बैशाख ५, काठमाडौं ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका कारण बिहीबार राजधानीसहित देशभरको जनजिवन प्रभावित भएकाे छ ।
बिहानको समयमा राजधानीमा सार्वजनिक सवारी साधन फाटफुट चलेका छन् भने राजधानी बाहिरिने र भित्रिने लामाे तथा छाेटाे दुरीका सवारी साधन ठप्प भएका छन् । त्यस्तै राजधानी बाहिरका जिल्लाहरुमा पनि सवारी साधन, शैक्षिक संस्था, कलकारखाना, उद्याेग, बजार बन्द भएका छन् ।
पाल्पाकाे रिब्दीकोट गाउँपालिकाको कार्यालय परिसरमा बम विष्फोट भएको छ। कार्यालय नजिकै रहेको सेवाग्राही बस्ने प्रतिक्षालयमा वम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले बताएका छन् ।
उनका अनुसार विष्फोटबाट प्रतिक्षालय र गाउँपालिकाको कार्यालय भवनमा क्षति पुगेको छ। कार्यालयको झ्यालका सिसा फुटेका छन्। बिहीबार बिहान साढे एक बजेतिर भएको विस्फोट कस्ले र किन गराएको हो भन्ने बारे अहिलेसम्म खुलेको छैन् । यद्यपि घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पोखरेलले बताए।
आफ्नाे पार्टीमाथी लगाएकाे प्रतिबन्धकाे विराेध र पक्राउ परेका नेता कार्यकर्ताको रिहाइको माग गर्दै विप्लव नेकपाले बन्दको आह्वान गरेको हो । सरकारले विप्लव पार्टीले हिंसात्मक गतिविधि गर्न थालेको भन्दै प्रतिबन्ध लगाएर सो पार्टीमाथि प्रतिबन्ध लगाएर धरपकड जारी राखेको छ ।