सुदर्शनकी छोरीले दिएको बन्दी प्रत्येक्षीकरणको रिट सर्वोच्चद्वारा खारेज


चैत २७, काठमाडाै ।

विप्लव नेतृत्वकाे प्रतिबन्धीत दल नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा मध्य कमाण्ड इन्चार्ज हेमन्त प्रकाश ओली ‘सुदर्शन’की छोरीले दिएको बन्दी प्रत्येक्षीकरणको रिट सर्वोचच अदालतले खारेज गरिदिएको छ ।

बुधबार अदालतका न्यायधीशद्वय अनिलकुमार सिन्हा र टंक मोक्तानको संयुक्त इजलासले सुदर्शनकी छोरी विपना ओलीले दिएको बन्दीप्रत्येक्षीकरणको रिट खारेज गरिदिएको हो । नेकपाका तेस्रो बरियताका नेता ओलीलाई बुधबार नै सर्वोच्च अदालत उपस्थित गराइएको थियो ।

विपनाले चैत १३ गते आफ्ना बुवालाई प्रहरीले गैरकानुनी थुनामा राखेकाले थुनामुक्त गर्न आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दिएकी थिइन्।

नेकपा नेता सुदर्शनसहित ९ जनालाई गत चैत ९ गते प्रहरीले काभ्रेको खानीखोला गाउँपालिका-४ बरूणबेसीबाटबाट गिरफ्तार गरेर ललितपुर ल्याएको थियो । नख्खु बिस्फोटको जिम्मेवारी लिएसँगै प्रहरीको सर्वाधिक खोजीमा सुदर्शनलाई महानगरीय प्रहरी अपराध महाशाखा विशेष ब्युरो र काभ्रेको प्रहरी टोलीले गिरफ्तार गरेको थियो ।

प्राइभेट जिपमा काठमाडौं आउने क्रममा प्रहरीले चेकजाँच गर्दा उनीसहित धर्म राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी, विजय श्रेष्ठ, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्का पनि गिरफ्तार परेका थिए।

गिरफ्तार परेका सबै नेता कार्यकर्तालाई प्रहरीले नख्खुमा एनसेल टावरमाथि भएको बम बिस्फोटको घटनामा संलग्न रहेको भन्दै हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । नख्खुमा बम बिस्फोट भएकै दिन कमलपोखरीको आँगन मिठाइ पसलअगाडि रिमोट कन्ट्रोल बम राखिएको थियो।

प्रकाशित मिति : २०७५ चैत्र २७ गते बुधवार