ओमप्रकाश गुप्ता / बैशाख २, भालुबाङ ।
दाङ देउखुरीको राप्ती गाउँपालिका २ बराखुट्टीमा रहेको करम्दी सामुदायिक वनमा भीषण आगलागी भएको छ ।
सोमवार विहान ११ः३० बजेबाट शुरु भएको आगो अहिले झन भिषण रुप लिएको छ । आगो लागेको थाहा पाउने वित्तिकै सामुदायिक वनका पदाधिकारी र उपभोक्ता आगो नियन्त्रणका लागि त्यस तर्फ गएपनि आगो लागेको ठाउँ सम्म पुग्न नसकेर फर्केको सामुदायिक वनकी अध्यक्ष सरस्वता पोख्रेलले जानकारी दिएकी छिन् ।
भौगोलिक हिसावले निकै विकट र पहाडी चुरे क्षेत्र आगो लागेकाका कारण बारुतयन्त्र समेत जान सक्ने अवस्था नरहेको अध्यक्ष पोख्रेलले बताइन् । अहिले राती भइसकेकाले भोली विहानै उपभोक्ता, प्रहरी प्रशासन सहितको टोली जाने तयारी भएको अध्यक्ष पोख्रेलले बताइन् ।
आगो करिव १० विगाह क्षेत्रफलमा फैलिएको छ । आगलागीबाट बोट विरुवा, जडीबुटी जलेर खरानी भइसकेको छ आगो समयमै नियन्त्रण नगर्ने हो भने छिमेकी सामुदायिक वन सम्म फैलिन सक्ने बताइएको छ ।
आगो कसले र किन लगाएको खुल्न सकेको छैन । पछिल्लाे समय वन डढेलो नियन्त्रण सम्बन्धी थुप्रै कार्यक्रम भए पनि त्यो प्रभावकारी हुन सकेको छैन् ।