बैशाख २३, रसिया ।
रसियाको मस्कोस्थित सेरेमेटिएभो विमानस्थलमा आपत्तकालिन अवतरण गर्ने क्रममा विमानमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको छ ।
सामाजिक सञ्जालमा सेयर गरिएको भिडियोमा यात्रुहरु एरोफ्लोट एयरलाइन्सको विमानको आपत्तकालिन द्वारबाट भाग्दै गरेको देखाइएको छ ।
रसियाको मिडियाका अनुसार मारिनेमा दुई बालबालिका र एक चालक दलका सदस्य रहेका छन् ।
प्रत्यक्षदर्शीले घटनाको बयान गर्दै उक्त दुर्घटनाबाट कोही पनि बाँच्नु ‘चमत्कार’ नै भएको बताएका छन् ।
विमानमा ७३ यात्रु तथा ५ जना चालक दलका सदस्य रहेका थिए । दुर्घटनाबाट ३७ जना बाँच्न सफल भएका छन् । जसमध्ये ३३ यात्रु र चार चालक दलका सदस्य रहेका छन् ।
पाँच जना घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।रसियाको राष्ट्रियध्वजाबाहक विमान ‘प्राविधिक गढबढी’ देखिएपछि आपत्तकालिन अवतरणका लागि विमानस्थलमा फर्किएको बताइए पनि यसबारे विस्तृत जानकारी दिइएको छैन ।
सुखोइ सुपरजेट १०० मोडलको विमानले सेरेमेटिएभो विमानस्थलबाट स्थानीय समयअनुसार साँझ ६ बजेर २ मिनेटमा उडान भरेको थियो ।
तर, उडान भर्ने बित्तिकै चालकका सदस्यले विमानमा प्राविधिक समस्या देखिएको जानकारी गराएका थिए ।
आपत्तकालिन अवतरण गर्ने क्रममा विमानको इन्जिनमा अगलागी भएको थियो ।