• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

विप्लव नेकपाले गरेकाे नेपाल बन्दकाे पूर्वसन्ध्यामै २ जिल्लामा शक्तीशाली बम विस्फाेट


बैशाख ४, काठमाण्डाैँ ।

विप्लव नेकपाले आह्वान गरेकाे बैशाख ५ गतेकाे नेपाल बन्दकाे पूर्वसन्ध्यामा नवलपरासी र बझाङमा शक्तीशाली बम विस्फाेट भएकाे छ ।

महेन्द्रराजमार्ग अन्तरगत नवलपरासीकाे कावासोती–नारायणगढ खण्डको व्यस्त बजार दुम्कौलीमा रहेको विनोद चौधरीद्वारा सञ्चालित चौधरी ग्रुप अन्तर्राष्ट्रिय पार्क (चौधरी उद्योग ग्राम)को मुख्य प्रवेशद्वार नजिकै शक्तिशाली बम विस्फोट भएको हाे । साझ ५ बजेतिरको समयमा गेटनजिकै ठूलो आवाजकाे शक्तिशाली बम विस्फाेट भएकाे स्थानीयले बताएका छन् ।

विस्फोट चौधरी उद्योग लक्षित भएको हुनसक्ने स्थानीयको भनाई छ । यसअगाडि पनि उद्योग लक्षित बिस्फोट भएको थियो ।

बिस्फोटबाट मानविय क्षति भने नभएकाे प्रहरीले जनाएको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा समूहले बिहीबारका लागि आव्हान गरेको बन्दको पूर्वसन्ध्यामा बम बिस्फोट भएका कारण सुरक्षा निकायले बिस्फोट उक्त समूहले नै गराएको हुनसक्ने आशंका गरेको छ।

नेकपाले पटकपटक उद्योगको आन्तरिक गतिविधि मजदुरमाथी विभेदपुर्ण रहेको भन्दै विज्ञप्तिहरु निकाल्दै सच्याउन चेतावनी दिदै आएको थियो ।

त्यस्तै बझाङको सदरमुकाम चैनपुरमा केहिबेर अगाडी नेकपाका कार्यकर्ताहरुले मशाल बाल्नुको साथै सरकारविरुद्ध नारा लगाएका छन् ।
स्थानीयका अनुसार चैनपुरमै शक्तिशालि बम विस्फोट समेत भएको छ । प्रदर्शन लगत्तै विस्फोटको ठूलो आवाज आएको थियो । विस्फोटका क्षतिबारे कुनै जानकारी आएको छैन । विस्फोटको जिम्मा कसैले लगेको छैन ।

केही दिनअघि मात्र नेकपाका जिल्ला सेक्रेटरी भरत मल्ललाई प्रहरीले गिरफ्तार गरेको थियो । त्यसैगरी जिल्लाका अरु नेताहरुका घरमा खान तलासी गर्ने, परिवारलाई मानसिक यतना दिएको भन्दै नेकपाका नेता कार्यकर्ता आक्रोसित भएका छन् ।

बन्दकाे पूर्वसन्ध्यामा बुधबार साँझ रुपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची, दाङ, रोल्पा, सल्यान, कैलाली, कन्चनपुर, कालिकोट, पुर्वमा झापा, इलाम, पाँचथर, ताप्लेजुङ लगाएत अन्य जिल्लाहरुमा नेकपाका नेता-कार्यकर्ताहरुले मसाल जुलुस गरेका छन् ।

प्रकाशित मिति : २०७६ बैशाख ४ गते बुधवार