• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

नेकपा एकता : सल्यानमा जित्नेलाई कारबाही !


सल्यान डायरी :

लेखक : तिलकराज ओली 

संघ र प्रदेश चुनावताका सल्यानमा तत्कालिन बामगठबन्धनका आधिकारीक उम्मेदवारलाई बहिष्कार गरेका र बागी उम्मेदवारी दिएर चुनाबै लडेका पूर्व माओवादी नेतालाई अहिलेको नयाँ (नेकपा) मा दिइएको विशेष भूमिकालाई लिएर पूर्व माओवादी सल्यानको संस्थापन पक्ष अहिलेको नतिजा देखेर चकित छ ।

किनकी यसअघि तत्कालिन माओवादी केन्द्रको संस्थापन दाबी गर्ने पक्षले अघिल्लो वर्ष बागी नेतृत्वमा सरिक भएका नेतालाई कारबाही गरे पनि पूर्व माओवादी कर्णाली प्रदेशको नेतृत्वले तिनै पूर्व बागी नेतृत्वका नेतालाई नै अहिलेको नयाँ (नेकपा)पार्टीको जिम्मेवार पदमा छानीछानी मनोनित सिफारिस गरेको अबस्था छ ।

कस्तो अचम्म ! अघिल्लो वर्ष बामगठबन्धनलाई हराउन मरिहत्ते गर्ने पात्रहरु नै अहिलेको नयाँ (नेकपा) पार्टीको कर्णाली प्रदेश सदस्यमा मनोनित ।बामगठबन्धको चुनावी मोर्चा भत्काउने योजनाकार जिल्लाको नेतृत्वमा मनोनित । गठबन्धनका आधिकारीक उम्मेदवार विरुद्ध चुनावी उम्मेदवार प्रदेश मूख्यमन्त्रीका राजनीतिक सल्लाहकारमा नियुक्त ।

सल्यानको हकमा पूर्व माओवादी कोटाबाट नयाँ (नेकपा)मा कुनै जिम्मेवारी पाउन त अब पूर्ब बागी नेताकै आर्शीबाद नभएसम्म संस्थापन पक्षका इमान्दार नेता कार्यकर्ताले अहिलेको सन्र्दभमा महत्वपूर्ण जिम्मेवारी पाउने अबस्था कम भएको अनुमान लागाउ सकिन्छ । सल्यानमा बागी पक्षको अमुक शक्ती छ भन्ने कुरा अहिलेसम्मको पार्टी एकताको चरणलाई हेर्दा ठ्याक्कै साँच्चि हो कि ? भन्ने अबस्था बलियो बन्दै गएको छ ।

नेकपाको सल्यानको पछिल्लो परिवेशलाई गहिरीएर हेर्दा पहिलेका बागी उम्मेदवारहरूले नयाँ (नेकपा) को गठन प्रक्रियामा पूर्व माओवादी कोटाबाट ठाउँ–ठाउँमा मनोनित हुन सफल भएका छन् । यता, आफुलाई खाँटी संस्थापनको दाबी गर्दै आफ्ना ब्यक्तिगत स्थार्थलाई तिलाञ्जली दिएर संघ र प्रदेश चुनावमा बाम गठबन्धनका उम्मेदवारलाई कसैगरी जिताउनु पर्छ भन्दै पहिलेका पार्टी संयोजक बागी भए भन्दै तत्काल तत्कालिन प्रदेश इन्चार्ज र संयोजकको लालमोहर मार्फत जिल्ला संयोजकको भूमिकामा रहेका नेताको अहिले नयाँ (नेकपा) पार्टीको सचिवमा समेत नाम प्रस्ताब भएको अबस्था छैन् ।

पूर्व मातृ पार्टीको पोलिटब्यूरोको भूमिकामा रहेका सल्यानका नेतालाई प्रदेश सदस्यमा समेत मनोनित नगरेर जबरजस्त पार्टी बाहिर लखेट्ने काम गरिएको छ । त्यसैले, सल्यानको सन्र्दभमा पूर्ब माओवादीको तत्कालिन बागी समूहको अमुक शक्ती सल्यानमा अन्दाज नै गर्न नसकिने खालको रहेको यि माथिका तथ्यले नै प्रष्ट पारेको अबस्था छ ।

बागी बनी हारेर त यति जित्न सकिन्छ भने आधिकारीक टिकट लिई चुनाबमा भाग लिएको र जितेको भए (नेकपा) को सल्यान पार्टी संरचनामा झन् के कस्तो परिवर्तन हुन्थ्यो होला ? यो प्रश्न तत्कालिन बागी समूहका सल्यानका सबैले अहिले आफुले आफैलाई सोधेको अबस्था छ ।

पूर्व नेकपा माओवादी केन्द्रले अघिल्लोे वर्ष पार्टी विधि बिपरीत गतिबिधि गरेको भन्दै तत्कालिन बागी समूहलाई जसरी कारबाही गरेको थियो । अहिले पार्टी एकता भई प्रदेश र जिल्लाको जिम्मेवारी बाँडफाँड गर्दा सल्यानको पूर्व माओवादी केन्द्रको संस्थापन पक्ष कमजोर भएको मात्र हैन संघ र प्रदेश चुनावमा भाग लिएका तत्कालिन माओवादी केन्द्रका संस्थापन पक्षका आधिकारी उम्मेदवारलाई सहयोग गरेका नेता कार्यकर्तालाई छानीछानी तत्कालिन बागी समुहले अघोषित कारबाही गरेको अबस्था देखा परेको अबस्था छ ।

