• २०७८ असोज १२ गते मङ्गलवार
  • Preeti To Unicode

प्रधानमन्त्री ‘केपी ओलीकी छोरी’ले सल्लाको दियालो बालेर पढ्छिन्


नन्दबहादुर रोकाया / बैशाख २, मुगु ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो वर्ष वैशाख १ गते रारामा विद्यालय भर्ना अभियानको सुरुवात गरेका थिए ।

विद्यालय भर्ना अभियानसँगै प्रधानमन्त्री ओलीले एक बालिकालाई छोरी भनेर सम्बोधन गरी काखमा च्यापेर भर्ना गराएका थिए । ठिल्लेका बुवा छैनन् । आमा, बाजेबजै र एक बहिनी छन्। ठिल्ले साङमु लामा गाउँमा प्रधानमन्त्रीकी छोरीका रूपमा चिन्ने गर्दछन्। उनलाई सबैले प्रधानमन्त्रीकी छोरी भनेर बोलाउँछन् ।

“सबैले मलाई प्रधानमन्त्रीकी छोरी भन्छन्”– उनी भन्छिन– “म पनि पढेर ठूलो भए प्रधानमन्त्री बन्छु ।” शिक्षकका भनाइमा शान्त शालीन स्वाभावकी ८ वर्षीयाकी ठिल्ले साङमु पढाइमा, सरसफाइमा राम्री र एक असल छात्रा हुन् ।

घरायसी कामदेखि नियमित विद्यालय आउने पढाइमा पनि राम्रो ज्ञान भएकी ठिल्ले साङमु लामा यो वर्ष कक्षा १ बाट प्रथम भई कक्षा २ मा प्रवेश गरेकी बुद्ध मावि माग्रीका निमित्त प्रधानाध्यापक चित्रबहादुर ओलीले बताए । विद्यालयमा पनि ठिल्ले साङमुलाई प्रधानमन्त्रीकी छोरी भनेर अन्य विद्यार्थीले चिन्ने गरेका प्रधानाध्यापक ओलीको भनाई छ ।

सल्लाको दियालो बालेर पढ्छिन्

प्रधानमन्त्री छोरी ठिल्ले साङमु लामाको घरमा उज्यालो गर्ने कुनै साधन छैन । उज्यालोका लागि सल्लाको दियालो प्रयोग गर्ने गरिन्छ । तर, त्यो सजिलै पाइँदैन ।

उज्यालोका लागि सल्लाको दियालो ल्याउन एक दिनभरि जंगल जाने गरेको आमा छिजु तामाङ लामाले बताइन् । घरमा उज्यालो गर्ने अन्य साधन नभएपछि सल्लाको दियालो बाल्ने गरेका छौँ ।

“छोरीले पनि अध्यारोको समय सल्लाको दियालो बालेर पढ्ने गरेकी छिन्। विद्यालयमा कस्तो पढ्छिन्, थाहा छैन् । तर, घरमा घरायसी समस्याले पढ्न खासै पाउँदिनन्– “उनले भनिन्– “सोलार किन्ने पैसा छैन। खेतीपाती गरौँ, जग्गा छैन् । तीन महिनासम्म पनि खाना पुग्दैन् । श्रीमान् तीन वर्ष पहिले बित्नुभयो । सबै जिम्मेवारी ममाथि थपिएको छ । प्रधानमन्त्रीले छोरीलाई स्कुल त भर्ना गरिदिनुभयो । कापी कलम किन्नै समस्या छ । ”

राधिका शाक्यकी छोरी

रारामा भर्ना गराएका ८ जना विद्यार्थीमध्ये प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्यले भर्ना गराएकी छिरिङ छेम्जोम स्कुल त जान्छिन् तर उनको पढाइ राम्रो नभएको विद्यालयले जनाएको छ ।

उनी पनि प्रधानमन्त्री ओलीले भर्ना गराएकी ठिल्ले साङम लामा पढ्ने विद्यालय बुद्ध मावि माग्रीमा नै पढ्छिन् । उनको पढाइ खासै राम्रो नभएको र विद्यालयमा पनि नियमित नआउने गरेको विद्यालय जनाएको छ । छिरिङ छेम्जोम लामा कक्षा २ बाट ३ मा प्रवेश गरेकी छन्। छिरिङ छेम्जोमको पनि बुवा छैनन् ।

उनका बुवालाई चार वर्ष अघि यार्सा संकलनका क्रममा लुटेराले मारेको थियो। घरमा आमा दुईबहिनी भएकी छिरिङ छेम्जोमको घरमा पनि प्रधानमन्त्रीकी छोरी ठिल्ले साङमुको जस्तै छ । एकल आमाले अर्काको काम गर्न गरेर बालबच्चाको पालनपोषण गर्दै आएकी छन्।

थाहा खबरमा प्रकाशित सामाग्री

प्रकाशित मिति : २०७६ बैशाख २ गते सोमवार