बैशाख २५, काठमाडौं ।
कांग्रेस सभापति शेरबहादुर देउवाले सभामुख कृष्णबहादुर महराले निष्पक्ष ढंगबाट संसद् चलाउन नसकेको भन्दै उनको भूमिका इतिहासमै कमजोर भएको बताएका छन् । कांग्रेसको बुधबारदेखि देशभर सुरु भएको जागरण अभियानको राजधानीमा सुरुआत गर्दै सभापति देउवाले संसद्मा सभामुखको भूमिका सरकारको जस्तै असहिष्णु बन्ने गरेको टिप्पणी गरे ।
प्रतिपक्षको अबरोध हुँदा संसद् नचलाउने विगतको परम्परा तोड्दै जान थालेपछि देउवा सभामुखप्रति खनिएका हुन् । ‘प्रधानमन्त्रीले (मंगलबार संसद्मा) संसदीय भाषा बोलेनन् । हामीले विरोध गर्यौं । सभामुखलाई गैरसंसदीय भाषा फिर्ता लिनुहोस् भन्यौ । गर्न सकेनन्’ देउवाले भने, ‘यति कमजोर, काँतर र डरपोक सभामुख इतिहासमा कहिल्यै थिएनन् ।’
संसद् प्रतिपक्षको हुने ब्रिटिस परम्परा रहेको उल्लेख गर्दै देउवाले सभामुख महराको भूमिका निष्पक्ष हुन नसकेको प्रति आपत्ति जनाए । ‘हाउस जहिले पनि विपक्षीको हुन्छ, यसअघि धेरै सभामुख भइसके । तर उनीहरुले कहिल्यै आफूलाई सत्तापक्षको जस्तो व्यवहार गरेनन्, प्रतिपक्षलाई महत्व दिए’ देउवाले भने, ‘तर अहिलेका सभामुख सरकारका अघि डराए । संसदीय मर्यादा निभाउन सकेनन् ।’
प्रतिपक्षको विरोधका बाबजुत मंगलबार सभामुख महराले संसद् चलाएका थिए । सरकारको वार्षिक नीति तथा कार्यक्रम काग्रेसको अवरोधकै बीचमा पारित गराएका थिए । यसअघि चिकित्सा विधेयक पारित गर्ने क्रममा पनि सभामुखको भूमिका त्यस्तै थियो । मंगलबार सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले ‘आक्रोश, कुन्ठा र निम्छरा’ प्रश्नको जवाफ नदिने बताएपछि प्रतिपक्ष कांग्रेसले संसदमा अवरोध गरेको थियो ।
प्रधानमन्त्रीले गैरसंसदीय शव्द बोलेको भन्दै कांग्रेसले संसदको रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराएको थियो । सभामुखले नहटाएपछि कांग्रेसले संसद् अवरोध जारी राख्यो । प्रतिपक्षको नाराबाजीबीच सभामुखले सदनको कारबाही अघि बढाएपछि कांग्रेस थप चिढिन पुगेको हो ।