• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

काँग्रेसको विरोधका बीच पनि नीति तथा कार्यक्रम बहुमतले पारित


बैशाख २४, काठमाडौं ।
प्रतिनिधिसभाको आजको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २० गते शुक्रबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्। प्रमुख प्रतिपक्षी दलको अवरोधका बीचमा नीति तथा कार्यक्रम पारित भएको हो।

संसदमा यसरी भयो हंगामा

प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले संसद्को गरिमा कायम नभएको भन्दै नियमापत्ति गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश, कुन्ठा र निम्छरो अभिव्यक्तिहरुलाई वास्ता नगरेर प्रश्नहरुको जवाफ दिन्छु भनेपछि संसदमा हंगामा भयो । सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिए । लगत्तै का्रग्रेसका सांसदहरुले प्रश्न गरे ।

जवाफ दिन रोष्टममा पुगेका प्रधानमन्त्री ओलीले ‘आक्रोश, कुन्ठा र निम्छरा अभिव्यक्तिहरुको वास्ता नगरेर प्रश्नहरुको जवाफ प्रस्तुत गर्छु’ भन्दै सम्बोधन सुरु गरे । लगत्तै कांग्रेस सांसद मीन विश्वकर्माले नियमापत्ति जनाए ।

सभामुखले ध्यानाकर्षण भएको बताए तर, रोष्टममा उभिएका प्रधानमन्त्री ओलीले ‘प्रश्नको सीमा र मर्यादा हुन्छ’ भन्ने जवाफ दिए ।त्यसपछि कांग्रेस सांसद र प्रधानमन्त्री ओलीबीच जुहारी चल्यो । रोष्ट्रमबाट प्रधानमन्त्रीले भने, रेकर्ड खोलेर सुनियोस् ।’

जवाफमा कांग्रेस सांसदहरुले चुनौती दिए । प्रधानमन्त्रीले प्रश्नको जवाफ चाहिएको छ कि छैन भन्ने प्रश्न गरे । प्रधानमन्त्री र विपक्षी सांसदहरुबचि जुहारी चलिरहँदा सभामुख भने निरिह देखिए । उनले न त विपक्षी सांसदहरुलाई चित्त बुझाउन सके न प्रधानमन्त्रीलाई रोक्न सके । कांग्रेस सांसदहरुको नाराबाजीकै बीच प्रधानमन्त्री ओलीले जवाफ दिए ।

तुइन विस्थापन हुँदै

त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभरको तुइन विस्थापन गरेर झोलुङ्गे पुल निर्माण गर्ने कार्यक्रमलाई तीव्रता दिइएको बताए। आव २०७६/७७ का लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेको जिज्ञासामा आफूले दिएको जवाफबारे सांसदले राखेका थप जिज्ञाशाको सम्बोधन गर्दै उनले दार्चुलास्थित महाकाली नदीमाथि तुइन विस्थापन गरी झोलुङ्गे र पक्की पुल निर्माण गर्ने काम भइरहेको जानकारी दिए।

प्रधानमन्त्री ओलीले भने, ‘दार्चुलाका धौलाकोटलगायत स्थानमा तुइन विस्थापन भई झोलुङ्गे पुल बनेका छन्, सुर्केगाडमा पक्की पुल निर्माण भइरहेको छ, थप चार झोलुङ्गे पुल बोलपत्र आह्वान गरी निर्माण भइरहेका छन्।’

सशस्त्र द्वन्द्वका घाउ अन्त्य गर्नेतर्फ सरकार सचेत रहेको प्रष्ट पार्दै प्रधानमन्त्रीले द्वन्द्वमा परी घाइते भएका व्यक्तिको उपचार गर्ने र उनीहरुको सहज जिवनयापनका लागि सरकारको ध्यान गएको बताए।

गरीब घरपरिवारको व्यवस्थापन गर्न सरकार क्रियाशील ढङ्गबाट अघि बढेको बताउँदै उनले अहिलेसम्म गरीबका लागि आठ हजार आवास निर्माण गरी हस्तान्तरण गरिएको जानकारी दिए। प्रधानमन्त्रीले राष्ट्रिय मानवअधिकार आयोग आफ्नो संवैधानिक अधिकार प्रयोग गर्न स्वतन्त्र रहेको प्रष्ट पारे।

त्यसअघि सांसदले नीति कार्यक्रममाथिको छलफलका क्रममा उठेको जिज्ञासाको प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएको भन्दै पुनः प्रतिप्रश्न गरेका थिए। प्रधानमन्त्रीले सांसदले उठाएको प्रतिप्रश्नको जवाफ दिने क्रममा प्रतिपक्षी काङ्ग्रेसका सांसदले उठेर विरोध जनाएका थिए। सभामुख महराले पटक पटक सांसदलाई आसन ग्रहण गर्न आग्रह गरे।

सभामुखको आग्रह अटेर गर्दै विपक्षी सांसदले उभिएर विरोध गरेपछि प्रधानमन्त्रीले प्रश्न गर्ने सांसद्को अधिकारको विषय भएको उल्लेख गर्दै मर्यादित ढङ्गबाट प्रश्न गर्न पाइने बताए। उनले भने, ‘अमर्यादित शब्द बोल्न पाइँदैन, प्रश्नको सीमा र मर्यादा हुनुपर्छ।’ काङ्ग्रेसका सांसदको विरोध बढ्दै गएपछि प्रधानमन्त्रीले पुनः भने, ‘प्रश्नको जवाफ चाहिएको छ कि छैन ? म यहाँ जवाफ दिन उभिएको हो ?’

प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख २७ गते बिहान ११ बजे बस्नेछ।

प्रकाशित मिति : २०७६ बैशाख २४ गते मङ्गलवार