• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

स्कुल गएका बालबालिका भन्छन्- ‘दलिन भाँचिएर किच्छ कि भन्ने डरले पढ्‍न सक्दैनौँ’


बैशाख १२, ताप्लेजुङ ।

सिदिङ्वा गाउँपालिका–४ मिश्रटारस्थित लुङसुङ पौवा प्राथमिक विद्यालय भवन जीर्ण बनेको लामो समय भइसक्दासमेत पुनर्निर्माणमा कसैले चासो देखाएका छैनन् ।

जसले गर्दा जीर्ण रहेको विद्यालयकै भवनबाटै पठनपाठन हुने गरेको छ । १० वर्षअघि भाँचिएको भवनको तेस्रो तला थाम्न राखिएको निदाललाई टेको दिएर अड्याइएको छ ।

कक्षा पाँच की विनिता लिम्बूले भनिन्, ‘दलिन भाँचिएर किच्छ कि भन्ने डर लागिरहन्छ, कक्षामा प्रवेश गरेपछि कतिबेला छुट्टी हुन्छ र बाहिर जाऊँ जस्तो हुन्छ ।’ भूकम्पले दुईवटा कोठा चर्किएका छन् ।

त्यही जीर्ण भवनको धराप कोठामा बसेर बालबालिका पढ्न बाध्य छन् । लिम्बूले भित्र बसेर पढ्न सक्ने अवस्था नहुँदा नहुँदै पनि डराइडराइ पढ्नुपर्ने बाध्यता रहेको गुनासो गरिन् ।

२०२५ सालमा स्थापित विद्यालयमा ५० जना विद्यार्थी मात्र छन्। एउटा भवन छ, जसमा छ वटा कोठा छन् । भवन राम्रो नभएको र प्रतिदिन जीर्ण बन्दै गइरहेका कारण पठनपाठनमा समेत समस्या हुने गरेको प्रधानाध्यापक कमला निरौलाले बताइन् ।

निरौला उक्त विद्यालयमा २०७० सालदेखि कार्यरत छिन्। प्रधानाध्यापक कलाले भनिन्, ‘विद्यालयको भौतिक पूर्वाधार राम्रो छैन, २०७० सालअघि नै निदाल भाँचिएको रहेछ। भूकम्पले समेत धेरै ठाउँमा चर्काएको छ, यस्तो हालतमा विद्यार्थी र शिक्षक दुवैले कक्षाकोठामा बसेर पठनपाठन गर्नुपर्ने अवस्था छ ।’

उनले अधिकांश समय चउरमा पढाउने गर्दा विद्यार्थीलाई चिसोले समस्या पारिरहेको बताइन् । ठूलो हावाहुरी र वर्षा हुँदा भवन पूर्णरूपमा भत्किन सक्ने जोखिम रहेको निरौलाको भनाइ छ ।

भवनबारे सम्बन्धित निकायमा बारम्बार जानकारी गराए पनि सुनुवाइ नभएको प्रधानाध्यापक निरौलाको गुनासो छ । उनले भनिन् ‘पहिले जिल्ला शिक्षा कार्यालय हुँदा धेरैपटक भवनको माग गर्‍यौ, गाउँपालिका भएपछि त्यहाँ पनि माग गर्‍यौं तर सुनुवाइ भएको छैन ।’

यता, वडाध्यक्ष नन्दलाल गौतमले भने विद्यालयको विषयमा आफूलाई खासै जानकारी नभएको बताए ।  गौतमले भने, ‘मलाई यस विषयमा खासै जानकारी छैन,उहाँहरूले भवन जीर्ण छ पनि भन्नुभएको छैन,गाउँपालिकामा माग गर्नुभएको पनि छैन।’

अब विद्यालयमा गएर अनुगमन गर्ने र समस्या भए आगामी वर्ष नयाँ भवनका लागि बजेट विनियोजन गर्ने उनले बताए । गौतमले भवन अत्यन्तै जीर्ण भए ठूलो जोखिम रहने भएका कारण त्यस्ता भवनभित्र राखेर विद्यार्थीलाई पढाउन नहुने सुझाव दिए ।

प्रकाशित मिति : २०७६ बैशाख १२ गते बिहिवार