• २०७९ माघ २२ गते आइतवार
  • Preeti To Unicode

महाभूकम्पको ४ बर्ष : ४५ हजारभन्दा बढी परकम्पन, सबै सम्पदा पुनर्निर्माण गर्न १२ अर्ब लाग्ने


बैशाख १२, काठमाडौं ।

८ हजार भन्दा धेरैको ज्यान लिनेगरी नेपालमा महाभुकम्प गएको आज चार वर्ष भएको छ ।

२०७२ वैशाख १२ गते अर्थात् आजकै दिन गोरखा जिल्लाको बारपाक केन्द्र बनाए शक्तिशाली भूकम्प गएको थियो । जसको त्रास आझै कायमै रहेको छ । हिजो बुधबार बिहान पनि त्यसले पुनः झस्काएको छ ।

हिजो बिहान काठमाडौँ आसपास क्षेत्रका कतिपय मानिस दौड्दै घर बाहिर आए भने कतिले आफ्ना बालबच्चा बोकेर दौडे । नेपालमा भूकम्पको जोखिम कायमै छ र ‘सचेत हुनुपर्छ है’ भन्ने सन्देश भूकम्पले दिइरहेको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार गएका दुईवटा भूकम्प गोरखा भूकम्पकै परकम्प हुन् । धादिङको नौबिसे केन्द्र भएर ५.२ म्याग्नीच्युटको भूकम्प गएको केही समयपछि ककनी क्षेत्र केन्द्र भई ४.३ रेक्टर स्केलको अर्को परकम्पन गएको थियो ।

केन्द्रका सिस्मोलोजिस्ट मुकुन्द भट्टराई भन्छन्, ‘‘बुधबार बिहान गएको भूकम्पचाहिँ २०७२ वैशाख १२ गते गएको भूकम्पको परकम्पन नै हो । बिहीबार भूकम्प गएको चार वर्ष पुगेको छ भनेर यो परकम्पन आएको होइन । भूकम्प कहिले जान्छ भन्ने भन्न सकिँदैन। संयोग मात्रै हो ।’

४५ हजारभन्दा बढी परकम्पन

सिस्मोलोजिस्ट चिन्तन तिम्सिनाका अनुसार, २०७२ वैशाख १२ गते गएको ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प जानुभन्दा अघि पनि नेपालमा भूकम्प गएका थिए। विगत चार वर्षमा चार रेक्टर स्केलभन्दा माथिका जम्मा ५२० वटा परकम्पन गएका छन् ।

सबै परकम्पनको सङ्ख्या भने ४५ हजारभन्दा बढी पुगेको छ । ठूला भूकम्प गएपछि त्यसको आफ्नो क्षेत्रमा साना भूकम्प जाने गर्छन् । गोरखा भूकम्प गएपछि पराकम्पन आउने क्रम तीन गुणाले वृद्धि भएको छ ।

कुनै क्षेत्रमा ठूलो भूकम्प गएपछि त्यहाँ जम्मा भएको शक्तिलाई निस्क्रिय हुन्छ । फेरि त्यो शक्ति सञ्चय हुन लामो समय लाग्छ । हिमालय क्षेत्रमा आठ रेक्टर स्केल भन्दा ठूलो भूकम्प गयो भने त्यही आकारको अर्को ठूलो भूकम्प जान सात–आठ सय वर्ष लाग्छ ।

तर आठभन्दा सानो भूकम्प गयो भने चाहिँ कति वर्षमा ठेगान हुँदैन । तिम्सिनाले गोरखा भूकम्प गएकै क्षेत्रमा सन् १८३३ मा करिब ७ दशमलव ८ रेक्टरको भूकम्प गएको र १७० वर्षको अवधिमा फेरि दोहोरिएर आएको जानकारी दिए ।

उनी भन्छन्, ‘नेपालको मध्य क्षेत्रको मात्रै हामीसँग अभिलेख छ तर पूर्वी नेपाल र पश्चिम नेपालको अभिलेख छैन, आठ रेक्टरको भन्दा ठूलो भूकम्प भएपछि त्यसले सञ्चित शक्तिलाई बाहिर फालिदिन्छ ।’ गोरखा, सिन्धुपाल्चोक आसपासको क्षेत्रमा नै आठ रेक्टर भन्दा ठूलो भूकम्प जाने सम्भावनाचाहिँ कमै छ । तर काठमाडौँको दक्षिणी क्षेत्रमा शक्ति सञ्चय हुने क्रम जारी छ ।

गोरखाको पूर्वी र पश्चिमी क्षेत्रमा जहिले पनि भूकम्प जान सक्ने सम्भावना छ । भूकम्प जानुभन्दा अगाडि नै भूकम्प जाँदैछ भनेर भविष्यवाणी गर्न सक्ने प्रविधि छैन ।

सबै सम्पदा पुनर्निर्माण गर्न १२ अर्ब लाग्ने

भूकम्पले ध्वस्त देशभरका अधिकांश सम्पदाको पुनर्निर्माण कार्य भइरहेको छ ।भूकम्पले क्षति बनाएका विश्वसम्पदा सूचीमा रहेका उपत्यकाका ७ क्षेत्रका १ सय ७३ मध्ये ८७ सम्पदा पुनर्निर्माण भइसकेका छन् ।

विश्वको ध्यान खिच्न सफल रानीपोखरी पुनर्निर्माणको क्रममा रहेको छ । हनुमानढोका दरबार क्षेत्रको काष्ठमण्डप र धरहरा पुनर्निर्माणको क्रममा रहेका छन् ।

चीन सरकारको सहयोगमा वसन्तपुरस्थित नौतले दरबार यो वर्षको अन्त्यसम्ममा र दरबार हाइस्कुल आगामी वर्ष सम्पन्न हुने गरी पुनर्निर्माण भइरहेका छन् । अमेरिकी सरकारको सहयोगमा गद्दी बैठक निर्माण सम्पन्न भइसकेको छ । भक्तपुर र पाटन दरबार क्षेत्रका अधिकांश सम्पदा पुनर्निर्माण भइरहेका छन् ।

विभागले देशैभरका ८ सय ९५ सानाठूला सम्पदा पुनर्निर्माणका लागि १२ अर्ब ६६ करोड रुपियाँ लाग्ने अनुमान गर्दै अर्थ मन्त्रालयमा बजेट माग गरेको छ । विभागमार्फत हालसम्म १ अर्ब ८५ करोड रुपियाँ बराबरको सम्पदा पुनर्निर्माण सम्पन्न भइसकेको छ ।

प्रकाशित मिति : २०७६ बैशाख १२ गते बिहिवार