• २०७७ फाल्गुन १६ गते आइतवार
  • Preeti To Unicode

काँग्रेसले गर्दा नै देश गरिबीमा डुब्यो : झलनाथ खनाल


चैत ३०, काठमाडौं ।

नेकपाका नेता झलनाथ खनालले ठूलो संख्यामा युवाहरु बिदेसिनुमा नेपाली कांग्रेस जिम्मेवार रहेको आरोप लगाएका छन् ।

काठमाण्डौ महानगरपालिका वडा नम्बर १५ले नयाँ वर्षको सन्दर्भमा शनिबार भुइँखेलमा गरेको कार्यक्रममा सत्तारुढ दल नेकपाका नेता एवं पूर्व प्रधानमन्त्री खनालले सरकारको नेतृत्वमा रहेका बेला नेपाली कांग्रेसले केही गर्न नसकेका कारण युवा जनशक्ति बिदेसिन बाध्य भएको बताएका हुन् ।

२०४६ साल यता पटक पटक सरकारको नेतृत्व गरेको कांग्रेसले अवसर पाउँदा मुलुक र मुलुकवासीका लागि उपलब्धिमूलक काम गर्न नसकेको टिप्पणी गरे ।

उनले भने- “नेपाली कांग्रेसका साथीहरुले हामी गर्छौँ भनेर अहिले गफ लगाउनुभएको छ । तर ४६ साल पछाडि अवसर प्राप्त भएको हैन ? पटक पटक बहुमत प्राप्त भएको होइन । तर के गर्नुभो ? सारा देशलाई गरिबीमा डुबाउनुभयो । सारा देशमा बेरोजगारीमा डुबाउनु भो ।”

झण्डै ५० लाख भन्दा बढी युवाहरु विदेशमा जान बाध्य भइरहेको भन्दै उनले यो बाध्यता काँग्रेसले खडा गरेको आरोप लगाए । उनले भने- ” नेपाली कांग्रेसका साथीहरुलाई म एक पटक आफ्नो अनुहार ऐनामा हेर्न भन्न चाहन्छु ।”

प्रकाशित मिति : २०७५ चैत्र ३० गते शनिवार