• २०७८ असोज ४ गते सोमवार
  • Preeti To Unicode

सल्यानका एक किसानले माछापालनबाट लाखौँ आम्दानी गर्छन् (भिडियो सहित)


बैशाख २१, सल्यान ।
सल्यानका एकजना किसानले व्यवसायीक रुपमा माछापालन गर्दै आएका छन् । विगत ११ बर्षदेखि माछा पाल्दै आएका छत्रेश्वरी गाउँपालिका वडा नम्बर ६ कल्लेखोलाका किसान भिम बहादुर कुँवर योगीले पछिल्लो समय आधुनिक तरिकाबाट माछापालन गरेका छन् ।

दश रोपनी जग्गामा १० ओटा पोखरी निर्माण गरेर उनले आफ्नो धान उत्पादन हुँने जमिनलाई माछापालनमा प्रयोग गरेका छन् । आफ्नो पोखरीमा ४ किसिमका माछाहरु भएको उनले लेकाली अनलाइनसँगको कुराकानीमा बताए । उनले बिषेशगरी घाँसखाने र दाना खाने माछा भएको र ति भित्र किसिम किसिमका माछाहरु भएको बताए ।

पोखरीमा राख्नको लागी माछाका बच्चाहरु केहि आफ्नै पोखरीमा उत्पादन हुने र केहि दाङबाट ल्याउने गरेको उनको भनाई छ । खोलाका सर माछाका बच्चालाई पनि ल्याएर पोखरीमा राख्ने गरेको उनले बताए । उनले भने– “खोलाको माछा महंगो हुन्छ, त्यसलाई पनि हामीले पाल्ने गरेका छौँ ।”

माछाको दानाको लागी आफुलाई खासै समस्या नभएको उनको भनाई छ । उनले भने– “मेरो आफ्नै मिल छ, त्यहि मिलबाट आउने पिना माछाको दानामा प्रयोग हुन्छ ।” पोखरीमा माछा राखेको १ बर्षदेखि उत्पादन हुुन सुरु हुनेगरेको उनले बताए ।

एउटा ठुलो पोखरीमा ५ हजारसम्म माछा उत्पादन हुने गरेको उनको भनाई छ । सर माछा प्रतिकिलो एक हजार रुपैया र अन्य माछा प्रतिकिलो ५ सय रुपैया घरबाटै बिक्री हुनेगरेको उनले बताए । माछाबाट सबै खर्च कटाएर बार्षिक साढे २ लाखदेखि ३ लाखसम्म आम्दानी बचत हुनेगरेको उनको भनाई छ ।

उनले भने– “माछा बिक्रिको लागी मलाई कुनै समस्या छैन्, फोनबाटै मलाई सम्पर्क गर्छन् । केहि गाउँमा पनि बिक्री हुन्छ्, केहि जिल्लाका विभिन्न ठाउँ, रुकुम र दाङसम्म जान्छ ।” आफ्ना छोराछोरी बाहिर भएपनि बुढाबुढीले मात्रै माछा पालेको उनले बताए ।

माछा सँगै उनले आफ्नै जग्गामा पानेमिल संचालन गरेका छन् । मिलबाट पनि केहि आम्दानी हुने र एक जनालाई मिलमा रोजगारी दिएको उनको भनाई छ । विभिन्न आधुनिक मेसिनहरु भित्रदा पानेमिल संचालनमा समस्या भएको उनले बताए ।

माछामा सबैभन्दा दुख रेखदेखमा हुने गरेको उनले बताए । उनले भने– “सुरुमा पोखरी निर्माण गर्दा खर्च लाग्छ, त्यपछि पोखरीमा माछा हालिसकेपछि रेखदेखमा समय दिनुपर्छ ।” दिउसो चराले खाने र राती सर्पले खानेभएकाले राती र दिउस रेखदेख गर्नुपर्ने समस्या भएको उनको भनाई छ । एकपटक पोखरी बनाएपछि त्यसमा माछा हालेको १ बर्षदेखि २ बर्षसम्म उत्पादन हुने र त्यसपछि अर्काे माछा हाल्नलाई त्यहि पोखरीलाई फेरी निर्माण गर्नुपर्ने उनले बताए ।

पोखरी निर्माणको लागी तत्कालिन जिल्ला कृषि विकास कार्यालय सल्यानबाट केहि अनुदान मिलेको उनले बताए । थोरै मात्रामा अनुदान मिलेपनि सबैजसो आफ्नै खर्चमा पोखरी निर्माण गरेको उनको भनाई छ ।

उनले अनुदानको मात्रै आस नगरेर आफैले लगानी गरेर उत्पादन गर्नसके राम्रो हुने बताए । उनले भने– “सरकारले अनुदान दिईसकेपछि त्यसलाई निगरानी गर्नुपर्छ, धेरैले अनुदान ल्याउने र त्यो पैसा अनेन्त्र खर्च गरेको देखिन्छ ।” सरकारले माछालाई खुवाने दानामा मुल्य कम गरेपनि उत्पादन गर्न सहज हुने उनको भनाई छ ।

हेर्नुहोस् उनै किसान याेगी सँग लेकाली अनलाइनका सम्पादक खकेन्द्र केसीले गरेको कुराकानी

प्रकाशित मिति : २०७६ बैशाख २१ गते शनिवार