• २०७९ माघ २२ गते आइतवार
  • Preeti To Unicode

पौडेललाई आक्रमण गरी सरकार कमजोर बनाउन खोजियो, विप्लवमाथीको प्रतिबन्ध हट्दैन : प्रधानमन्त्री ओली



बैशाख १७, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार जग्गा प्रकरणमा मुछिएका नेकपा महासचिव विष्णु पौडेलको बचाउ गरेका छन् । नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले पौडेलबारे भ्रम फैलाइएको बताएका हुन् । पौडेलले पदीय दुरुपयोग गरेर जग्गा नजोडेको दाबी गर्दै नेकपा अध्यक्ष समेत रहेका ओलीले भने, ‘राजाको शासनका बेला उहाँले जमिन किन्नु भएको रहेछ ।’

पौडेललाई आक्रमण गरेर पार्टी र सरकारलाई कमजोर बनाउन खोजेको उनको दाबी । पौडेलले किनेको जग्गा सार्वजनिक जग्गाभित्र पर्छ कि पर्दैन ? जालझेलभित्र पर्छ कि पर्दैन ? हडपेको हो कि होइन सबै तथ्यसहित प्रस्तुत हुने प्रधानमन्त्री ओलीले बताए ।

महासचिव पौडेलमाथि पार्टी भित्रैबाट कारबाहीको माग उठिरहेका बेला प्रधानमन्त्री ओली नरम रूपमा प्रस्तुत भएका हुन् । ‘हाम्रा महासचिव विष्णु पौडेलले राजा ज्ञानेन्द्र शाहको शासनका बेला २०६१ सालमा बालुवाटारको दक्षिण कुनामा आठ आना जमिन किन्नुभएको रहेछ’, ओलीले भने, ‘त्यो जमिन सरकारीे पर्छ कि पर्दैन? समयक्रममा प्रष्ट हुनेछ, हतार गर्नुपर्दैन ।’

सरकारी जमिन फिर्ता ल्याउने कुरामा सरकार वाद प्रतिवादमा अल्झिने भन्दा पनि गहिराइ गएर गम्भीरतापूर्वक छानबिन गरी दोषीलाई कारबाही गर्ने ओलीको भनाइ थियो। ‘भृकुटीमण्डप हामीले बेचेको हो ? रत्नपार्कमा हामीले टहरा ठड्याएको हो ?’, ओलीको प्रश्न थियो, ‘हामीले त्यहाँका टहरा भत्काएका छौँ, सरकारी जमिन फिर्ता पनि ल्याएका छौँ ।’

प्लवमाथिको प्रतिबन्ध हट्दैन

विप्लव नेकपामाथि लगाएको प्रतिबन्ध नहट्ने ओलीले प्रष्ट पारेका छन् । प्रमुख विपक्षी सहितका दलहरुले वार्ता र सम्वादबाट समाधान खोज्नुपर्ने बताए पनि ओलीले भने प्रतिबन्ध फिर्ता लिने सम्भावना नरहेको बताए ।

प्रधानमन्त्री ओलीले जनताका नाममा बम पड्काउन, उदण्डता मच्चाउन नदिइने बताए । प्रतिबन्ध भन्ने शब्द उल्लेख नगरी उनले भने, ‘कतिपयले फिर्ता लिनुपर्छ भनिरहेका छन् । बम पड्काउन पाइन्न भन्ने पनि फिर्ता लिने ? यो हुँदैन ।’

विप्लव समूहले हतियार बुझाए सहज हुने उनले बताए । नभए सरकारले नियन्त्रण गर्ने प्रष्ट पारे । सरकारले विप्लव समूहमाथि २८ फागुनमा प्रतिबन्ध लगाएको थियो । त्यसयता विप्लव समूहमा संलग्न भएको आरोपमा थुप्रै नेता कार्यकर्ता पक्राउ परे पनि केही भने छुटेका छन् ।

प्रकाशित मिति : २०७६ बैशाख १७ गते मङ्गलवार