• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा खेतमै गएर मेसिनले गहुँ मिर्दा किसानहरु मख्ख (फोटो फिचर)


बैशाख १४, सल्यान ।

सल्यानमा खेतमै मेसिनबाट गहुँ दाउदा किसानहरु हर्षित भएका छन् ।

जिल्लाको शारदा नदिको फाँटसँग जोडिएका अधिकांस खेतहरुमा मेसिन गएरनै गहुँ दाउदा किसानहरुलाई सहज भएको हो । उत्पादन भएको गहुँलाई खेतमै मिरेर घर भित्र्याउदा विभिन्न झनझटबाट मुक्त भएको भन्दै किसानहरु मख्ख छन् ।

खेतमा मेसिन लिएर गहुँ मिर्दै गरेका शारदा नगरपालिका १२ चैबाङज्युला (फलेदाज्युला)का किसान लक्ष्मण नेपाली प्रविधिले धेरै सहज भएको बताउछन् । लेकाली अनलाइन सँग कुरा गर्दै उनले भने– “पहिले गोरुलाई दाँही हालेर गहुँ दाउने गरिन्थ्यो, तर महिले बारीमै मेसिन आएर गहुँ मिर्छ, कयौँ गुणा सहज भएको छ ।”

उनले विगतमा धेरै मान्छे लागेर दिनभरी गहुँ दाउने गरेको तर अहिले एकै घण्टामा सबै गहुँ मेसिनले दाउने गरेको बताए । उनले भने– “पहिले धेरै मान्छे लागेर दिनभरी पनि थोरै गहुँ मिरिन्थ्यो तर अहिले मेसिनलाई एक कुइन्टोल मिरेको ३ सय ५० रुपैया दिन्छौँ, सबै गहुँ एकैछिनमा मिरिसकिन्छ ।”

त्यस्तै चैबाङज्युलाका अर्का किसान भेसराज बस्नेतले गहुँ दाउनको लागी मेसिन कुर्ने गरेको बताए । उनले मेसिन थोरै भएको तर माग धेरै भएको कारण पालो नै नआउने गरेको बताए ।

उनले भने– “हामी गहुँ काटेर दुई–तिन दिनसम्म सुकाउछौँ, त्यसपछि सबै एकैठाउँमा जम्मा गर्छाैँ र मेसिन बोलाएर दाउन लगाउछौँ ।” उनले धान–गहुँ काट्ने मेसिन पनि सल्यानमा भित्र्यिएमा किसानहरुलाई धेरै सहज हुने बताए ।

गहुँ दाउने मेसिनका चालक दिपक खड्काका अनुसार एउटा मेसनले दैनिक ३० कुइन्टोल भन्दा धेरै गहुँ मिर्ने गर्छ । बिहान ६ बजेदेखि साँझ ६–७ बजेसम्म मेसिनले खेतमै गहुँ दाउने गरेको उनले बताए ।

उनले भने– “हामी गहुँ दाउन मेसिन लिएर शारदा नदिको काभ्राबाट श्रीनगरसम्मका बारीहरुमा पुग्छौँ ।” उनका अनुसार सल्यानमा गहुँ–धान दाउने मेसिन आएको ४–५ बर्ष भयो ।

प्रकाशित मिति : २०७६ बैशाख १४ गते शनिवार