• २०७८ असोज ४ गते सोमवार
  • Preeti To Unicode

पत्रकार पक्राउकाे बिरोधमा सल्यानका पत्रकार पनि धर्नामा


बैशाख ५, सल्यान ।

पछिल्लो समय पत्रकारमाथि सरकारबाट भएको हस्तक्षेपका विरुद्व देशभरका जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुले धर्ना दिएका छन् ।

हालैमात्र अनलाइनमा प्रकाशित समाचारलाई लिएर पक्राउ परेका पोखराका पत्रकार अर्जुन गिरीविरुद्ध साइबर क्राइम मुद्दा दर्ता भएपछि पत्रकारहरु झन आक्रोश भएर त्यसको विरोध स्वरुप देशभरका जिल्ला प्रशासन कार्यालयमा बिहीबार बिहान धर्ना दिएका हुन् ।

त्यहि कार्यक्राम अन्तरगत सल्यानको जिल्ला प्रशासन कार्यालयमा पनि पत्रकारले धर्ना दिएका छन् । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा सल्यानको अगुवाइमा पत्रकारहरुले बिहान साढे ९ बजेदेखि साढे १० बजेसम्म जिल्ला प्रशासन अगाडि उभिएर पत्रकार पक्राउको विरोधमा धर्ना दिएका हुन् ।

समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्नु प्रेस स्वतन्त्रता विरोधी भएकाले यसलाई सच्याउनु पर्ने माग पत्रकारहरुको छ । विद्युतीय दफा ४७ र ४८ खारेज गर्न पत्रकारले माग गरेका छन् ।

धर्ना कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका सदस्य नविन पौडेलले सरकार पत्रकारका विरुद्व लागेको भन्दै पत्रकारमाथी हस्तक्षेप नगर्न आग्रह गरेका छन् । उनले सल्यानमा पनि समाचार लेखेकै आधारमा प्रहरी प्रशासनले पत्रकारमाथि केरकाप र मानसिक तनाव दिई सोधपुछ गर्ने नगरेकाले त्यसो नगर्न आग्रह गरेका छन् ।

सल्यान शाखाका सल्लाहाकार सनत कुमार शर्माले अभिव्यक्ती स्वतन्त्रतालाई कुण्ठीत हुन नदिने बताएका छन् । पछिल्लो समय सरकारको रवैया गलत भएको भन्दै उनले राज्यलाई घुडा टिकाएरै छाड्ने बताएका छन् ।

कार्यक्रममा कडा रुपमा प्रस्तुत भएका पत्रकार महासंघका केन्द्रीय पार्सद डिल्लीराज रावतले सरकारले नागरिकको मुख बन्देज गर्न खाजेको आरोप लगाएका छन् । उनले पत्रकारिता साइबर क्राइम नभएको भन्दै त्यसमा मुद्दा लगाएर पत्रकार पक्राउ नगर्न सरकारलाई आग्रह गरे ।

उनले भने– “हिजो स्वतन्त्रताको पक्षमा राज्य विरुद्व नारा लगाउदै हिडेकाहरु अहिले राज्य संचालक भएर नागरिकको बोलीमाथि बन्देज गर्न खोजे ।” उनले प्रेस स्वतन्त्रता र अभिव्यक्ती स्वतन्त्रताको लागी सबै लड्ने बताएका छन् ।

जिल्लाका विभिन्न संचारमाध्याममा कार्यरत दर्जनौ पत्रकारको उपस्थितीमा भएको कार्यक्रमको अध्यक्षतता महासंघका उपाध्यक्ष प्रगती कुमारी गिरीले गरेकी थिइन भने संचालन सहसचिव शिव डाँगीले गरेका थिए ।

सरकारले पछिल्लो समय निरंकुश राजतन्त्र जस्तै गरेर पत्रकारलाई समाचार लखेकै कारण धरकपड गर्ने काम गरिरहेको छ । आस्था विचार भएकै कारण पनि पत्रकारहरुलाई राज्यले गिरफ्तार गरिरहेको छ ।

समाचार लेखेकै कारण हालैमात्र पत्रकार राजु बस्नेत, गोपाल चन्द, गणेश विक, कर्ण विश्वकर्म, जितेन्द्र महर्जन र अर्जुन गिरी पक्राउ परेका छन् । महर्जन र गिरी अझै हिरासतमा रहेका छन् भने अन्य तारिकमा रिहा भएका छन् ।

प्रकाशित मिति : २०७६ बैशाख ५ गते बिहिवार