मिना बुढाथोकी / बैशाख १९, सल्यान ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा विगत ६ महिना यता सामाजिक सुरक्षा भत्ता वितरण नहुंदा लक्षित वर्ग समस्यामा परेका छन् । विगत ६ महिना यता आफुले पाउँदै आएको भत्ता नपाएपछि आफुलाई निकै समस्या परेको बनगाड कुपिण्डे नगरपालिका –५ चिउराका ८० वर्षीय पुरणसिं नेपालीले दुखेसो पोखे ।
बुढेसकालमा त्यही भत्ताले जिवन यापन गर्दै आएको बताउँदै उनले भने– “यस पटक भने भत्ता नपाउँदा घरखर्च चलाउन गाह्रो भइ रहेको छ । सरकारले हामी जेष्ठ नागरिकलाई सहज होस भनेर केही पैसा दिने गरेको थियो ।” उनले थपे– “महिनामा दुई हजार का दरले पाउँदै आएको भत्ता ६ महिना हुँदा सम्म पनि पाईएन् गोजीमा आउने त्यही पैसापनि नआउँदा सारै कठिनाई परेको छ ।”
बनगाड कुपिण्डे नगरपालिका –४ चिउराका विरमी कुमारी कामीको पीडा पनि उस्तै छ । “बुढेसकालमा कतैबाट पनि पैसा आउने ठाउँ छैन् । ‘आफुले कमाउन सकिदैंन त्यही भत्ताले घरमा आवश्यक काम टार्ने गरेका थियौं तर अहिले यति लामो समय सम्मपनि रकम नपाउँदा समस्या परेको छ ।” –उनले भनन्
सोही नगरपालिका –५ राउँचेका अपाङ्ग ठाकुर बुढाथोकीले पनि ६ सय रुपैयाँका दरले आफुले मासिक रुपमा पाउँदै आएको रकम लामो समयसम्म नपाउँदा सास्ती भोग्नु परेको छ । आफुलाई आवश्यक पर्ने सामानहरु खरिद गर्न कठिन भएको बताए ।
यता यस नगरपालिका भित्रका २ हजार ९ सय ७३ जनाले सामाजिक सुरक्षा भत्ता पाउँदै आएकोमा यस आर्थिक वर्षको कात्तिक महिनादेखी रकम उपलब्ध गराउन नसकेको नगरपालिकाले जनाएको छ । “कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर गएपछि रकम निकासा गर्न रोकिएको थियो ।” –नगर प्रमुख गोविन्द कुमार पुनले भने– “अब नयाँ प्रशासकिय अधिकृत आउनु भएको छ । केही दिन भित्रै सबैलाइ सामाजिक सुरक्षा भत्ताको रकम उपलब्ध गराउने छौं ।”
गत आर्थिक वर्षमा ७ सय ५८ जना ८० वर्षमाथीका जेष्ठ नागरिक, ५ सय ४७ अन्य जेष्ठ नागरिक, ८ सय ४९ एकल महिला, ४५ जना पुर्ण अपाङ्ग, ६४ जना आँशिक अपाँग, ७ सय १० दलित बालबालिकालाई सामाजिक सुरक्षा रकम वितरण गरिएको नगरपालिकाका सचिव बालाराम बास्तोलाले जानकारी दिए ।
८० वर्ष माथीका जेष्ठ नागरिकलाई मासिक दुई हजारका दरले, अन्य जेष्ठ नागरिकलाई मासिक एक हजार, एकल महिलालाई मासिक एक हजार, पुर्ण अपाँगलाई मासिक दुई हजार, दलित बालबालिकालाई मासिक चार हजार, आँशिक अपाँगलाई ६ सय र तीन सयका दरले रकम वितरण गरिंदै आएको उनको भनाई छ ।