• २०७७ फाल्गुन १६ गते आइतवार
  • Preeti To Unicode

सल्यानमा फलाम देखि सिसा खानीसम्म भेटिए, तर लगानी भएन्


चैत २७, सल्यान ।

सल्यानमा भएका खनिज पदार्थका खानीहरु लगानी अभावमा उत्खनन हुन सकेका छैन् ।

चारैतिर पहाडले घेरिएको सल्यान खनिज पदार्थमा धनी मानिन्छ । यहाँका धेरै ठाउँमा कोइला, चुनढुंगा, फलाम, सिसा र पत्थरको खानी रहेको खानी तथा भूगर्भ विभागको अध्ययनले देखाइसकेको छ । तर त्यसको उत्खनन अवस्था भने शून्य रहेको छ ।

कार्णली प्रदेशमा पर्ने सल्यानमा थुप्रै खनिज पदार्थ भएको भन्दै धेरै नेताहरुले भाषण गर्ने गरेका छन् । उनिहरुले यहाँ छिटै लगानीकर्ता भित्र्याउछौँ भनेको पनि बर्षै वितेको छ । तर लगानी अहिलेसम्म शुन्य छ । जसले गर्दा उत्खनन् हुन सकेको छैन् ।

खानी तथा भूगर्भ विभागले २०४० तिर गरेको अध्ययनमा सल्यानको खामेलेक र आसपासका अन्य लेकमा चुनढुंगा भएको पत्ता लाग्यो । अहिलेसम्म यसको उत्खननमा सरकारले चासो देखाएको छैन् ।

शारदा नगरपालिका ६ का वडाध्यक्ष भिकराज बुढाथोकीले भने– “अहिलेसम्म चुनढुंगा छ भन्ने मात्र भएको छ, तर उत्खननका लागि कुनै चासो दिइएको छैन, उत्खनन भएर प्रयोगमा आएन भने खानी छ भनेर भन्नुको के अर्थ रह्यो र ?” उनका अनुसार एक सिमेन्ट उद्योगले यहाँ चुनढुंगा उत्खननका लागि सरकारसँग सम्झौता समेत गरेको थियो ।

गत वर्ष यहाँ उद्योगका प्राविधिक आएर निरीक्षणसमेत गरेका थिए । वातावरणीय प्रभाव न्यूनीकरण गरी सोही स्थानमा उद्योग सञ्चालन गर्नुपर्ने स्थानीयले माग राखेपछि प्राविधिक फर्किएका थिए ।

जिल्लाको खामेलेख, फलाटे, बाझकाँडा र त्रिवेणीमा चुनढुंगा खानी भएको खानी तथा भूगर्भ विभागले बताएको छ । पाखापानी, मर्चेबारी र घुरचौरमा कोइला खानी भएको पनि खानी तथा भूगर्भ विभागको तथ्याकंमा छ । कोछट्टेमा सिसा खानी र कुमाख गाउँपालिका तथा शारदा नगरपालिका ७ लेकमा फलाम खानी भएको अध्ययनले देखाएको छ ।

कपुरकोटको पाखापानीबाट ठेकेदारले कोइला निकाल्न थाले पनि बीचैमा छाडेकाले त्यत्तिकै रहेको छ । पाखापानी क्षेत्रको खानीमा कति कोइला छ भन्ने स्पष्ट नखुलेको कपुरकोट गाउँपालिकाका अध्यक्ष भीमबहादुर सेने बताउछन् । प्रारम्भिक सर्भे गरेर कोइला रहेको पहिचान गरे पनि उत्खनन गर्नेततर सरकारले ध्यान नदिएको उनको भनाइ छ ।

कालीमाटी गाउँपालिकाको मर्चेबारी र घुरचौरमा ५० वर्षसम्मका लागि उत्खनन गर्न सकिने कोइला रहेको अध्ययनबाट देखिएको छ । कोछट्टेमा सिसा खानी पनि छ । उक्त गाउँपालिकाका अध्यक्ष दानबहादुर खत्री सम्बन्धित निकायले कोइला निकाल्न चासो नदिँदा आर्थिक समृद्धिको ठूलो स्रोत भूगर्भमै दबिएर रहेको बताउँछन् ।

