• २०७९ माघ २२ गते आइतवार
  • Preeti To Unicode

सल्यान पश्चिममा खानेपानीको चरम सङ्कट, स्थानीयवासी गाउँ छाड्न थाले


इन्द्र ब बुढाथोकी / बैशाख २२, सल्यान । 
सल्यानको बनगाड कुपिन्डे नगरपालिकाको १२ वडामा नै खानेपानीको चरम सङ्कट देखिएको छ ।

गर्मी समय लागेसंगै पानीका मुहान सुक्दै गएकोले पानीको सङ्कट देखिएको हो । साबिकका गाविसहरु निगाल्चुला, कुपिण्डे, माझकाडा, घाजरीपीपल, मुलखोला, बामे र देवस्थल गाविसको उच्च स्थानमा रहेका बस्तीमा पानीको अभाव हुन थालेपछि त्यहाँका बासिन्दा बसाइँ सर्न थालेका छन् ।

बनगाड कुपिन्डे नगरपालिका बस्तीमा खानेपानीको स्रोत नहुँदा बस्ती नै सङ्कट परेको स्थानीय अमर प्राबीका प्रअ झलक बुढाले बताए । उनले भने- “पानीको स्रोत सुक्दै गएकाले बर्सेनि तीनदेखि पाँच परिवारले गाउँ छोड्न थालेका छन्, बस्ती नै खाली हुने खतरा छ ।

उच्च डाडकाडा बस्तीहरुमा पानीको अभाव भएपछि तीन/चार घन्टा हिँडेर पानी ल्याउनुपर्ने बाध्यता रहेको स्थानीयहरु बताउछन । एउटै घरबाट दुई/तीन जनाले पालैपालो पानी आसार्नु परिरहेको र दैनिक अन्य काम छाडेर पानी ल्याउने काम मात्र गर्ने गरेका र वर्ष भरी खानेपानीको समस्या हुने बनगाड कुपिण्डे नगरपालिका ३ मेल्टाकुराका स्थानीय इन्द्र पुन बताउँछन् । “दिनभरमा चार गाग्री पानी आउँछ परिवारमा सात/आठ जना हुन्छन्, नुहाउने र कपडा धुनेको त कुरै नगराँै खानेपानी पाउनसमेत धौधौ छ,” उनले भने ।

पानी बोक्नकै लागि बालबालिकाको पढाइसमेत प्रभावित हुने गरेको निगाल्चुलाका प्रेम बहादुर पुनले बताए । आकाशे पानी सङ्कलनका लागि बनाइएका पुराना पोखरीमा पनि पानी सुकेपछि बस्तुभाउलाई समेत पानी बोकेर खुवाउनुपर्ने बाध्यता रहेको छ । पानी सङ्कलनका लागि निगाल्चुलामा चारवटा पोखरी बनाइएको छ ।

यस वर्षदेखि पानी पूरै सुकेपछि बस्तुभाउ बचाउनै गाह्रो भएको स्थानीयवासी लालबहादुर घर्तीले पीडा सुनाए । उनले भने- ‘पर्याप्त पानी नपरेपछि आकासे पानी सङ्कलनका लागि बनाइएका घैँटासमेत खाली छन् ।’

पानीको अभावका कारण बस्तुभाउ पाल्न छोडेको स्थानीयवासी नारायण खत्रीले बताए । खत्रीका अनुसार पहिले नजिकै कुवाबाट पानी ल्याउने गरेको भए पनि कुवा सुकेपछि स्थानीयवासी गाउँ छोडेर जान थालेका छन् ।

“गाउँमा आउने न त पानीको स्रोत छ न त नजिक कुवा नै, पानीको सास्तीले बसाइँ सर्नु परिरहेको छ,” खत्रीले भने। खानेपानी अभावसँगै विद्यालय र घरमा बनाइएका शौचालय दुर्गन्धित र फोहर भएपछि प्रयोगहिन भएका छन । खानेपानीबाट यस क्षेत्रका करिब ३६ हजार मानिसहरु समस्यामा छन् ।

प्रकाशित मिति : २०७६ बैशाख २२ गते आइतवार