• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

दाङको एक क्याम्पसमा लागेको ताला खोलियो


पूर्ण के.सी. बैशाख २२, दाङ । दाङको राप्ती बबई क्याम्पसमा लागेको ताला १२ दिनपछि खुलेको छ । बिभिन्न माग राख्दै कम्युनिष्ट निकट बिद्याथी संगठन अनेरास्वबियू र अखिल क्रान्तिकारीले बैशाख १० गते लगाएको ताला आईतबार खुलेको हो ।

बिद्यार्थीहरुले राखेका बिभिन्न मागका बिषयमा सहमति भएपछि ताला खोलेको अखिल क्रान्तिकारी राप्ती बबई क्याम्पस ईकाई अध्यक्ष प्रकाश ओलीले जानकारी दिए ।

बिद्यार्थीहरुका माग सम्वोधन गर्न गठित वार्ता समितिका संयोजक बिनिल केसीको अध्यक्षतामा बसेको बैठकले ७ दिन भित्र क्याम्पसको पठन-पाठनलाई नियमित क्याम्पस प्रशासनबाट आबश्यक कार्य गर्ने-गराउने, तत्काल कक्षा सञ्चालनको मोवाईल फोनको प्रयोग बन्द गर्ने, प्राध्यापक तथा कर्मचारीहरुको हाँजिरी विवरणलाई दैनिक रुपमा सार्बजनिक गर्ने, खुल्ला प्रतिस्पर्धाबाट मात्र प्राध्यापक र कर्मचारीको भर्ना गर्ने सहमति भएको हो ।

त्यस्तै २०७६ साल जेठ १० गतेभित्र प्रध्यापक तथा कर्मचारीका ब्यक्तिगत विवरण फाराम सञ्चालक समितिले माग गरि आबश्यक कारबाही गर्ने, सुविधासम्पन्न शौचालय असार भित्र सम्पन्न गर्ने र हाल प्राध्यापक, कर्मचारी तथा बिद्यार्थीलाई एउटै खानेपानीको ब्यबस्था गर्ने, ७ दिन भित्रमा अलग कोठासहित छात्राहरुका लागि सेनेटरी प्याडको ब्यस्था गर्ने, बिगतमा गरिएका सहमतिलाई आबश्यकता अनुसार कार्यान्वयन गर्ने, ३ महिनाका लागि नियुक्ति पाएका प्रध्यापकहरुको कानुनी अबस्था बारे प्रशासनसंग परामर्स गरेर आबश्यक प्रक्रिया अबलम्ब गर्ने सहमति भएको हो ।

संयोजक बिनिल केसीसहित, सदस्य बिरबहादुर भण्डारी, मिनराज भण्डारी, क्याम्पस प्रमुख युवराज रावत, सहायक क्याम्पस प्रमुख भूपबहादुर बुढाथोकी, सूर्यप्रसाद शर्मा, अनेरास्वबियुका क्याम्पस ईकाई अध्यक्ष रबीन ओली, अखिल क्रान्तिकारीका क्याम्पस ईकाई अध्यक्ष प्रकाश ओलीको सहागिता थियो ।

यस अघि आफ्ना मागहरुका बिषयमा कुनै वास्ता नगरेको भन्दै दुई बिद्यार्थी संगठनहरुले क्याम्पस प्रशासनमा ताला लगाएका थिए ।

प्रकाशित मिति : २०७६ बैशाख २२ गते आइतवार