उनले भने– “हाम्रा युवाहरू काम नपाएर कालापहाड (भारत) गइरहेका छन्, हामी भने सम्भावना छ भन्दै गफ गरेर बसिरहेका छौं, सरकारले खानीमा लगानी गरेको भए त एकातिर स्थानीयलाई रोजगारी मिल्थ्यो, अर्कोतिर खानीबाट खनिज पनि निस्किन्थ्यो ।” सरकारले बजेट दिएमा स्थानीय तहलाई खानी उत्खननको जिम्मा लिन कुनै गाह्रो नहुने उनले बताए ।

कोछुट्टेबाट करिब २० वर्षअघिसम्म स्थानीयले सिसा निकालेर बिक्रीसमेत गर्दै आएका थिए । आफैं पनि प्रयोग गर्थे । अहिले पुरिएको छ ।

त्यसैगरी कजेरी लेकका ७५ वर्षीय सुकवीर विकले युवा अवस्थासम्म फलाम खानीबाट कच्चा पदार्थ घरमा ल्याई पगालेर हँसिया, खुर्पा, खुकुरी, चक्कुलगायत सामान बनाएको बताउछन् । करिब पाँच दशकअघि वर्षातको समयमा आएको पहिरोले खानी पुरेको उनले बताए ।

उनले भने– “त्यसपछि त हामीले फलाम निकाल्नै छोड्यौं, सरकारले चाहने हो भने त पहिरोभित्र जति पनि फलाम लुकेर बसेको छ ।” विकका अनुसार खानीबाट निकालिएको कच्चा पदार्थलाई फलाममा परिणत गर्न निकै समय लाग्थ्यो । दाउरा धेरै खर्च हुन्थ्यो । स्थानीयले दुःख गरेर फलाम बनाउँथे ।”

स्थानीयका अनुसार वनगाड–कुपिन्डे नगरपालिका १२ स्थित निगालचुलामा चमकदार पत्थर रहेको छ । अहिलेसम्म सरकारी स्तरबाट अध्ययन हुन नसकेको उनीहरूको गुनासो छ । ‘यहाँको पत्थर अध्ययन गरी उत्खनन गर्ने हो भने यसले धेरै राम्रो प्रतिफल दिन सक्छ,’ स्थानीय दीर्घबहादुर पुन भन्छन्, ‘यसमा सरकारको ध्यान छैन, अरू कसले हेर्ने ?’

लाइसेन्सको कामै भएन्

अहिले धेरैजसो खानीको लाइसेन्स वितरण भइसकेका छन् । लाइसेन्सधारीहरू काम नगरी बसेका छन् । यसले पनि खानीबाट कच्चा पदार्थ उत्खनन हुन सकेको छैन । खानी तथा भूर्गभ विभागले हालसम्म सल्यानका लागि पाँच कम्पनीले लाइसेन्स लिएका जनाएको छ ।

विभागका प्रमुख सोमनाथ सापकोटाका अनुसार त्रिवेणीमा रहेको चुनढुंगा उत्खनन गर्न विश्वकर्मा सिमेन्ट कारखानाले ०६२÷६३ मा लाइसेन्स लिएको थियो । यो खानी पाँच किलोमिटर क्षेत्रफलमा फैलिएको छ । कुमाख गाउँपालिकामा रहेको फलाम खानी उत्खनन गर्न ०७५÷७६ मा सुवास कास्यपति इन्डस्ट्रिजले लाइसेन्स लिएको छ ।

यो फलाम खानी २१ वर्गकिलोमिटरमा फैलिएको छ । कपुरकोटमा रहेको चुनढुंगा उत्खनन गर्न शिवस्वरूप खनिज उद्योगले ०७३÷०७४ मा लाइसेन्स लिएको छ । त्यस्तै सिद्धकुमाख गाउँपालिकाको ढोडचौर क्षेत्रबाट चुनढुंगा उत्खनन गर्न शोभा भण्डारी कन्स्ट्रक्सनले ०७५÷७६ मा र क्यालसाइट उत्खनन गर्न साइजेम्स माइन्स एन्ड मिनरलले ०७२÷०७३ मा लाइसेन्स लिएका छन् ।

बगैश्री कोल इन्डस्ट्रिजले केही १० वर्षअघि कपुरकोट र काभ्राबाट कोइला निकालेको थियो । इन्डस्ट्रिजका प्रमुख दिनेश डाँगीका अनुसार कोइला गुणस्तरीय नभएपछि दुई महिनामै उत्खनन कार्य रोकिएको थियो ।

फाेटाे फाइल

प्रकाशित मिति : २०७५ चैत्र २७ गते बुधवार