• २०७९ माघ २० गते शुक्रवार
  • Preeti To Unicode

सल्यानमा वडाअध्यक्षले मेयर विरुद्व उच्च अदालतमा मुद्दा हाले


इन्द्र बुढाथोकी /  बैशाख २५, सल्यान ।

सल्यान बनगाड कुपिण्डे नगरपालिका मेयर गोबिन्द कुमार पुन विरुद्व उनकै वडा अध्यक्षले अदालतमा मुद्दा दर्ता गराएका छन् । आफ्नो अधिकारमाथी मेयर पुनले हस्तक्षप गरेको भन्दै वडा नम्बर १२ का वडाध्यक्ष गोबिन्द डाँगीले उच्च अदालत सुर्खेतमा निवेदन दिएका हुन् ।

नगरप्रमुखले आफ्नो काम, कर्तब्य र अधिकार माथी ठाडो हस्तक्षेप गरेको वडा अध्यक्ष डाँगीको आरोप छ । “स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार वडाबाट सञ्चालन हुने योजनाको सम्झौता, अनुगमण र भुक्तानीको लागी सिफारिस गर्ने सबै अधिकार वडाअध्यक्षलाई प्रदान गरिएको छ, तर नगरप्रमुखले वडाअध्यक्षको अधिकार माथी हस्तक्षेप गर्नुभएको छ”– वडा अध्यक्ष डाँगीले भने ।

अध्यक्ष डाँगीले आफुले वडा कार्यालय भन्दा बाहिर जादा ५ दिन भन्दा बढी बाहिर बस्नु परेमा सधै कार्यबहाक अध्यक्षको जिम्मेवारी दिएर जाने गरेको बताएका छन । उनले जनताको काममा आफुले कहिले पनि बाधा अवरुद्ध नगरेको दाबी गरे ।

तर नगरप्रमुख पुन नगरपालिका बाट २–३ महिनासम्म बाहिर गएर बस्दा पनि कहिले कार्यबहाकको जिम्मेवारी नदिएर गएको उनको भनाई छ । अध्यक्ष डाँगीले भने– “जसले नीति र विधि अनुसार काम गर्छ उसलाई नै नगर प्रमुखले आरोप लगाउने तर नगरप्रमुख कहिले पनि नीति विधिमा नचल्ने ? यसरी नै हाम्रो नगरपालिकामा विभेद भएको छ ।”

नगरप्रमुखले वडाबाट सञ्चालन हुने योजनाको सम्झौता, अनुगमण र भुक्तानीको लागी सिफारिस गर्ने सबै अधिकार मनोनित कार्यपालिका सदस्यलाई दिएको बताईएको छ ।

यता नगरप्रमुख पुनले कार्यपालिका सदस्यलाई वडामा हुने योजनाहरुको लागी उपभोक्ता समिती गठन, योजना सम्झौताको सिफारिस लगाएतका कार्यहरु सञ्चालन गर्ने मात्र जिम्मेवारी दिएको स्वीकार गरेका छन् । उनले वडा समितिको बैठकको निर्णय अनुसार काम गरेको र वडा समितिको निर्णय बिना कुनै पनि काम कार्यापालिका सदस्यले नगरेको बताए ।

आफुले योजना सम्झौता र कामकाज गर्ने मात्र जिम्मेवारी दिएको तर अन्य आरोप तर्कहिन भएको उनको दाबी छ । उनले नगर प्रमुखलाई बदनाम गर्ने खोजेको बताए । वडा अध्यक्षले आफु बिरुद्व अदालत गई सकेकाले बाँकी निर्णय अदालतले फैसला गर्ने मेयर पुनले बताए । उनले भने– “अब अदालतले फैसला गर्छ, जसको गल्ती छ उसले सजाय पाउछ ।”

पटकपटक विवाद हुने यो नगरपालिकामा मेयर र उपमेयरको विवादले आर्थिक बर्ष सुरु भएको झण्डै ५ महिना पछि मात्रै नगरसभा सम्पन्न भएको थियो । जसले गर्दा सबै योजनाका कामहरु अहिले पछि परेका छन् ।

प्रकाशित मिति : २०७६ बैशाख २५ गते बुधवार