखि बन्द भएको छ ।

कक्षा ५ सम्म सञ्चालित बिश्रामथली बिद्यालय अहिले सोना सिमेन्ट उद्योगको सम्पर्क कार्यालय बनेको छ । अनुगमनका क्रम तथा कोही पाहुना गएमा सम्पर्क गर्ने तथा चियापान गर्ने थलोको रुपमा उक्त विद्यालय रहेको छ । विद्यालय बन्द भएपछि छिल्लीकोटबा बिद्यार्थीहरु टाढाटाढा जानु पर्ने बाध्यता रहेको स्थानीयले गुनासो गरे ।

यस बिषयमा सोनापुर सिमेन्ट उद्योगका महाप्रबन्धक हरि पाठलले अहिले मापदण्ड अनुसार नै सञ्चालन भएको भएपनि खानेपानीका सन्दर्भमा केही टिकाटिप्पनी हुने गरेको भन्दै यो समस्या समाधानका लागि सिमेन्ट उद्योग तयार रहेको बताए । उनले आफुहरु राज्यको नीति,नियम तथा मापदण्डमा रहेर सञ्चालन भएको समेत दाबी गरे ।

यसैबिच तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले वातावरणीय प्रभाब मुल्यांकन अनुसार चुनढुंगा उत्खनन् गर्न सिमेन्ट उद्योगलाई आग्रह दिएका छन् । उनले जनताको स्वास्थ्य र वातावरणलाई पनि ध्यान दिएर ईआईए र आर्ईईए अनुसार मात्रै उत्खनन् गर्न आग्रह गरे ।

उनले अनुगमन गर्ने निकायले पनि स्वतन्त्रपूर्बक गर्नुपर्ने तथा सामुदायको आबश्यकताका आधारमा उद्योग चल्नु पर्ने बताए । उत्खनन् गर्दा ढुंगा खस्ने अबस्था रहने भन्दै चारैतिर ग्याबिन तार राख्न निर्देशन दिए ।

प्रकाशित मिति : २०७५ चैत्र २४ गते आइतवार