• २०७७ फाल्गुन १३ गते बिहिवार
  • Preeti To Unicode

समाचार लेखेकै कारण पत्रकार गिरी पक्राउ, रिहा नगरिए कठोर संघर्षमा उत्रने महासंघको चेतावनी


बैशाख २, पोखरा ।

ठगीको समाचार लेखेकै भरमा साइबर अपराध मुद्दामा पोखराका पत्रकार अर्जुन गिरी पक्राउ परेका छन् ।

तान्डव न्युज साप्ताहिक तथा अनलाइनमा बतास अर्गनाइजेसनका सञ्चालक विपेन्द्र बतासले ठूलो रकम ठगी गरेको जाहेरी परेपछि गिरीले त्यसैलाई आधार बनाएर समाचार लेखेका थिए । साइबर अपराध मुद्दामा उजुरी परेपछि केन्द्रीय अनुसन्धान व्युरोको आग्रहमा जिल्ला प्रहरी कार्यालय कास्कीले गिरीलाई पक्राउ गरी अनुसन्धानका लागि सोमबारै काठमाडौं पठाएको छ ।

साइबर अपराध मुद्दामा पक्राउ गरी काठमाडौं पठाउने निर्देशन अनुसार पक्राउ गरी पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी रबिन्द्रमान गुरुङले जानकारी दिए । ‘सिआइबीले पक्राउ गरेर पठायो,’ उनले भने, ‘के उजुरी परेको हो । हामीलाई थाहा छैन मुद्दा केन्द्रले नै हेर्छ।’ गिरीले गत चैत २२ गते शुक्रबार ठग बिपेन्द्रराज बतास शीर्षकमा ताण्डव न्यूजमा समाचार लेखेका थिए ।

पोखरा–६ का व्यवसायी मनोज श्रेष्ठ र जनकराज पराजुलीले विपेन्द्रले ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी गरेका थिए । गिरीले उनीहरुको जाहेरीलाई उधृत गर्दै श्रेष्ठबाट १ करोड ९८ लाख र पहारीबाट २ करोड २५ लाख रुपैयाँ बतासलाई ठगी आरोप लागेको समाचार लेखेका थिए ।

समाचार प्रकाशित भएपछि विपेन्द्रले साइबर अपराध मुद्दा हालेका थिए । सोमबार अदालतमार्फत पक्राउ पुर्जी आएपछि कास्की प्रहरीले पक्राउ गरी काठमाडौं पठाएको प्रहरीले जनाएको छ । गिरीले पोखरामा क्राइम बिटमा कलम चलाउँदै आएका छन् ।

यसैबिच घटनाको विरोध गर्दै नेपाल पत्रकार महासंघले कडा अपत्ती जनाएको छ । महासंघका केन्द्रीय महासचिव रमेश विष्टले आज एक विज्ञप्ती जारी गर्दै घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

समाचारको बिषयलाई लिएर चित्त नबुझेमा नियमनकारी निकाय प्रेस काउन्सिलमा उजुरी गर्ने प्राबधानलाई लत्याउदै पत्रकारमाथि विद्युतीय कारोबार ऐनमा कारबाही चलाउनु आपत्तीजनक भएको विज्ञप्तीमा जनाइएको छ ।

विज्ञप्तीमा भनिएको छ– “पत्रकारले स्वतन्त्रतापूर्वक समाचार लेख्न पाउने संवैधानिक अधिकारमाथि भएको यो हस्तक्षेपले प्रेस स्वतन्त्रता हनन भएको महासंघको ठहर छ । महासंघ सम्पादक गिरीलाई तत्काल रिहाईको माग गर्दै प्रहरीको यस्तो ज्यादतीको घोर भत्र्सना गर्दछ ।”

साथै प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न र पत्रकारलाई स्वतन्त्र र निर्र्भीकरूपमा काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग महासंघले माग गरेको छ । समाचार लेखेकै आधारमा पटकपटक विद्युतीय कारोबार ऐन प्रयोग गरेर पत्रकार पक्राउ गर्ने काम तत्काल नरोकिए महासंघ कठोर संघर्षमा उत्रन बाध्य विज्ञप्तीमार्फत चेतावनी दिइएको छ ।

हेर्नुहोस् विज्ञप्ती

 

प्रकाशित मिति : २०७६ बैशाख २ गते सोमवार