• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

फलामलाई सुन भनेर बेच्ने चारजना पक्राउ


बैशाख ४, काठमाडौं ।

फलामलाई सुन भनेर बेचेको अभियोगमा चारजना पक्राउ परेका छन् ।

आजको नयाँ पत्रिकामा खबर छ- नुवाकोट दुप्चेश्वर–६ का ३३ वर्षीय पूर्णबहादुर तामाङ, काभ्रे चाैँरी देउराली ३ का २६ वर्षीय चन्द्रबहादुर श्रेष्ठ, २१ वर्षीय प्रवीण श्रेष्ठ र १९ वर्षीय सुवास श्रेष्ठ पक्राउ परेका हुन् ।  तामाङ र श्रेष्ठत्रयले १२ पुसमा सामाखुसी रानीबारीका राजेश विकलाई फलामको चारवटा टुक्रालाई सुन भनेर १९ लाखमा बिक्री गरेका थिए । लगत्तै फरार रहेका उनीहरूलाई सोमबार महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले सुन्धाराबाट पक्राउ गरेको हो ।

परिसरका प्रवक्ता डिएसपी होवीन्द्र बोगटीले फलामलाई कालो सुन भनेर बिक्री गर्नेलाई पक्राउ गरिएको बताए ।

उनले भने, ‘फलामको टुक्रालाई सुन भनेर बेचेको पाइयो । यो अनौठो घटना हो । यसमा ठगी गर्ने त अपराधी हुँदै हो । ठगीमा परेको देख्दा पनि अचम्म लाग्यो । उजुरी पर्नासाथ खोजी भयो । र, ठगीमा संलग्न पक्राउ परे । अब कारबाही हुन्छ ।’

ट्याक्सी पनि बरामद

प्रहरीले बा.२ ज. १८४१ नम्बरको ट्याक्सी पनि बरामद गरेको छ । प्रहरीका अनुसार उनीहरूले ट्याक्सी पनि ठगी धन्दामा प्रयोग गर्दै आएका थिए । डिएसपी बोगटीले भने, ‘उनीहरूले भाडामा ट्याक्सी चलाउँदै आएका थिए  । सोही ट्याक्सी ठगी धन्दामा पनि प्रयोग हुने गरेको खुलेको छ । घटना सम्बन्धमा थप अनुसन्धान हुँदै छ ।’

 फलामका चार टुक्रालाई १९ लाख !

प्रहरीका अनुसार तामाङ र श्रेष्ठत्रयले फलामको चारवटा टुक्रालाई सुन राख्ने थैलीमा राखेका थिए । त्यसलाई  पहेँलो रुमालले पोको पारेका थिए ।

राजेशलाई भेट्दा उनीहरूलाई सुनको थैलीभित्र पोको पारिएको टुक्रा मात्रै देखाएर भने, ‘यो कालो सुन हो ।’ तर, पोको खोलेर देखाएनन् । सस्तोमा पाइने भएपछि राजेश लोभिए । उनले तत्काल १९ लाख रुपैयाँ बुझाएर थैली लिए ।

त्यसवेला उनलाई भनिएको थियो, ‘पोको घर पुगेपछि मात्रै खोल्नू ।’ राजेशले  घर पुगेर मात्र पोको खोले । पोकोभित्र कालो फलामको टुक्रा भेटिएपछि राजेश रन्थनिए । विश्वास नलागेपछि उनले टुक्राको परीक्षण पनि गरे ।

सुन भनेर किनेको टुक्रा फलाम प्रमाणित भएपछि राजेशलाई बल्ल ठगिएको अनुभूति भयो । लगत्तै प्रहरीमा उजुरी गरे ।  सोही उजुरीपछि चार अभियुक्त पक्राउ परेका हुन् ।

प्रकाशित मिति : २०७६ बैशाख ४ गते बुधवार