पार्टी बिरुद्ध चुनाव लडेर पनि जो जसले हारे तिनलाई त सल्यानका कम्यूनिष्ट नेता कार्यकर्ताले नै कारबाही गरेको हेक्का नेतृत्वले बुझेको खै ? कुनै दल सम्बद्ध केही नेताले दलकै बिरुद्ध चुनाव लडेर चुनाबमा हार्नु भनेको त खासमा उनीहरुका आफ्ना पार्टी नेता तथा कार्यकर्ता र जनताले नै कारबाही गरेको निर्णय मान्ने कि नमान्ने ? तर, संस्थापनका चुनाव जितेर जो आए ।

जसले पार्टी विधिलाई मान्दै चुनाबमा जिताए उनलाई कसरी कारबाही गर्नु ? चुनाव जित्नु भनेको त जनताले विश्वास गरेको मानिदैन र ? अब जसलाई जनताले विश्वास ग¥यो उसैलाई कारबाही गर्ने हो भने यो नयाँ कम्यूनिष्ट पार्टीको कस्तो किसिमको आधुनिक विधि भयो ? जनता र नेता कार्यकर्ताले अपार माया गरेका कार्यकर्तालाई नै कारबाही गर्ने भएपछि त्यो त कम्यूनिष्ट नै भएन नि ! कि कसो ?

अनि फेरि सल्यानी जनताले पत्याएका (नेकपा) का कार्यकर्ता जतिलाई कारबाही गरेर फालेपछि नयाँ (नेकपा) पार्टीमा चाहिँ को बस्छ नि ? प्रष्ट छ । सल्यानी जनताले नपत्याएका, चुनावमा उठेर फेरी पनि हार्ने सम्भावना भएका, अझ कुनै त सल्यानी जनताले भोटै नदिने खालका । खैर,अब त सल्यानका १० स्थानीय तह र ८३ वटै वडामा दुई पार्टी एक हुने चरण नि सुरु भैसकेको अवस्था छ ।

पूर्व एमालेको त पार्टीको पुरानै संरचना तयारी अबस्थामै रहेकोले एकता गर्दा कुनै समस्या नआउला । तर,पूर्व माओवादी केन्द्रले आफ्नो भागमा पर्ने पदहरुमा कस्ता कार्यकर्तालाई नयाँ (नेकपा) पार्टीमा ल्याउन मिल्ले निति र विधि बन्ने हो ? स्थानीय तह र वडाहरुको एकता कतै प्रदेश सदस्यहरु र जिल्ला नेतृत्व छनौट गरेजस्तो त बन्दैन ?

त्यसैले अन्तिममा नेकपा माओवादी केन्द्र सल्यानका तत्कालिन जिल्ला संयोजक निमबहादुर के.सी (अरुण) भनाई सापटी लिन मन लाग्यो । “२०७४ मंसिर २१ गते सम्पन्न भएको संघीय प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका क्रममा तत्कालीन नेकपा (माओवादी केन्द्र) सल्यानको जिल्ला संयोजकको हैसियतले वामगठबन्धनका पक्षमा लागेर गठबन्धनका उम्मेदवारहरुलाई विजय गराई अक्षम्य अपराध गरेको अभियोगमा निम बहादुर केसी (अरुण) भन्ने मनुवालाई यथाशीघ्र पार्टीको सबै जिम्मेवारीबाट निस्कासन गरियोस् भन्दै अध्यक्षद्वय समक्ष जोडदार माग गर्दछु ।

ताकि ,आगामी निर्वाचनलगायतका पार्टीका गतिविधि,आदेश,निर्देशन र निर्णयहरुमा यसखालका गल्ती गर्ने दुस्साहस कसैले गर्न नसकुन् र भावी पुस्ता एवं कम्युनिस्ट क्याडरहरुले एउटा आदर्श कम्युनिस्ट पार्टी र पार्टीका क्याडर कस्तो हुनुपर्दछ भन्ने उक्त कारबाहीबाट शिक्षा लिउन् ।” भन्दै सामाजिक संञ्जाल फेसबुक मार्फत फेरी पनि जिल्ला, गाउँनगर र वडा तथा टोलका पूर्व माओवादी केन्द्रका स्थानीय नेता कार्यकर्ताको यस्तै असन्तुष्टी देखापर्ने त हैन ?

सल्यान जिल्लामा (नेकपा) का स्थानीय तह र वडाहरुमा संगठन निर्माण गर्दै गर्दा जिल्ला नेतृत्वले दुई पार्टीकै नेता कार्यकर्तालाई पदीय जिम्मेवारी दिदा कुनै गुटउपगुट नभनी स्पष्ट विधि र पार्टीको निति अनुसार नै पदीय जिम्मेवारी दिने हो या पुरानै विधि प्रयोग गर्ने हो, त्यो भने हेर्न बाँकी छ ।

प्रकाशित मिती २०७६ बैशाख ११ गते

प्रकाशित मिति : २०७६ बैशाख ११ गते बुधवार