• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

राज्यले नदेखेको जंगलमा बस्ने सल्यानका बादी समुदायी


बैशाख २५, सल्यान ।
सल्यानको पश्चिम क्षेत्रमा बसोबास गर्ने बादी जातिका सहमुदायीहरु घरबास नहुँदा समस्यामा परेका छन् । सरकारको आँखामा नपरेका बनगाड कुपिण्डे नगरपालिका अन्तरगत झ्याम्टाकुराका बादीहरु घरबार नहुँदा समस्यामा परेका हुन् । सरकारले अन्य बादी समुदायीहरुको घर बनाईदिएपनि झ्याम्टाकुरीका बादीहरुलाई वास्ता नगर्दा जंगलमा बस्ने गरेका छन् ।

गाँस र कपासको समस्या त टाढै जाओस बस्नका लागि घर बासको ठेगान नहुदाँ निकै समस्या हुने गरेको झ्याम्टाकुरा जंगलमा बस्दै आएका कसेरा बादीले दुखेसो पोखेका छन् । उनले भने– “जंगलमा बस्न गाह्रो छ, यहाँका स्थानीयले आफ्नो जंगल अतिक्रमण गरेर बसेको भन्दै दिन प्रतिदिन धम्काउने र थर्काउने गर्छन् ।”

उनिहरु सधै मजदुरी गरेर खाने गरेका छन् । मजदुरी गरेर कमाएको रकमले परिवार पाल्ने गरेको उनिहरु बताउछन् । “सिजनमा माछा मार्ने, मादल मोर्ने र सिजन नहुँदा अर्काको मजदुरी गरेर साँझ–बिहानको हात मुख जार्छौ– जंगलमा बस्ने चैते बादीले सुनाए ।

यतिखेर आफुहरु सुकुमबासी भएकाले घर र बासको लागि मात्र केहि आना जग्गा दिन्छ कि भन्ने ठुलो आसामा उनिहरु रहेका छन् । तरपनि उनिहरुले यस्तो आसा गर्न लागेको बर्षाै बित्यो तर कसैले नजर गएन् ।

कठ्यांग्रिंदो जाडोमा शीत थेग्न नसक्ने कटेरामा बस्नु पर्दा उनीहरूले सास्ती खेप्नु परेको मूलखोला फुलेडाँडाका पिउसल बादी बताउछन् । “उसै पनि कटेरोलाई वर्षैपिच्छे हुरीले उडाउँछ ।” – उनले भने– “वर्षाको समयमा पानी धरधरी चुहिन्छ । पानी पर्दा रातभर सुत्न पाइँदैन । कपडाहरू पूरै भिजेका हुन्छन् । फागुन, चैतमा हुरीले बारम्बार छानो फाल्छ, कहिलेकाहीं भागाभाग हुन्छ ।”

हिउँदमा चिसोले सताउँदा बालबालिका निमोनियाँका सिकार बन्दै आएका छन् । कतिले ज्यान गुमाइसकेका छन् । जाडो समयमा सबैभन्दा कष्टकर जीवन बिताउनु परेको अर्का चिने बादी बताउछन् । मजदुरी गरी कमाएको पैसाले खाना मात्र पुग्ने भएकाले घर बनाउन मुस्किल भएको उनको भनाई छ । उनि थागलको छानो भएको घरलाई पलाष्टिकले मोर्ने आसामा छन् ।

५९ वर्ष उमेर पार गरेका कसेरा बादी १५ वर्ष देखि यही जंगलमा टहराको कटेरोमा जिन्दगी बिताएको बताउछन् । यहि कटेरोमा उनको ४ जनाको परिवार बस्ने गर्दछन् । यहाँ अधिकांसका घरबास छाप्रौको छानोले छाएका कटेरामा छ । त्यहि पनि एैलानी जग्गा र जंगलमा ।

“बादी जातिहरुमा यस्तै खाले निकै समस्या छन् तर बासको मात्र सरकारले व्यवस्थापन मिलाई दिएमा हामीहरुलाई ठुलो सहयोग हुनेथियो”– बादी जातीका अगुवा सुर्य बादीले बताए । यो क्षेत्रमा ५ घरमा ३० भन्दा बढि बादी जातीको संख्या रहेको छ । ती सबैको अवस्था दैनीय छ ।

सबै बादीहरुको लागि आवासको निकै ठुलो समस्या भएको देखिन्छ । अन्य जातीको भन्दा बादी जातीलाई राज्यले अपहेलित गरेको उनिहरुको बुझाई छ । आफुहरु सरकारी तथ्यांकमा नपरेको र राज्यले नचिनेको उनिहरुको दुखेसो छ ।

राजनितीक हिसावले यो क्षेत्र सल्यानका प्रमुख नेताहरु क्षेत्र हो । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सल्यान प्रदेश सभा (क) का सांसद गुलावजंग शाह, सत्तारुढ नेकपा सल्यानका अध्यक्ष गोविन्द कुमार पुन, सचिव कर्ण बहादुर बुढाथोकीको घर यही क्षेत्रमा पर्दछ । जिल्ला हाक्ने यी नेताहरुको क्षेत्रमै बादी समुदायीहरु जंगलमा बस्न बाध्य छन् ।

प्रकाशित मिति : २०७६ बैशाख २५ गते बुधवार