• २०७९ माघ २२ गते आइतवार
  • Preeti To Unicode

पोषण सुधारका लागी सल्यानका सवै स्थानिय तहले योजना बनाउने


मिना बुढाथोकी / बैशाख १४, सल्यान ।

जिल्लामा बालबालिकाको स्वास्थ्य तथा पोषणमा सुधारका लागी यहाँका जनप्रतिनिधिहरुले सामुहिक प्रतिबद्दता जनाएका छन् ।

बालबालिका तथा गर्भवती महिलाहरुको स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले जिल्लाका सबै १० वटै स्थानीय तहका जनप्रतिनिधि तथा स्वास्थ्य संयोजकले सामुहिक प्रतिबद्दता जनाएका हुन् । जिल्लामा स्वास्थ्य तथा पोषणको क्षेत्रमा काम गर्दै आएको सुआहारा कार्यक्रमले जिल्ला स्वास्थ्य कार्यालय संगको सहकार्यमा आयोजना गरेको स्वास्थ्य तथा पोषण सम्बन्धी दुइ दिने अभिमुखीकरण गोष्ठीमा जनप्रतिनिधिहरुले यस्तो प्रतिबद्दता व्यक्त गरेका हुन् ।

बालबालिका तथा गर्भवती महिलाहरुका लागी स्वास्थ्य क्षेत्रमा आप्mनो गाउँपालिकाले विशेष चासोका साथ योजना बनाएर कार्यक्रम सम्पन्न गर्ने त्रिवेणी गाउँपालिकाका अध्यक्ष मान बहादुर डांगीले प्रतिबद्दता जनाए । उनले स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन गर्नुभन्दा पहिले सम्बन्धित व्यक्तीलाइ राखेर योजना बनाएर अगाडी बढ्ने बताए ।

स्वास्थ्य क्षेत्र अतिनै संवेदनशील तथा अस्तव्यस्त भएको बताउँदै गाउँपालिका अध्यक्ष डांगीले स्वास्थ्य क्षेत्रमा राज्यले छुट्याएको रकम समयमै निकासा गर्नुपर्नेमा जोड दिए । उनले भने, “राज्यले स्वास्थय क्षेत्रमा छुट्याएको रकम समयमा निकासा नगरेकाले पनि काम गर्न समस्या भएको छ ।”

जिल्ला स्वास्थ्य कार्यालय सल्यानका प्रमुख रामराज नेपालीले जनप्रतिनिधि र स्वास्थ्यकर्मीले सहकार्य गरेर काम अगाडी बढेमा स्वास्थ्य क्षेत्रमा फड्को मार्न सकिने बताए । दुबै बिच एक आपसमा, समन्व, संचार र सहकार्य भएमा परिर्वतन ल्याउन सकिने बताए ।

एकै प्रकृतिको कामलाइ निरन्तरता दिनु भन्दा केही नयाँसोचका साथ अगाडी बढेमा नतिजा परिणाममुखी आउनेमा उनको जोड थियो । स्वास्थ्य आमा समूहलाई सुदृढीकरणको लागी सामुहिक रुपमा विभिन्न प्रतबिद्दता जनाएको सुआहारा कार्यक्रमका फिल्ड संयोजक तोरण बुढाथोकीले जानकारी दिए ।

उनले स्वास्थ्य आमा समूहमा स्वास्थ्य र पोषण तथा सरसफाईको वारेमा छलफल गराउनका लागी सम्बन्धित स्वास्थ्य संस्था, जन प्रतिनिधिहरुबाट नियमित अनुगमन र फ्लोअप गर्ने, स्वास्थ्य आमा समूहमा १००० दिने आमाहरुको नियमित सहभागीताको लागी न्यूनतम् चिया खाजाको व्यवस्था गर्ने, नियमित र प्रभावकारी आमा समूह संचालन गर्ने महिला स्वास्थ्य स्वयं सेविकालाई प्रोत्साहनको व्यवस्था गर्ने, स्वास्थ्य आमा समूहमा प्रजनन उमेर समूहका महिला तथा पुरुष सदस्यहरुलाई अनिवार्य समेटन प्रयास गर्ने र स्वास्थ्यकर्मीहरुको फिल्ड भम्रणको प्रमाणीकरण गर्दा सम्बन्धित वडाध्यक्षहरुले फिल्ड भ्रमण भएको नभएको एकिन गरेर मात्र प्रमाणीकरणको लागी अनुरोध गर्ने प्रतिबद्दता जनाएको बताए ।

यस्तै स्वास्थ्य, पोषण र सरसफाई सम्बन्धि सचेतना अभियान संचालन गर्ने र संस्थागत सुत्केरी वढाउनको लागी गर्भवतीलाइ विभिन्न प्रोत्साहनका कार्यक्रम हरु संचालन गर्ने लगायतका प्रतिबद्दता गरेको बताएका छन् ।

प्रकाशित मिति : २०७६ बैशाख १४ गते शनिवार