• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

दाङमा ८ औं राष्ट्रिय खेलकुदको रमझम


पूर्ण के.सी. / बैशाख ६, दाङ ।

आठौं राष्ट्रिय खेलकुदअन्तर्गत बिहीबारदेखि दाङको बेलझुन्डीमा सुरु भएको एथलेटिक्स प्रतियोगिताको पहिलो दिन नै चन्द्रकला लामगादेले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् । उनले महिला सटपुट स्पर्धामा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी हुन् ।

उनले १२.०४ मिटरको प्रदर्शनसहित राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । यसअघि पनि उक्त स्पर्धाको कीर्तिमान चन्द्रकलाकै नाममा थियो ।

यसअघि उनले इटहरीमा भएको राखेप च्याम्पियनसिपमा ११.५६ मिटरको कीर्तिमान बनाएकी थिइन् । चन्द्रकलाले २०७३ सालमा पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदमा पनि राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

महिला सटपुटमा प्रदेश नम्बर ५ की संगीता अधिकारीले १०.१५ मिटरको प्रदर्शनसहित रजत र नेपाल पुलिस क्लबकी वसन्ती चौधरीले १०.०५ मिटरको प्रदर्शनसहित कांस्य पदक जिते । महिला एक सय मिटर दौडमा त्रिभुवन आर्मी क्लबकी सरस्वती चौधरीले स्वर्ण पदक जितिन् । उनले निर्धारित दूरी पूरा गर्न १२.१९ सेकेन्डमा पूरा गरिन् ।

उक्त स्पर्धामा प्रदेश नम्बर ५ की जयरानी चौधरीले रजत र आर्मी क्लबकी कृष्णा चौधरीले कांस्य पदक हात पारे । यसैगरी पुरुष एक सय मिटर दौडमा एपीएफ क्लबका आशिष चौधरीले स्वर्ण पदक जिते । उनले निर्धारित दूरी पूरा गर्न केवल ११ सेकेन्ड समय खर्चिए ।

कर्णाली प्रदेशबाट प्रतिस्पर्धा गरेका यमसाजन सुनार ११.१० सेकेन्डसहित दोस्रो र आर्मी क्लबका आनन्ददेव चौधरी ११.१५ सेकेन्डसहित तेस्रो भए । महिला १० हजार मिटर दौडमा आर्मी क्लबकी विश्वरूपा बुढाले स्वर्ण पदक जितिन् ।

उनले ३७ मिनेट ३०.९ सेकेन्डमा दौड पूरा गरेकी थिइन् । पुलिस क्लबकी राजपुरा पछाई दोस्रो भइन् ।

उक्त स्पर्धामा प्रदेश नम्बर ३ की सन्तोषी श्रेष्ठ ३७ मिनेट ५०.६ सेकेन्डसहित तेस्रो भइन् । पुरुष १० हजार मिटर दौडमा कर्णाली प्रदेशका दुर्गा बुढाले स्वर्ण पदक जिते । उनले ३१ मिनेट ०३.१ सेकेन्डमा दौड पूरा गरे ।

गण्डकी प्रदेशका अनिश थापा ३१ मिनेट ०९.८ सेकेन्डसहित दोस्रो भए । एपीएफका गोपीचन्द्र पार्की ३१ मिनेट ५८.३ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो भए ।

पुरुष सटपुटमा आर्मी क्लबका टंकप्रसाद दाहालले स्वर्ण पदक जिते । उनले १२.१९ मिटरको प्रदर्शनसहित स्वर्ण पदक जितेका हुन् ।

उक्त स्पर्धामा १२.०४ मिटरको प्रदर्शनसहित पुलिस क्लबका पुष्कल शर्माले रजत पदक जिते । आर्मी क्लबकै चित्रबहादुर वलीले ११.८५ मिटरको प्रदर्शनसहित कांस्य पदक हात पारे ।

प्रकाशित मिति : २०७६ बैशाख ६ गते शुक्रवार