• २०७७ फाल्गुन १५ गते शनिवार
  • Preeti To Unicode

भेरीदेखि बबईसम्म सुरुङ खनेर सकियो, अब विद्युत निकाल्ने र सिचाँइ गरिने


बैशाख ३, सुर्खेत ।

राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण सकिएको छ । ०७४ कार्तिक २० देखि बबई किनारबाट भित्र पसेको टनेल बोरिङ मेसिन (टीबीएम) मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले रिमोट थिचेर बाँकी रहेको दुई सय मिटर खण्ड ब्लास्ट गर्दै भेरी किनारमा निकालेका हुन् ।

सुरुङ खन्ने काम गत साता नै सकिएको भएपनि औपचारिक घोषणा हुन बाँकी थियो । मंगलबार प्रधानमन्त्री ओली, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षामान पुन, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही लगायतको उपस्थितिमा आयोजना अन्तर्गत सुरुङ खन्ने मुख्य चुनौतीपूर्ण काम सकिएको घोषणा गरिएको आयोजना निर्देश सञ्जीव बरालले जानकारी दिए ।

नेपालमै पहिलो पटक टनेल बोरिङ मेसिन (टीबीएम) को प्रयोग गरिएपछि ०७६ चैत १५ सम्म सक्नुपर्ने सुरुङ निर्माण एक वर्ष अगाडि नै पूरा भएको उनले बताए । टीबीएमले सुर्खेतको भेरीगंगा नगरपालिकाको हात्तिखालबाट चिप्लेसम्म ४ दशमलव २ डायमीटरको कूल १२ दशमलव २१० किलोमिटर लम्बाइको सुरुङ खनेको हो ।

विगतको जस्तो ड्रिलिङ र ब्लास्टिङ जस्ता परम्परागत ढंगबाट भन्दा टीबीएम मेसिनबाट १० गुणा बढी दैनिक २० मिटर सुरुङ खनेपछि लक्ष्य भन्दा अगाडि नै सम्पन्न भएको छ । आयोजना अन्तर्गत हात्तीखालदेखि ६ किलोमिटर दूरीमा पर्ने तोलीखोलाको सुरुङको ‘फल्टजोन’ मा पनि टीबीएमले सफलतापूर्वक काम गरेको थियो । जोखिमपूर्ण मानिएको उक्त चुरे पर्वत पार गरेसँगै यो नमूना आयोजना सफल भएको छ ।

भेरी नदीको पानीलाई १२ किलोमिटर लामो सुरुङमार्फत बबईमा खसालेर विद्युत उत्पादन गर्ने र बाँके–बर्दियामा सिञ्चाई सुविधा पुर्‍याउने आयोजनाको लक्ष्य छ । सिञ्चाइ अभावमा बाँझो हुने बाँके र बर्दियाका खेतियोग्य जमिन आयोजना बनेपछि सिञ्चाई हुनेछ ।

आयोजनाबाट दुई जिल्लाका ५१ हजार हेक्टर जमिनमा सिँचाई सुविधा पुग्नेछ । बाह्रै महिना सिञ्चाइ उपलब्ध भएपछि कृषि उत्पादन बढ्न अपेक्षा छ । पहिलो चरणमा सुरुङ निर्माण, दोस्रो चरणमा विद्युत् उत्पादन र तेस्रो चरणमा बाँके–बर्दियामा सिञ्चाइ योजना विस्तार गर्ने योजना छ ।

चिप्लेबाट १५ मिटर अग्लो बाँध बनाई प्रतिसेकेण्ड ४० घनमिटर भेरीको पानी बबईमा खसालिनेछ । त्यही पानीबाट बबई किनारमा ४६ दशमलव ८ मेगावाट विद्युत् उत्पादन गरिनेछ । जमिनमा सिञ्चाई सुविधा उपलब्ध भएपछि आयोजनाबाट सरकारलाई वार्षिक तीन अर्ब र उत्पादित विद्युतबाट ४ अर्ब आम्दानी हुने प्रक्षेपण रहेको आयोजना प्रमुख बरालले बताए ।

साढे १० अर्बमा सम्झौता भएको सुरुङका लागि फागुन मसान्तसम्म झण्डै ८ अर्ब खर्च भएको छ । सिञ्चाइ विभागद्वारा संशोधित गुरुयोजनाअनुसार टनेल निर्माण, बाँध, विद्युतगृह, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकललगायत सबै काम सम्पन्न गर्न ३३ अर्ब १९ करोड खर्च हुनेछ । आर्थिक वर्ष ०६८/६९ मा निर्माण शुरु भएको आयोजनाको सम्पूर्ण काम आर्थिक वर्ष ७९/८० सम्म सक्ने लक्ष्य छ ।

प्रकाशित मिति : २०७६ बैशाख ३ गते मङ्गलवार