• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

दलित बस्ती जाने बाटोलाई स्थानीयले पर्खाल लगाएर बन्द गरे


बैशाख २३, लाहान ।

सिरहाको कल्याणपुर नगरपालिका–९ डुमरी गाउँका १३ घर दलित परिवारले प्रयोग गर्दै आएको सार्वजनिक बाटोमा स्थानीय केही व्यक्तिले पर्खाल निर्माण गरेका छन् । दलित बस्ती जोड्ने सडकमा पाँच फिट अग्लो पर्खाल निर्माण गरिएपछि १३ परिवार दलितलाई आवत–जावतमा समस्या भएको छ ।

आजको नयाँ पत्रिकामा समाचार छ- सडक क्षेत्रको जग्गा आफ्नो भएको दाबी गर्दै स्थानीय लडुवती यादव र उनका भतिजाहरूले पर्खाल लगाएर बाटो बन्द गरेका हुन् । सडकमा पर्खाल निर्माण गरेपछि हिँडडुल गर्न समेत समस्या भएको दलित बस्तीका जोगी मण्डलले बताए । विगत १० वर्षदेखि स्थानीय दलित परिवारले सो सडक प्रयोग गर्दै आएका थिए ।

 गाउँ ब्लकको जग्गा हडप्ने प्रयास

यादव परिवारले आफ्नो दाबी गर्दै पर्खाल निर्माण गरेको बाटो गाउँ ब्लकको जग्गामा पर्छ । मिर्चैया– कल्याणपुर–सिरहा सहायक सडक खण्डमा पर्ने डुमरी गाउँको दलित बस्ती जोड्ने सो सडक करिब अढाई सय मिटर लामो छ ।

तत्कालीन डुमरी गाविस कार्यालयले सडकमा ग्राभेल र विद्युतीकरणसमेत गरेको छ ।‘जग्गाको मूल्य बढेपछि यादव परिवारले आफ्नो दाबी गर्दै बाटोमा पर्खाल लगाएका हुन्,’ मण्डलले भने, ‘१० वर्षअघि समाजका अगुवाले गाउँ ब्लकमा पर्ने पाँच धुर क्षेत्रफलको १० फिट बाटो कायम गरेपछि हामीले बस्ती बसाएका हौँ । पर्खाल लगाएर बन्द गरेपछि हिँडडुल गर्नै समस्या भएको छ ।’

बाटोले ओगटेका पाँच धुर जग्गा गाउँ ब्लकमा रहेको स्थानीय बिन्दी यादवले बताए । बस्तीका १३ घरधुरीले १० वर्षअघि स्थानीय देवनारायण यादवसँग आठ कट्ठा किनेर बस्ती बसाएका हुन् ।

१३ परिवार दलितसँग पाँच धुरदेखि एक कट्ठासम्म जग्गा छ । ‘त्यतिवेला जग्गा, जग्गा धनी देवनारायणले बाटो छाडेरै बिक्री गरेका थिए’ मण्डलले भने ‘अहिले जग्गाको मूल्य बढेपछि बाटोसमेत हडप्ने प्रयास गरिएको छ ।’

त्यतिवेलै गाउँ ब्लकमा पर्ने बाटोको विषयमा विवाद हुँदा स्थानीय पाँच सदस्यीय टोलीले उत्तर र दक्षिण दुवैतिरबाट आधा–आधा जग्गा पर्ने गरी बाटो कायम गरिदिएको स्थानीय करिया खत्वेले बताए । बाटो बन्द गरिएको विषयमा स्थानीय प्रहरी प्रशासनलाई जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको पीडित परिवारले बताएका छन् ।

बस्तीको बाटोमा पर्खाल लगाएपछि विगत एक महिनादेखि १३ परिवार गाउँदेखि पश्चिमतिरको खोलीखेत, छिमेकीको घर–आँगनबाट हिँड्न बाध्य छन् । दलित बस्तीकी रेणु पासवानले भनिन् ‘सुक्खा मौसममा त जसोतसो हिँडौँला, वर्षात्मा छोराछोरीलाई विद्यालय पठाउन पनि समस्या पर्नेभयो ।’

 नगरलाई पत्राचार गरेका छौँ : प्रजिअ

दलित बस्तीको बाटो खुलाउन नगरपालिकालाई पत्राचार गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए । बाटो बन्द भएको विषयमा पीडित दलित परिवारले प्रशासनमा जानकारी गराएपछि प्रशासनले नगरपालिकालाई बाटो खोल्ने विषयमा पहल लिन आग्रह गरेको हो ।

‘नगरपालिका र वडा कार्यालय मिलेर दलित बस्तीको निकासका रूपमा रहेको बाटो खुलाउन पत्रमार्फत आग्रह गरेको छु’ प्रजिअ पण्डितले भने ।  कल्याणपुर नगरपालिकाका प्रमुख सूर्यनाथ मण्डलले बाटो घेरिएर समस्यामा परेका बस्तीका पीडित, बाटो घेर्ने र जग्गा बेच्ने सबै पक्ष एक ठाउँमा बसेर छलफल गर्ने योजना बनाएको बताए ।

प्रकाशित मिति : २०७६ बैशाख २३ गते सोमवार