चैत २५, सल्यान ।
सल्यानको एउटा सामुदायीक वनले ८५ घरधुरीलाई निशुल्क ग्यास–चुलो र पानी छान्ने फिल्टर वितरण गरेको छ ।
जिल्लाको बागचौर नगरपालिका वडा नम्बर ८ मा रहेको उच्च ठामुरकोट सामुदायीक वन उपभोक्ता समितीले उपभोक्ता समितीका ८५ घरपरिवारलाई ग्यास–चुलो र पानी छान्ने फिल्टर वितरण गरेको हो । वनबाट प्रयोग हुने दाउराको कमी होस् भन्ने उदेश्यले ग्यास वितरण गरिएको समितीका अध्यक्ष लिला बहादुर बुढाथोकी बताए ।
साविकको कोटमौला गाविसमा पर्ने गैरागाउँ र विउरेखोलाका उपभोक्ता समितीहरुलाई सोमबार वितरण गरिएको हो । करिब ७ लाख रुपैयाँको लागतमा ग्यास–चुलो र पानी छान्ने फिल्टर वितरण गरिएको समितीका कोषाअध्यक्ष लक्षिराम बुढाथोकीले बताए ।
वनबाट उत्पादन भएको खोटो, काठको दार, संकलित रुपैयाको व्याजबाट भएको आम्दानीले यस्तो कार्यमा लगानी गरिएको समितीका सचिव पवित्रा शर्माले बताए ।