• २०७९ माघ २२ गते आइतवार
  • Preeti To Unicode

सल्यानमा एकैरात एक वडा कार्यालय र पाँच घर तथा पसलबाट पौने ३ लाखकाे चोरी


बैशाख १६, सल्यान ।
सल्यानमा एकै समयमा एउटा वडा कार्यालय र ५ वटा घर तथा पसलहरु चोरी भएका छन् । जसबाट करिब २ लाख ८७ हजार रुपैयाँ चोरी भएको छ । चोरी हुनेमा धेरैजसो नगद, रिचार्ज र मोबाइल रहेका छन् ।

आइतबार राती जिल्लाको शारदा नगरपालिका ६ नम्बर वडा कार्यालयमा चोरी भएको हो । कार्यालयको ताला फोडेर सामाजिक सुरक्षा बापत राखिएको २५ हजार बराबरको चोरी भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

त्यस्तै वडा कार्यालय नजिकै भट्टाचौरमा रहेको मनिराम खत्रीको पसलबाट १० हजार ५ सय चोरी भएको छ । साथमा उनको ६ हजार ७ सय पर्ने मोबाइल पनि चोरी भएको प्रहरीले बताएको छ ।

त्यसैगरी आइतबार राती नै शारदा नगरपालिकाको वडा नम्बर ७ कजेरीमा पनि ४ वटा घर र पसल चोरी भएका छन् । स्थानीय टेक बहादुर बोहराको घरमा बाकस फोडेर १ लाख ३० हजार नगद चोरी भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अर्का स्थानीय पुनराम रेउलेको पसलमा ५० हजार नगद र १० हजारका रिचार्ज कार्ड चोरी भएको छ । मान बहादुर बस्नेतको घरबाट बाकस फोडेर ३२ हजार नगद र खुत्रुकीमा राखेको २० हजार, सिता खड्काको घरबाट झोलामा रहेको नगर ३ हजार चोरी भएको प्रहरीले बताएको छ ।

घटनास्थलमा बिहानै देखी प्रहरी पुगेर अनुसन्धान गरि रहेको प्रहरीले जनाएको छ । वडा कार्यालयको कार्यालयमा भएको चोरीमा संलग्न अपरिचित व्यक्ती वा समुहको खोजी कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी विरेन्द्र बहादुर शाहीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७६ बैशाख १६ गते सोमवार