• २०७७ फाल्गुन २४ गते सोमवार
  • Preeti To Unicode

सल्यानमा ५५ बर्ष अघि खनेर अलपत्र परेको सडक पुनः खनिने भयो


चैत २६, सल्यान ।

सल्यानमा ५५ बर्ष अघि ट्रयाक खोलिएर अलपत्र परेको सडक पुनः खनिने भएको छ ।

जिल्लाको शारदा नगरपालिका १० मदनाबाट पैयाखर्क हुँदै कालिमाटी गाउँपालिकाको लक्ष्मीपुर जोड्ने सडक पुनः निर्माण तथा स्तरउन्नतीको लागी सोमबार शिलन्यास गरिएको छ । २०२० सालमा तत्कालिन मन्त्री नेबबहादुर मल्लले शिलन्यास गरेको सडक ५५ बर्षसम्म अलपत्र परेको थियो ।

अब यो सडकलाई कर्णाली प्रदेश सरकारको पहलमा सुचारु हुने भएको हो । त्यसका लागी तत्काल ४ किलोमिटर सडक खन्न प्रदेश सरकारले ५० लाख बजेट बिनियोजन गरेको छ । सडकको शिलन्यास सोमबार कर्णाली सरकारका आर्थिक योजना तथा मामिला मन्त्री प्रकाश ज्वालाले गरेका हुन् ।

उनले अहिले किलोमिटर सडक खनिए पनि आगामी बर्ष सडकको लक्ष्य पुरा गर्ने बताएका छन् । मदनाबाट पैयाखर्क हुँदै लक्ष्मिपुरसम्म यो सडक करिब १० किलोमिटर भन्दा धेरै भएको सडक उपभोक्ता समितीका अध्यक्ष भिम बहादुर खडकाले बताए ।

उनका अनुसार तत्कालिन समयमा जनश्रमदान मार्फत यो सडकको ट्रयाक खोलिएको थियो । २०२० सालमा सुरु गरिएपनि २०५६ तिर पुर्ण रुपमा सडक खन्ने काम भएको थियो ।

पर्यटकिय क्षेत्र लक्ष्मीपुरको त्रिकोटेश्वर मन्दिर सँग जोडिएको सडक साघुरो र अप्ठेरो भएकाले स्तरबृद्धि गर्न लागीएको कालीमाटी गाउँपालीका वडा नम्बर १ का वडा अध्यक्ष रबिलाल बस्नेतले बताए ।

सडकलाई तत्कालीन जिविसअन्तर्गत सञ्चालित विश्व खाद्य कार्यक्रमले निर्माण गर्न चासो देखाएको थियो । तर द्वन्द्वको समय भएकाले तत्कालिन विद्रोही माओवादीले अवरोध गरेका कारण बिचैमा अबरुद्व भएको स्थानीय वृद्ध कर्णबहादुर भण्डारीले बताए ।

सडकको शिल्यानास गर्दै कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कोटी सँग पर्यटक क्षेत्रलाई प्रचार प्रसार गर्नको लागी पनि यो सडक आबश्यक भएको बताएका छन् । यो सडक पर्यटक सडक भएकाले कालीमाटी रामपुर सँग जोडने पनि उनले बताए ।

यो सडकको योजना भने खलंगा–लक्ष्मीपुर–रामपुर–काल्चे हुँदै नेपालगन्ज जोड्ने रहेको थियो ।

प्रकाशित मिति : २०७५ चैत्र २६ गते मङ्गलवार