• २०७८ असोज ४ गते सोमवार
  • Preeti To Unicode

सगरमाथा सफाइमा २ करोड ३२ लाख खर्च


बैशाख २, काठमाडौं ।

सरकारले यही अप्रिलदेखि जुनसम्म ४५ दिने सगरमाथा सफाइ अभियान सुरु गरेको छ। यो अभियानमा सगरमाथाबाट पाँच हजार र सरमाथाआसपासबाट पाँच हजार किलोग्राम फोहोर संकलन हुनेछ।

अभियानका लागि दुई करोड ३२ लाख रुपैयाँ खर्च गर्ने गरी सगरमाथा हिमाल सफाइ अभियान सञ्चालन गरिएको पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए। उनले भने, ‘नेपालको पर्वतारोहण पर्यटनको अन्तर्राष्ट्रिय छविलाई सुधार गर्न र यो क्षेत्रलाई स्वच्छ बनाउन सफाइ अभियान सुरु गरिएको हो।’ अभियानमा सरकारले निजी संघसंस्थासँग सहकार्य गरेको छ।

यसका लागि सरकारले नेपाल पर्यतारोहण संघ, सगरमाथा प्रदूषण नियन्त्रण समिति, सगरमाथा राष्ट्रिय निकुन्ज मध्यवर्ती क्षेत्र, वन तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड, खुम्बु पासाङल्यामु गाउँपालिका र नेपाली सेनासँग सहकार्य गरेर सफाइ अभियान सञ्चालन गर्नेछ।

यो अभियानले सगरमाथा क्षेत्रमा रहेको र वर्षौंदेखि उठाउन नसकेका शवलाई पनि उठाइनेछ। सगरमाथाको पाँच हजार मिटर माथि ज्यान गुमाएका आरोहीका शव वर्षौंसम्म उठ्न सकेका छैनन्। सफाइ अभियान १२ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा अप्रिलदेखि जुन महिनासम्म सञ्चालन गरिनेछ।

बर्सेनि मनाइँदै आएको अन्तर्राष्ट्रिय सगरमाथा दिवस मे २९ का दिन संकलित फोहोरका साथ नाम्चेमा प्रदर्शन गरिनेछ। त्यसपछि नाम्चेमै फोहोर प्रशोधन गरिने र त्यसपछि बाँकी रहेको ठोस फोहोरलाई मात्रै काठमाडौं ल्याइने छ।

प्रकाशित मिति : २०७६ बैशाख २ गते सोमवार