• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

सल्यानको शान्तिनगरबाट रेशमज्युला जोड्ने ४ करोड बजेटको पुल निर्माण कार्य सुरु


बैशाख १४, सल्यान ।

सल्यानको शारदा नगरपालिका वडा नम्बर १ शान्तिनगरबाट वडा नम्बर १२ रेशमज्युला जोड्ने मोटरेवल पुलको निर्माण कार्य सुरु गरिएको छ ।

शारदा नगरपालिकाले आफ्नै बजेटमा बनाउन लागेको उक्त मोटरेवल निर्माणको लागी नगरपालिकाले भ्याट सहित ४ करोड ४० लाख रुपैया विनियोजन गर्ने नगरका प्रवक्ता तथा वडा नम्बर १२ का वडा अध्यक्ष दिपक कुमार हमालले बताए । जसमा निर्माणको लागी जुद्ध एण्ड पुर्ण जेभी तुलसीपुर सँग भ्याट बाहेक ३ करोड ८० लाख ४५ हजार रकममा सझौता गरिएको उनले बताए ।

शारदा नदिमा बन्ने पुलको इस्टमेट अनुसार लम्बाई ५० मिटर र चौडाई ८ मिटर रहने छ । २०७५ माघ २० गते निर्माण सम्झौता भएको पुल २०७८ जेठ २० गतेभित्र पुरा गरिसक्नुपर्ने छ । निर्माणको लागी आर्थिक बर्ष २०७५÷०७६ मा नगरपालिकाले ५० लाख बजेट बिनियोजन गरेको वडा अध्यक्ष हमालले लेकाली अनलाइनलाई बताए ।

यो पुल बनेसँगै शारदा नगरपालिकाको श्रीनगरबाट वडा नम्बर १२ र १३ का नागरिकलाई प्रत्यक्ष रुपमा सुविधा हुने उनको भनाई छ । त्यस्तै छत्रेश्वरी गाउँपालिकाको वडा नम्बर ५, २, १, मोख्ला र रोल्पाको झ्यामसम्म सहज हुने उनले बताए ।

रेशमज्युलाबाट अहिले डाँग्री, काखखोला, तिमीले, लेखटाकुरा हुँदै राप्ती राजमार्गसम्म सडकको ट्याक खोलिएको अध्यक्ष हमालले बताए । यो शारदा नदिको किनार हुँदै प्रयोग गरिने राप्ती राजमार्ग भन्दा यो सडक आधा गुणा छोटो हुने उनले बताए । उनका अनुसार करिब १५ किलोमिटर यो सडकको दुरी रहेको छ ।

अहिले रेशमज्युलाबाट तिमिलेसम्मको ७ किलोमिटर सडक राम्रो भएको उनले बताए । त्यहाँसम्म डिलक्स बस जानसक्ने उनको दाबी छ । तिमीले देखि मोख्लासम्मको सडकमा साना गाडीहरु हिडेपनि ठुला गाडी गुड्न नसक्ने उनले बताए ।

 

त्यस्तै रेशमज्युलाबाट रोल्पाको झ्याम जोड्ने सडक पनि छोटो हुने उनले बताए । रेशमज्युलाबाट डाँग्री हुँदै कैचिमोड, छत्रेश्वरी गाउँपालिकाको लेखपोखरा, दहखोलाबाट झ्याम जोड्न सकिने उनको भनाई छ ।

यो सडकको पनि ट्याक खोलिसकिएको छ । डाँग्रीबाट कैचिमोडसम्मको एक किलोमिटर सडकको स्तरउन्नती गर्न सके यहाँ ठुला गाडीहरु सजिलै हिड्न सक्ने उनको दाबी छ ।

जतिसक्यो काम छिटो गर्छाै : निर्माण कम्पन्नी

पुलको ठेक्का लिएको जुद्ध एण्ड पुर्ण जेभी तुलसीपुरले सम्झौता मिती अगावै निर्माण कार्य सम्पन्न गर्ने बताएको छ । जसको लागी १५ दिन अघिदेखि काम थालनी भएको कम्पनीका प्रोप्राईटर पुर्ण भण्डारीले बताए ।

उनले कामको लागी २५ जना कामदार, २ वटा साना डोजर, एउटा टिप्पर, एउटा ट्याक्टर र आवश्यकता अनुसार अन्य मेसिन थपिने गरेको बताए । पुल निर्माणको लागी आवश्यक पर्ने जाली, फलाम (सरिया) पनि यहि ल्याएर साइज बनाउने काम भैरहेको बताए ।

उनले भने– “ असार मसान्तसम्मको लागी ५० लाख बजेट छु्याइएको छ तर म त्यो भन्दा धेरै काम गर्छु, अहिले पैसासँग मतलब नगरेर जतिसक्यो छिटो काम सक्ने प्रयासमा छु ।”

प्रकाशित मिति : २०७६ बैशाख १४ गते शनिवार