• २०७९ माघ २२ गते आइतवार
  • Preeti To Unicode

चाैतर्फी बिराेधपछि पत्रकार अर्जुन गिरी साधारण तारेखमा रिहा


बैशाख ५, काठमाडौं  ।

पाेखराका पत्रकार अर्जुन गिरी काठमाडौं जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन् ।

जिल्ला न्यायाधीश अम्बरराज पौडेलको एकल इजलासले गिरीलाई रिहा गरेको हो । पत्रकार गिरीको तर्फबाट बरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की, अधिवक्ताहरु, स्वागत नेपाल, भक्तिराम घिमिरे, मानबहादुर लामिछानेले बहस गरेका थिए ।

केही दिन अघि पोखराबाट प्रकाशित हुने ताण्डव साप्ताहिकका सम्पादक अर्जुन गिरीले केही दिनअगाडि ‘ठग १ बदमास वीपेन्द्रराज बतास’ भन्दै लेखेको समाचारलाई आधार बनाएर बतासले सिआइबीमा गिरिविरूद्ध साइबर क्राइमको मुद्दा हालेका थिए । विपिन बतास विपेन्द्रराज बतास ले पोखराका दुई व्यवसायी जनकराज पहारीको २ करोड २५ लाख रुपैयाँ र मनोज श्रेष्ठको १ करोड ९८ लाख रुपैयाँ गरी ४ करोड २३ लाख रुपैयाँ ठगी गरेको गिरिले लेखेको समाचारमा उल्लेख छ ।

श्रेष्ठ र पहारीले बतासबाट आफ्नो पैसा उठाइदिन आग्रह गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन दिएपछि गिरीले आफू आवद्ध ताण्डव पत्रिका र अनलाइन ताण्डब न्यूज डटकममा समाचार प्रकाशित गरेका थिए।

अदालतको आदेशपछि त्यहाँ उपस्थित पत्रकारहरुले न्याय पाएको भन्दै खुसी व्यक्त गरेका छन् । “केही दिन दु:ख भए पनि अन्तत: सत्यको जित भएको छ । यो ऐतिहासिक नजिर बन्नेछ ।”- रिहाईको आदेश लगत्तै पत्रकार गिरीले भने- “ठगी गर्नेहरुका विरुद्ध निरन्तर लेखिरहनेछु ।”

पछिल्लो समय पत्रकारमाथि सरकारबाट भएको हस्तक्षेपका विरुद्व देशभरका जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुले धर्ना दिएका छन् । अर्जुन गिरीविरुद्ध साइबर क्राइम मुद्दा दर्ता भएपछि पत्रकारहरु झन आक्रोश भएर त्यसको विरोध स्वरुप देशभरका जिल्ला प्रशासन कार्यालयमा बिहीबार बिहान धर्ना दिएका हुन् ।

सरकारले पछिल्लो समय निरंकुश राजतन्त्र जस्तै गरेर पत्रकारलाई समाचार लखेकै कारण धरकपड गर्ने काम गरिरहेको छ । आस्था विचार भएकै कारण पनि पत्रकारहरुलाई राज्यले गिरफ्तार गरिरहेको छ ।

समाचार लेखेकै कारण हालैमात्र पत्रकार राजु बस्नेत, गोपाल चन्द, गणेश विक, कर्ण विश्वकर्म, जितेन्द्र महर्जन र अर्जुन गिरी पक्राउ परेका छन् । महर्जन भने अझै हिरासतमा रहेका छन् । अन्य तारिकमा रिहा भएका छन् ।

प्रकाशित मिति : २०७६ बैशाख ५ गते बिहिवार