बैशाख १५, सल्यान ।
सल्यानमा विप्लव नेकपाका तिन कार्यकर्तालाई प्रशासनले एक–एक लाख रुपैया धरौटीमा रिहा गर्न आदेश दिए लगतै एक जना पुनह पक्राउ परेका छन् भने अर्का एक जना धरौटी तिर्न नसक्दा कारागार चलान भएका छन् । त्यस्तै अर्का एकजना भने रिहा भएका छन् ।
जिल्ला प्रशासन कार्यालय सल्यानले दिएको जानकारी अनुसार सल्यानको स्वीकोट निवासी २१ वर्षीय गणेश आर.सी. धरौटी बुझाउन नसक्दा आज बैशाख १५ गते कारागार चलान भएका छन् । उनलाई प्रशासनले एक लाख रुपैया धरौटी तोकेको र तिर्न नसकेपछि पुर्पक्षका लागी कारागार चलान गरिएको प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले जानकारी दिए ।
त्यस्तै दाङ घर भएर कपुरकोटबाट पक्राउ परेका नेकपा सल्यान जिल्ला सदस्य नारायन ओली रिहा भए लगतै पुनह पगिरफ्तार परेका छन् । उनलाई प्रशासनले एकलाख रुपैया धरौटीमा रिहा गरेको थियो । तर इलाका प्रहरी कार्यालय लुहाममा उनि विरुद्ध मुद्दा दर्ता भएको भन्दै प्रहरीले पक्राउ गरेको जनाएको छ ।
त्यसैगरी दार्मा गाउँपालिका निवासी २२ बर्षीय मदन केसी एकलाख रुपैया धरौटी तिरेर छुटेका छन् । उनि गत फागुन २३ गते श्रीनगरबाट पक्राउ परेका थिए । केसी र आर.सी.लाई भने यसअघि जिल्ला अदालत सल्यानले रिहा गर्न आदेश दिएपनि फेरी पक्राउ गरिएको थियो ।
उता नेकपा सल्यानका इन्चार्ज डिल्लीराज शर्मा विश्वले निर्दाेश नेपालीलाई प्रहरीले झुटा मुद्दा लगाउदै जेल हाल्ने गरेको प्रतिकृया दिएका छन् । उनले कुनै पार्टीमा आस्था भएकै कारण अपराधी जस्तो देखेर झुटा मुद्दा लगाएर प्रहरीले नराम्रो काम गरिरहेको बताएका छन् ।
उनले भने– “हाम्रो लडाइ दलाल सत्ता सँग हो, प्रहरीले धेरै चुरिफुरी नगरे हुन्छ, यस्तै कार्य जारी राखेमा यसको परिणाम नराम्रो आउछ । ”